भर्खरै :

देशको क्षेत्रफल ‘घट्नु’ लाई गम्भीरतापूर्वक लिइयोस्

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत सङ्घीय मामिला शाखाले प्रकाशन गरेको ‘गाउँपालिका तथा नगरपालिकाको सङ्क्षिप्त परिचय’ पुस्तिकामा देशको कूल क्षेत्रफल कम भएको समाचार एउटा दैनिकले प्राथमिकताका साथ प्रकाशन ग¥यो । नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिमि छ भनी नेपालका निमावि तहका विद्यार्थीलाई समेत कण्ठ छ । तर सरकारको एउटा शाखाले प्रकाशित गरेको तथ्याङ्कले देशको कूल क्षेत्रफल १० हजार १९ वर्ग किमिले घटाएर प्रस्तुत गर्दा सबै चकित पर्नु स्वाभाविक हो । कहाँ गयो १० हजार १९ वर्ग किमिको भूमि ? प्राविधिक गल्तीमात्र हो वा वास्तवमा देशको कूल क्षेत्र घटेको हो ?
दोस्रो संविधानसभामा संविधान निर्माणको क्रममा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रस्तुत बुँदा देशको कूल क्षेत्रफल संविधानमा समावेश गर्नुपर्ने प्रस्ताव थियो । भियतनामको संविधानको प्रस्तावनामै देशको कूल क्षेत्रफल प्रस्ट रुपमा उल्लेख छ । तर नेमकिपाको सो प्रस्ताव देशका शासक दलको अह्मका कारण पारित हुन सकेन ।
‘चौध वटा सिङ्गापुर’ हराउने गरी पुस्तिका प्रकाशन गर्ने जीआईएस नक्सा प्रमाणिकरण इन्जिनियरहरू प्रवीण पौडेल, प्रणय नकर्मी र राजेन्द्र श्रेष्ठले गरेका छन् । यो परिणाम आउनुको कारणबारे ती प्राविधिकहरूसँग सम्बन्धित निकायबाट स्पष्टीकरण लिन जरुरी छ । यसको निम्ति सम्बन्धित मन्त्रालयका अधिकारीले पनि जिम्मेवारी लिन जरुरी छ । जिम्मेवारीबोधका साथ कहाँ के कारणले देशको क्षेत्रफल घटेको हो, सरकारले तत्काल खोजबिन गर्नुपर्दछ । पुस्तिकामा शुभकामना दिने मन्त्री विजयकुमार गच्छदारले पनि जिम्मेवारी वहन गरी स्पष्टीकरण दिन जरुरी छ ।
छिमेकी देश भारतले नेपालका ७० भन्दा बढी स्थानमा सिमाना मिचेको नेपालका सीमाविद्हरूले धेरै वर्षअघि देखि नै चर्चा परिचर्चामा आइरहेको हो । चील कराउनु र चल्ला हराउनु कागतालीमात्र परेको वा भारतले सिमाना मिचेकै कारण नेपालको क्षेत्रफल घटेको हो भन्ने कुरा छिनोफानो गर्न आवश्यक छ ।
नेपालको कर्मचारीतन्त्रबाट धेरै पटक देश हितविपरीतका अभिव्यक्ति दिने र हस्ताक्षर गर्ने गरेको समाचार नयाँ होइन । कतिपय कर्मचारीले भारतीय दूतावासबाट समेत तलब बुझ्ने गरेको रहस्योद्घाटन धेरै अघि नै भएको हो । तर आजसम्मका कुनै पनि सरकार ती विषयमा गम्भीर बन्न आवश्यक ठानिएन । फलतः आज हामी मन्त्रीहरूसमेत कर्मचारीले घुमाएको र देशहित विपरीतका कुरामा साक्षी प्रमाण राखेको देख्दै छौं ।
लोकतन्त्रमा मिडिया भनेको तेस्रो आँखा हो । सरकारले एउटा दैनिकमा प्रकाशित सामान्य समाचारको रुपमा यसलाई हलुका पाराले लिए भोलि त्योभन्दा भयावह नियतिको देश शिकार बन्नुपर्ने अवस्था आउन सक्दछ । देशको क्षेत्रफल घटेकै भए के कारणले घटेको हो, सरकारले प्रस्ट रुपमा आफ्नो धारणा जनतासामु राख्नुपर्दछ । कसैले देशको भूभाग च्यातेको भए फिर्ता लिन सरकार लाग्नुप¥यो । नेपालको भूभाग १ लाख ४७ हजार १ सय ८१ भएको कुरालाई प्रमाणित गर्नुप¥यो । कदाचित यो कसैको प्राविधिक गल्तीका कारणमात्र भएको भए सम्बन्धित कर्मचारीलाई कारबाही गर्नुपर्दछ र तत्काल झूटा विवरण दिने पुस्तक बाहिर ल्याउन रोकिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *