यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एस.डी.राजचल
सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट सांसद बनेका हरिनारायण रौनियारका छोरा सुमित रौनियारको स्वामित्वमा रहेको ‘पप्पु कन्स्ट्रक्सन’ नाम यतिखेर चर्चाको विषय बनिरहेको छ । अरबौंको ठेक्का लिने तर काम सम्पन्न नगरी अलपत्र छाड्ने प्रवृत्तिकै कारण पप्पु कन्स्ट्रक्सन चर्चाको विषय बनेको हो । ठेकेदार भएर पनि वर्तमान सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसद रौनियार वर्तमान सरकार सञ्चालनको प्रमुख दल नेकपाका प्रमुख नेताहरूका विश्वसनीय पात्र पनि बताइन्छ । त्यसैले पनि सरकारले उनलाई पटक–पटक ठेक्का दिई देशको रकम ‘बालुवामा पानी’ हालिरहेका छन् । पप्पु कन्स्ट्रक्सन अनुत्पादक र परिणामशून्य कार्यका लागि प्रयोग गरिरहेको धेरैको बुझाइ छ । तैपनि उनी सरकारको नजरमा निरन्तर एक ‘सफल‘ र ‘विश्वसनीय’ सांसद तथा ठेकेदार भइरहन सफल छन् र त्यसैमा उनी सन्तुष्ट देखिन्छन् ।
त्यसो त नेपालको वर्तमान सङ्घीय र प्रदेश तहका बहुमत सांसदहरूको पृष्ठभूमि ठेकेदारी भएको बताइन्छ । आफ्नो पारिश्रमिकभन्दा दोब्बर वा तेब्बर रकम हात पार्ने अनि विकास निर्माणको कामको नाममा आफ्नो कार्यकर्तालाई पाल्ने र भोजभतेर गर्ने काममा खर्चिदै आइरहेको विषय हिजोको दिनमा पनि नौलो थिएन र आज पनि नौलो पटक्कै होइन ।
आजसम्म बनेका सरकारहरू पनि सांसदहरूलाई ठेकेदार बनाउने कार्यमा उद्यत बन्दै आइरहेको यथार्थ कसैले पनि बिर्सन सक्दैनन् ।
राष्ट्रिय योजना आयोगको काम देशभरिका क्षेत्रका लागि विकास निर्माणको योजना बनाउने र अर्थमन्त्रीबाट प्राथमिकताको आधारमा बजेट विनियोजन गरी विकासका कार्यलाई निरन्तरता दिनु हो । तर योजना आयोग आफै राजनीतिक दलका नेताहरूको कार्यकर्ता भर्ती केन्द्र बनाइँदा योजना राजनीतिक पूर्वाग्रहको थलो बनिरहेको छ । परिणामतः देशको सन्तुलित विकास हुन सकेको छैन । योजना सबै केन्द्रीकृत छन् । जसले गर्दा दुर्गम क्षेत्रका जनताको सरकारप्रति असन्तुष्टि चुलिंदै गएको छ भने जनघनत्व बढी भएका ठाउँहरूमा विभिन्न उपभोग्य सामग्रीहरूको अभाव सँग–सँगै हत्या, हिंसा र बलात्कारजस्ता अपराधजन्य घटना दिनप्रतिदिन बढिरहेको छ । यसलाई व्यवस्थापन गर्नु सरकारको दायित्व भएता पनि सरकारहरूको ध्यान यतातिर जान सकेको छैन ।
आफैले निर्माण सम्पन्न गर्नुपर्ने वा विश्वासिलो ठेकेदारलाई निर्माणको कार्य सुम्पेर जनताको हितमा काम गर्नुपर्ने सरकार ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’ मान्छेको लागि काम गर्दा आफ्नो लोकप्रियता पनि गुमाउँदै छ । पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका भवन र पुलको संरचना एकदम कमजोर हुने गरेको तथ्य बाहिर आएसँगै कैयौं पुल र भवनहरू अलपत्र रुपमा छाडेको र त्यसले जनताको जनजीवनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । तर रौनियारको पहुँच र शक्तिको अगाडि स्वयं गृहमन्त्री पनि कमजोर देखिन्छन् । ‘गर्जेको बादल बर्सिन्न’ नेपाली जनताले लामो समयदेखि पढ्दै आएको प्रचलित उखान गृहमन्त्रीको हकमा ठ्याक्कै लागू भएको छ । हरेक बेथिति र विभिन्न कारण आक्रोशित भएर अभिव्यक्ति दिने र कानुनले कसैलाई छाड्दैन भन्ने अभिव्यक्ति दोहो¥याउने बादल अर्थात गृहमन्त्री रामबहादुर थापा हिजोआज बर्सिन्न छाडेका छन् ।
मानिसले आफ्नो क्षमताअनुसारको मात्र कार्य जिम्मा लिनुपर्दछ । तर सांसदसमेत रहेका ठेकेदार पप्पुले निश्चित समयमा सम्पन्न गर्न लिएको ठेक्का सम्झौताअनुसार कहिल्यै सम्पन्न गरेनन् । र, समयभन्दा धेरैपछि सम्पन्न गरेका कतिपय उनका आयोजनाको संरचना पनि पक्की नभएका उदाहरणबाट उनी न त सांसद बन्न लायक देखिए न त ठेक्का लिन लायक । तैपनि शासक दलका नेताहरूसँग बढेको उनको हिमचिम र ‘दक्षिणा’ चढाउने प्रवृत्तिका कारण उनलाई नेपालको प्रचलित कानुनले नछोएको धेरैको बुझाइ छ ।
पप्पु एक उदाहरणमात्र हुन् । यस्ता धेरै ठेकेदारहरूले नेपालमा आफ्नो सञ्जाललाई विस्तार गरी रातारात करोडपति र अरबपति भएका छन् । भक्तपुर जिल्लाको लान्चापलीदेखि पर्यटकीयस्थल नगरकोटसम्मको बाटो फराकिलो पार्ने श्रम ठेक्का लिएका सैलुङ कन्स्ट्रक्सनको प्रवृत्ति पनि पप्पुको भन्दा धेरै फरक छैन । विसं २०७० सालमा नै निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको सो सडकको काम २०७५ सालको मध्यतिर आइपुग्दा पनि सम्पन्न नभएको मात्र होइन, अलपत्र नै भएको विषय पनि बरोबर सडक र सदनमा उठेकै हो । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी भएकै कारण सैलुङ कन्स्ट्रक्सनमाथि कारबाही गरिएन वा कारबाहीको प्रक्रियामा ल्याउन सरकारले हिम्मत गर्न सकेन । नेपालको शासक वा नियामक निकायहरू नै रक्षकबाट भक्षक हुँदै गइरहेको आजको तीतो यथार्थ जनताले बुझ्दै छन् ।
देशका नेताहरू ती भ्रष्ट ठेकेदारहरूसँग उठबस गर्छन् र तिनीहरूसँगै बसेर लञ्च वा डिनर गर्छन् भने नेताहरूबाट जनताले केही आशा गर्नुले खासै अर्थ नराख्ने निश्चित छ । अनि ती नै दलका नेताहरूको आडमा पप्पु र सैलुङ कन्स्ट्रक्सन जस्ता ठेकेदाहरूले ठेक्का हात पार्दैछन् । आज जनताले राम्रो निर्माणको आशा गर्नु भनेको ‘सिस्नु रोपेर तुलसीको आशा गर्नु’ भन्दा बढी अरु के पो हुनसक्ला र ?
जनताबीच पप्पु कन्स्ट्रक्सनको बारेमा व्यापक गुनासो छ । उनले लिएको ठेक्काअनुसार कुनै एउटा पुल र भवन गतिलो भयो भनी कसैले भनेका छैनन् । ठेक्कामा लिनु अगाडि एक किसिमको सामान प्रयोग गर्ने प्रस्ताव राखी टेण्डर राख्ने र प्रस्ताव स्वीकृत भएपछि कमजोर र कमसल निर्माण सामग्रीको प्रयोग गर्ने गरेका तथ्य बाहिर आएको छ । साथै निर्माण सम्पन्न भएको केही हप्ता वा महिनामा नै पुल क्षतिग्रस्त भर्ई प्रयोगविहीन भएको विषयले सञ्चारमाध्यममा प्रमुख विषय हुन गएको विषयमा पनि सरकार मूकदर्शक बनिरहेबाट ‘काले काले मिलेर खाउँ भाले’ भन्नेझंै भएको छ । जनताको नजरमा जनविरोधी ठेकेदार बनेका उही पप्पुलाई पुनः नेपाल राष्ट्र बैड्ढको प्रमुख भवन निर्माणको जिम्मेवारी सुम्पेर ‘पुरस्कृत’ गर्नेे सरकारी निर्णयले मुलुकमा अरु ठेकेदार नै नभएको हो कि भन्ने प्रश्न उब्जेको छ । होइन भने कुन आधार र विश्वासले जनताको नजरमा असफल ठेकेदार सरकार प्रमुखको नजरमा ‘सफल’ र ‘विश्वासयोग्य’ भयो ? सरकारसँग जनताको प्रश्न छ । साथै जनताको र देशको भविष्यसँग खेलवाद गर्ने यस्ता ठेकेदारहरूलाई कानुनबमोजिम सजाय दिने कि पुरस्कृत गर्ने भने अहम् सवालको जवाफ सरकारको दायित्वभित्र पर्छ कि पर्दैन ? जनता जवाफको प्रतिक्षामा छन् ।
Leave a Reply