भर्खरै :

समय साकोसको आठौं वार्षिक सधारणसभा

भक्तपुर, १३ असोज । समय साकोसको आठौं वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै प्रमुख प्रजापतिले सहकारीले सामूहिक हितको निम्ति काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, ‘‘कृषिप्रधान देशमा चामलसमेत विदेशबाट आयात गर्नुपर्ने स्थितिमा पुग्नुमा आजसम्मका सरकारमा गएका पार्टीहरू दोषी छन् ।’’
‘‘बढ्दो व्यापार घाटाले देश आर्थिक रूपमा टाट पल्टिने स्थितिमा पुगेको छ । उत्पादनका मुख्य मुख्य स्रोत र साधन सामाजिकीकरण नगरेसम्म काम गरी खाने वर्गको जीवन स्तर उठ्नेछैन’’, उहाँले भन्नुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गरिरहेको चर्चा गर्दै उहाँले भक्तपुरलाई देशकै उदाहरणीय नगरपालिकाको रूपमा विकास गर्न सकिने विचार राख्नुभयो ।
चाड–पर्वको बेला सहकारीहरूले आ–आफ्नो इलाकाहरूमा सफा गरेको खण्डमा स्वदेशी र विदेशी पर्यटकहरूले पनि भक्तपुरको सुन्दरता देख्न पाउने भएकाले यसकार्यमा सहकारीले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सफाइ कर र व्यवसाय करजस्ता नपाको कर नियमित बुझाएर जनतालाई सहयोग गर्न आग्रह गर्दछु । नपाले हरहिसाब पारदर्शी ढङरगले जनतासमक्ष राख्दै आएको छ ।’
भनपा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले भनपाले विकास निर्माणका कामहरू उपभोक्ता समितिमार्फत गरिरहेको हुँदा नगरवासीबाट सहयोग हुने आशा गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष एवं वागीश्वरी माविका सहप्रधानाध्यापक ज्ञानसागर प्रजापतिले अध्ययन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष बाबुकाजी गाइँजूको सभापतित्वमा भएको कार्यक्रममा समाज सुधार माविका प्रअ लक्ष्मीनारायण दुवाल, भक्तपुर जिल्ला बचतका प्रतिनिधि श्रीप्रसाद त्यात र सिद्धि गणेश सहकारीका प्रतिनिधि राजन लाखाजूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सञ्चालक श्यामसुन्दर बेकोजू, लक्ष्मीप्रसाद गाइजू र चन्द्रकृष्ण ग्वाछाले पनि बोल्नुभएको यिथो ।
सभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र विभिन्न उपसमितिका प्रतिवेदनहरू पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *