भर्खरै :

ढुकुबारे सङ्क्षिप्त चर्चा

सुनिल सुवाल
अहिले हाम्रो समाजमा जानेर वा नजानेर ढुकुटीको कारोबार भइरहेको व्यहोरा सबैमा जानकार नै हुनुपर्छ । महिलाहरूबीच त यो अलि बढी नै भएको पाइन्छ । जनबोलीको भाषामा ढुकु खेल भनिने ढुकुटीको कारोवार भनेको के हो ? नेपालमा यसको कानुनी प्रावधान के छ त ? नेपाली शब्द ढुकुटी थकाली भाषाको ढिकुर शब्दबाट आएको मानिन्छ । ढिकुरको अर्थ ‘बाँसबाट बनेको बाकस’ जसमा समाजका मानिसहरू अन्न जम्मा गरी राख्छन् र आपत्कालीन अवस्थामा निकालिन्छ । नेवार समुदायमा पनि ढुकु कोठामा अन्न जम्मा गर्ने गरिन्छ । तर पछि सोही प्रचलनलाई अन्नको साटो पैसा जम्मा गरी आवश्यकता पर्ने व्यक्तिले पालैपालो लिने–दिने गरियो । हाम्रो समाजमा अहिले ढुकुटीको कारोवार अन्तर्गत व्यक्तिहरू एकआपसमा मिली एउटा समूह बनाई सबैले महिनामा एकचोटि भेला भई समान रकम राखी एकमुष्ट जम्मा भएको सो रकम गोलाप्रथा गरी वा सहमतिमा प्रत्येक महिना समूहका एक सदस्यले पालैपालो गरी सो एकमुष्ट रकम लिने गर्छन् । तर यो प्रचलन नेपालमा मात्र नभई विभिन्न राष्ट्रहरूमा चलेको देखिन्छ । विदेशमा यसलाई ROSCA (Rotating, Saving and Credit Associations) भन्ने गरिन्छ । विदेशमा पनि नेपाल जस्तै केही नजीकका चिन्ने मानिसहरू एकआपसमा रकम उठाई सहमतिका आधारमा आलोपालो गरी रकम लिने वा दिने गरिन्छ ।
नेपालको कानुनी प्रावधानलाई हेर्दा बैङ्किङ कसूर तथा सजाय ऐन–२०६४ ले यस्तो ढुकुटीको कारोबारसम्बन्धी कुनै व्यवस्था पहिले गरेको थिएन तर पछि सो ऐनलाई पहिलो संशोधन गरी मिति २०७३ सालदेखि ऐनको दफा २ (छ) को परिभाषामा “ढुकुटीको कारोबार” भन्नाले एकआपसमा रकम उठाई सहमतिका आधारमा आलोपालो गरी रकम लिने वा दिने गरी गरेको कारोबार सम्झनुपर्छ भनी उल्लेख गरिएको छ । साथै ऐनको दफा १४ (क) बमोजिम कसैले पनि ढुकुटीको कारोबार गर्न वा गराउनहुँदैन भनी ढुकुटी कारोवारलाई बन्देज गरिएको छ । यदि सो कसुर गरे सोही ऐनको दफा १५(३(ख)) बमोजिमको त्यस्तो कसूरसँग सम्बन्धित देहायबमोजिमको बिगो भएमा कसूरको मात्राअनुसार देहायबमोजिमको कैद र बिगो भराई बिगोबमोजिम जरिवाना हुनेछ भनी उल्लेख गरिएको छ ः–
(१) पचास लाख रुपैयाँसम्म बिगो भए एक वर्षदेखि तीन वर्षसम्म कैद,
(२) पचास लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद,
(३) पाँच करोड रुपैयाँदेखि पचास करोड रुपैयाँसम्म बिगो भए पाँचवर्षदेखि सात वर्षसम्म कैद,
(४) पचास करोड रुपैयाँभन्दा माथि जतिसुकै बिगो भए तापनि सात वर्षदेखि नौ वर्षसम्म कैद ।
अहिले सो ढुकुटीको कारोबारमा धेरै विकृति आएको देखिन्छ । आफूले रकम खाएपछि फरार हुने घटना धेरै भएको पाइन्छ । यस्तै गतिविधिलाई समाधान गर्न सो कार्यलाई गैरकानुनी गरिएको हुनुपर्छ । व्यवहारिकतर्फ हेर्दा धेरै न्यून आम्दानी भएका मानिसहरूमा यसले मासिक रुपमा बचत गर्ने बानी बसेको पनि देखिन्छ र आफूलाई आपत पर्दा सोही रकम प्रयोग गरी समस्या समाधान नभएको पनि होइन । तर पनि कानुन परिवर्तन सँगसँगै हामी जनता पनि सोहीबमोजिम परिवर्तित कानुनलाई स्वीकारी सम्मान गर्नुपर्छ । किनकि सामाजिक परिवर्तन प्राकृतिक नियम हो

सुनिल सुवाल


र त्यही परिवर्तनसँगै समाजमा धेरै कुराहरूको पनि परिवर्तन हुनु स्वाभाविक हो । कानुनको परिवर्तन पनि त्यही सामाजिक परिवर्तन सँगसँगै जाने हुनाले, हिजो हामीले सहज रुपमा गरिआएका क्रियाकलापहरू आज कानुनमा बन्देज गर्दै त्यस्ता क्रियाकलापहरू गैरकानुनी हो भनी उल्लेख गरिएको खण्डमा त्यसलाई स्वीकार गर्नु हामी सबै नागरिकको कर्तव्य हो । यदि कोही नागरिकले हामीले पहिलेदेखि गरिआएको हो अहिले आएर कसरी गैरकानुनी भयो, हामीलाई त्यो कानुन थाहा छैन र यसलाई मान्दैनौ भनेमा त्यो क्षम्य हुँदैन किनकि कानुनको अज्ञानता क्षम्य हँुदैन । तथापि विधान कानुनहरूको जानकारी नागरिकहरूमा पु¥याउनु सरकारको जिम्मेवारी हो ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *