भर्खरै :

दसैंको लागि सुरक्षा योजना

काठमाडौं, १४ असोज । नेपालीको महत्वपूर्ण चाडवाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
चाडवाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले चाडवाड केन्द्रित सुरक्षा योजना सार्वजनिक गर्नुभयो ।
नेपालीको चाड दशैं, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै प्रमुख लामाले तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताउनुभयो ।
चाड पर्वको अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उहाँले जानकारी दिनुभयो ।
नागरिकको घर सम्पत्ति रहेको स्थान, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर, गुम्बा रहेको स्थान, वित्तीय संस्था एवं आर्थिक कारोवार हुने स्थान, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने बाँकी स्थानमा सुरक्षाकर्मी परिचालित हुनेछन् ।
यस्तै सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्ट, आपराधिक गतिविधि हुने स्थान, राजमार्ग तथा ग्रामीण बस्ती तथा विशिष्ट व्यक्तिको गतिविधि हुने स्थानमा कम सुरक्षाकर्मी परिचालित हुनेछन् ।
जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने, अपराधको न्यूनीकरण गर्दै अपराधीलाई कारबाहीको दायरामा ल्याउने तथा प्राप्त साधन–स्रोतको प्रभावकारी परिचालन गर्ने उद्देश्यसमेत परिसरले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *