भर्खरै :

सहकारीको पैसाले बैङ्क मालिक पोस्नु गलत

काठमाडौं, १३ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शनिबार टोखा नगरपालिकास्थित मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाको बा¥हौं साधारणसभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले बचत तथा ऋण सहकारी संस्थाको रकमबाट बैङ्क सञ्चालकलाई पोस्ने काम भइरहेको गुनासोतर्फ सरकार संवदेनशील हुनुपर्ने विचार राख्नुभयो । उहाँले सहकारी संस्था आर्थिक लेनदेनमा मात्र सीमित नभई सदस्यहरूलाई देशको राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्यबारे पनि सुसूचित गर्ने अङ्ग बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘ओरियन्टलजस्ता सहकारीले सर्वसाधारणको अरबौं रूपैंयाँ ठगे पनि सरकार सचेत नहुनु मतियार नै बन्नु हो ।’’
उहाँले कम्युनिष्ट दाबी गरेका र समाजवादको कुरा गरेका पार्टीहरू पुँजीवादी सरकारको भागबण्डामा फसेको हुँदा नेपाली जनताले दुःख पाएको बताउनुभयो ।
वर्तमान सरकारलाई एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको संज्ञा दिनुहुँंदै उहाँले सरकारले भ्रष्टाचार, महँगी, पक्षपात नियन्त्रण गर्न नसकेको धारणा राख्नुभयो ।
‘‘कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई सार्वजनिक गर्न नसक्नु सरकारको असफलता हो’’, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाज केन्द्रीय समितिका सहसचिव इ. सुजन माकले सहभागीहरूलाई कम्युनिष्ट घोषणापत्रबारे र कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीले देवानी संहिता ऐनबारे प्रशिक्षण दिनुभयो ।
संस्थाका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, सानुबाबु श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, टोखा नपाअन्तर्गत सहकारी हेर्ने प्रतिनिधि कमला कार्कीलगायतले बोल्नुभएको थियो ।
साधारणसभाले राजवीर डंगोलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र रवीन्द्र श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *