भर्खरै :

कम्युनिष्ट नामले होइन व्यवहारले थाहा हुन्छ

–गोपाल नगरकोटी
नेपालको वर्तमान व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थाको नेतृत्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले गरिरहेको छ । सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा फुकिरहे पनि बहुमत जनतालाई सुखी बनाउने कुनै योजना या पूर्वाधार छैन । दलगत र व्यक्तिगत स्वार्थमा पल्केको सरकारले बहुमत जनताको पक्षमा काम गर्ने लक्षण देखिएको छैन । दुईतिहाइको मत सरकारको नेतृत्व गर्नमात्र हो कि बहुमत जनताको सेवा गर्न ! सरकारको नेतृत्व गर्नु नै नेकपाको उद्देश्य हो भने विगतमा पञ्चायती शासक र नेकाले नेतृत्व गरेको सरकारभन्दा के फरक रह्यो ?
आज नेकपाको सरकारले जहाँतहीं दुईतिहाइको डम्फु बजाइरहेको छ । सरकार कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बताइरहेको छ । नेपालमा भएको शान्ति स्थापना विश्वकै लागि उदाहरणीय भएको फुकिरहेको छ । तर सरकारले फुकेअनुसार व्यवहारमा देखिएको छैन । कम्युनिष्टको सरकार भए पनि कम्युनिष्टको आचरण देखिएको छ्रैन । दुईतिहाइको सरकारले जनताको प्राप्त अधिकारको घेरालाई साँगुरो पार्दै छ । देशमा बढिरहेको हत्या, हिंसा, बलात्कार, बेपत्ता पार्ने, महिला बेचबिखन, मानव तस्करले विधिको र सुशासनको सरकारलाई गिज्याइरहेको छ ।
कम्युनिष्टको सरकारले पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने होइन । पुँजीवादी व्यवस्थालाई बलियो बनाउने होइन । कम्युनिष्टको सरकारले त बहुमत जनताको प्रतिनिधित्व गर्छ, बहुमत जनताको हितमा ऐन कानुन बनाउँछ । बहुमत जनताको मत पाएको गर्व गर्ने सरकारले बहुमत जनताको पक्षमा कुनै ऐन कानुन बनाएको छैन । बहुमत जनताको हित या पक्षमा काम नगर्ने सरकारलाई सच्चा कम्युनिष्टको सरकार भन्न सकिंदैन । सरकारको नेतृत्व गर्नु नै सच्चाइ होइन । सरकारको नेतृत्व गर्दैमा त्यो यथार्थमा कम्युनिष्टको सरकार हुँदैन । नाम र काम दुवैले कम्युनिष्ट हुनुपर्छ । कुन दल कम्युनिष्ट हो या होइन भन्ने कुरा कुनै दलको नामले होइन व्यवहारले थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *