भर्खरै :

सिद्धि स्मृति प्रतिष्ठानको सो¥हौं साधारणसभा

भक्तपुर, १३ असोज । ‘‘कहिलेकाहीं नराम्रो घटनाको परिणाम राम्रो निस्किन्छ । सिद्धि सुन्दर धौभडेलको मृत्युले सिद्धि स्मृति अस्पताल जन्मायो । सिद्धि स्मृति वृद्धाश्रम जन्मायो । उनको मृत्यु नभएको भए त्यो सम्भव थिएन । श्यामसुन्दर धौभडेलको छोराको मृत्यु दुःखद घटना थियो । छोराको स्मृतिमा अस्पताल र वृद्धाश्रम स्थापना गरेर हजारौं बालबच्चा र ज्येष्ठ नागरिकको सेवा भयो । यस अनुकरणीय कामको लागि श्याम धौभडेल धन्यवादका पात्र हुनुहुन्छ ।’’
उक्त कुरा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिद्धि स्मृति प्रतिष्ठानको सो¥हौं साधारणसभाको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
अस्पतालले बाल–बच्चा र महिला स्वास्थ्यको क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको बताउँदै उहाँले भक्तपुरमा सबै रोगको उपचार सम्भव बनाउने र सकेसम्म रोग नै लाग्न नदिनेतर्फ नगरपालिकाले नगरवासीहरूलाई सचेत पारिरहेको बताउनुभयो । उहाँले संविधानमा आधारभूत स्वास्थ्य उपचार निःशुल्क भनिए पनि सरकारले निजी क्लिनिक र नर्सिङ होमहरू खोल्ने छुट दिएसम्म त्यो सम्भव हुँदैन भन्नुभयो ।
भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रहरूमा बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल निर्माणको तयारी गरिरहेको र घरघरमा नर्सिङ सेवा दिएर जनताको स्वास्थ्यबारे नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, वडा अध्यक्षहरू उकेश कवां, कुमार चवाल, प्रेमगोपाल कर्माचार्यले साधारणसभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले अस्पतालको अहिले १६ रोपनी जग्गा रहेको र भविष्यमा विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँले विदेशीको सहयोगमै अस्पताल सञ्चालन भइरहेको हुँदा सहयोग बन्द भएमा अस्पताल नै डुब्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका सचिव एवं अधिवक्ता हरिराम लवजू र कोषाध्यक्ष योगेन्द्रभूपाल मल्लले प्रतिष्ठानको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *