भर्खरै :

‘शिक्षालाई पैसासँग नजोडौं’

भक्तपुर, १४ असोज । ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप इञ्जिनियरिङ कलेजको संयुक्त आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘क्वालिटी एसुरेन्स एण्ड एक्रेडियसन’ विषयमा प्रस्तुतीकरण कार्यक्रम आइतबार ख्वप इञ्जिनियरिङ कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं नपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरूका सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सर्वसाधारण जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले सेवामुखी भावनाका साथ भनपाले कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
शिक्षालाई पैसासँग जोड्न नहुने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘पैसाले मात्र गुणस्तर कायम हुन्छ भन्ने होइन । गुणस्तरको लागि कार्यरत शिक्षक तथा कर्मचारीहरूले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्नुपर्छ । भनपाद्वारा सञ्चालित शैक्षिक संस्थानहरू शिक्षामा गुणस्तर प्रदान गर्न विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गर्न चाहन्छ ।’’
काठमाडौं उपत्यकाका क्याम्पसलाई हेरेरमात्र मादण्ड बनाउन उपयुक्त नहुने विचार राख्दै प्रमुख प्रजापतिले विश्वविद्यालय अनुदान आयोगले नीति नियम बनाउँदा दुर्गम जिल्लाको वस्तुस्थितिलाई पनि ध्यान दिनुपर्ने र सरकार आफैले क्याम्पसहरूको अनुगमन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
भनपाले सरसफाइ, वातावरण, सम्पदा संरक्षण आदि विषयमा अनुसन्धान गर्नेहरूलाई सहयोग गर्नुका साथै आत्मनिर्भरतालाई जोड दिइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले विश्वविद्यालय अनुसन्धानको केन्द्र हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
‘गुणस्तरीय उच्च शिक्षा सुनिश्चितता र प्रमाणीकरण’ विषयमा प्रस्तुति गर्दै प्रा.डा. बासुदेव काफ्लेले विनाप्रयत्न गुणस्तर कायम नहुने बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका नारायण भण्डारी र दिनेश प्रजापतिले ‘प्लानिङ एण्ड प्रिपेरेशन अफ सेल्फ स्टडी रिपोर्ट’ र रिसर्च प्रोभिजन एण्ड अपरट्युनिज’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
भनपाद्वारा सञ्चालित कलेजका प्राचार्य, उपप्राचार्य र शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य इ. सुनिल दुवाल, ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *