भर्खरै :

किसान किबी खेतीतर्फ आकर्षित

सिन्धुपाल्चोक, १४ असोज । जिल्लाका किसान आर्थिक दृष्टिकोणले सवल एवं भरपर्दो माध्यम बन्नसक्ने देखेपछि किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक लगाएपछि ४०–५० वर्षसम्म लगातार फल दिने, पोषिलो र विभिन्न रोगको औषधिका साथै बजारको अभाव नभएपछि किसान किबी खेतीतर्फ आकर्षित हँुदै गएका हुन् ।
पश्चिम क्षेत्रमा पर्ने मेलम्ची नगरपालिका–१ र २ भोटेचौर तथा वडा नं ३ हैवुङमा ६ वर्षअधि लगाएको किबीले उत्पादन दिन थालेको छ । सुनसरीका दिनेशप्रसाद सिग्देलले स्थानीय युवाको समूहले भोटेचौरमा रू. ८० लाखको लगानीमा २०६९ सालमा ६० रोपनी क्षेत्रमा किबीका बिरूवा लगाएको हो ।
त्यस्तै रू. दुई करोडको लगानीमा हैबुडन्मा पनि २२० रोपनीमा किबीका बिरूवा रोपिएका छन् । हाल दुबै ठाउँमा एक हजार ५०० रोपनीमा १५ हजार बिरूवा रोपिएको छ । बिरूवा रोप्न रू. चार करोड लगानी गरेको उद्यमी सिग्देल बताउनुहुन्छ ।
तत्कालीन अवस्थामा भोटेचौरमा ‘एग्रिकल्चर अर्गानिक भिलेज’ र हैबुङमा ‘सिन्धु हिमालय अर्गानिक भिलेज’ संस्थाको स्थापना गरिएको थियो । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका दुबै संस्थामा सिग्देल आफै अध्यक्ष हुनुहुन्छ । गत वर्षदेखि उत्पादन हुनथालेको किबी फल व्यापारीको मागअनुसार बिक्री गरिंदै आएको छ । यस वर्ष पाँच हजारदेखि १० हजार किलोसम्म उत्पादन हुने अनुमान गरेको बताउँदै उहाँले भन्नुभयो, ‘‘प्रतिकिलो रू. ३०० देखि रू. ५०० मा बिक्री हुने हँुदा अबको चार÷पाँच वर्षमा लगानी उठ्ने सम्भावना छ ।’’
सुरूमा काभ्रेको धुलिखेलबाट प्रतिबिरूवा रू. ६०० मा खरिद गरी ल्याएको र यस वर्षदेखि आफैले नर्सरी स्थापना गरी प्रतिबिरूवा रू. २५० मा बिक्री गरेको सिग्देल बताउनुहुन्छ । त्यहाँबाटै हेलम्बुमा ५०० बिरूवा बिक्री वितरणसमेत गरिसकेको छ । यस वर्षदेखि परीक्षणको रूपमा जुस उत्पादन गरिएको छ, भने चिस्यान केन्द्रको अति आवश्यक भएपछि आर्थिक अभावले राख्न नसकेकोमा सिग्देल खिन्नता प्रकट गर्नुहुन्छ । हाल सो नगरपालिकाअन्तर्गत थकनी र सिन्दुकोटमा किबीखेतीको विस्तार भइसकेको छ ।
त्यसैगरी पाँच वर्षअधि भोटेकोशी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले १० रोपनीमा लगाएको किबी फल्न थालिसकेको छ । जिल्लाको बदासे, कार्कीटार, थुमपाखर, जेठल तथा नवलपुरमा पनि कृषि विकास कार्यालयबाट गत वर्ष अनुदानमा बिरूवा गरिएको बाली संरक्षण अधिकृत देर्गादत्त पन्थीले बताउनुभयो ।
लहरामा फल्ने अण्डा आकारको खैरो रङको मसिनो झुुसले ढाकेको पोषिलो यो फललाई पातलो बोक्रा हटाएर भित्रकोे भाग खाने गरिन्छ । यो फल नेपालमा भित्रिएको करीब साढे तीन दशकमात्र भएकोले त्यति प्रचारमा आइसकेको छैन । पूर्व मेचीदेखि महाकालीसम्म यो फल समुद्री सतहबाट १२०० मिटरदेखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ । ठूलो दाना बिक्री हुने बिक्री नभएका साना दानाको जुस, जाम, तथा वाइन बनाउन सकिन्छ । यो फल पोषण सुधारका साथै पेटसम्बन्धी रोग निमोनिया, दम, रक्तचाप, मधुमेहजस्ता धेरै थरीका रोगमा समेत उपयोगी भएको विज्ञ बताउँछन् ।
फागुन–चैत महिनामा फूल फल्ने र कार्तिक–मंसिरमा फल टिप्न सकिने यो फलको धेरै थरी जातको विकास भएको छ । पोथी जातमा हेवाइ, ब्रुनो, अलिसन, अन्वुट, मोन्टी र ग्रासी छन् । भाले जातमा कोही, टुमोरी र माटुवा छन् । भाले बोटमा फल नलागे पनि परागसेचन कार्यको लागि १० बोट पोथी बिरूवा लगाउँदा एक बोट भाले बिरूवा अनिवार्य लगाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *