भर्खरै :

संरा सङ्घ संयुक्त राष्ट्र बन्न सकेन–ओर्टेगा

मानाग्वा, ३० सेप्टेम्बर । निकारागुआका समाजवादी राष्ट्रपति डानिएल ओर्टेगाले आफ्नो सरकारविरूद्ध संरा अमेरिकी काङ्ग्रेसले मस्यौदा गरेको नाकाबन्दी प्रस्तावको चर्को खण्डन गर्नुभएको छ । उहाँले संरा अमेरिकी नाकाबन्दीले निकारागुआमा गरिबी दर बढ्ने र आर्थिक समस्या थपिने विचार राख्नुभयो ।
‘‘म संरा अमेरिकी सांसद र सिनेटरहरूलाई त्यस्तो हस्तक्षेपकारी कानुनको पक्षमा हस्ताक्षर गर्नुअघि आफूले एउटा देशको अर्थतन्त्रमाथि हानी पु¥याइरहेको यथार्थमाथि विचार गर्न आग्रह गर्दछु ।’’, उहाँले भन्नुभयो । हजारौं हजार निकारागुआली जनताको सहभागितामा राजधानी मानाग्वामा भएको प्रदर्शनमा बोल्ने क्रममा उहाँले भन्नुभयो, ‘‘अमेरिकी शासकहरू निकारागुआमाथि यस्तो नाकाबन्दी थोपरेपछि झुक्छन् भनी सोच्छन् । तर निकारागुआका जनताले आफूलाई बिक्री गर्नेछैनन् न त आत्मसमर्पण नै गर्नेछन् ।’’, दर्कंदो वर्षाबीच भएको सभामा बोल्दै राष्ट्रपति ओर्जेगाले भन्नुभयो ।
उहाँले संसारलाई प्रभावित बनाइरहेका मूल विषयमाथि बहस र छलफल गर्नुको सट्टा एउटा देशले अर्को देशको सम्बन्धमा बनाएको विदेश नीतिबारे ध्यान केन्द्र गरेका भन्दै संयुक्त राष्ट्र सङ्घको पनि आलोचना गर्नुभयो ।
‘‘एउटा सङ्गठन छ । त्यसको नाम संयुक्त राष्ट्र सङ्घ हो । तर त्यो सङ्गठन वास्तवमा संयुक्त राष्ट्र बन्न सकेको छैन ।’’
ओर्टेगाले संसार दुई भागमा विभाजित भएको चर्चा गर्दै भन्नुभयो, ‘‘एउटा संसार धनीको हातमा छ र अर्को संसार गरीब र अभावमा बाँच्नेहरूको छ ।’’ ‘‘इतिहासमा त्यस्ता घटना धेरै छन्, जहाँ पुरानो साम्राज्यले सधैं आफ्नो नियन्त्रणमा धेरैभन्दा धेरै धन जम्मा गर्न, सैनिक शक्ति आफ्नो पक्षमा पार्न र आर्थिक शक्ति आफ्नो पक्षमा ल्याउने जनतामाथि दमनको हतियार चलाउने गर्दछ ।’’, उहाँले भन्नुभयो, ‘‘संयुक्त राष्ट्र सङ्घ स्थापना भएको दसकौं बितिसक्दा पनि अझै संसारमा त्यस्तै अवस्था रहनु विडम्बनापूर्ण हो ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *