भर्खरै :

आधारभूत सेवा सस्तो र सुलभ हुनुपर्छ

–दानबहादुर कपाली
दसैं नजिकिंदै छ । उपभोक्ताहरूको किनमेल बढ्दै छ । बजारमा चहलपहल बढेसँगै बजारभाउ बढिरहेको छ । पसल–पसलमा मूल्यसूची राखिएको छैन । पसलैपिच्छेझैं मूल्य फरक–फरक हुन्छ । मूल्यको सीमा छैन । आफू अनुकूल मूल्य निर्धारण गरिएको हुन्छ । सरकारी अनुगमन भएको देखिंदैन । भए पनि कहिलेकाहींमात्र हुन्छ । बजार मूल्य नियन्त्रण गर्नेतर्फ सरकार या सरकारी निकायको ध्यान नपुगेको हुँदा उपभोक्ताहरू मारमा परेका छन् । चाडपर्व आएपछि त मूल्यवृद्धि झनै बढ्छ ।
मालसामान चाड पर्वमा बढी बिक्री हुने हुन्छ । यो बेला सरकारले उपभोक्ताको हितलाई ध्यान राखेर जनताका आधारभूत आवश्यक सामानहरू सस्तो र सुलभ गराउनुपर्छ । मूल्यसूची राख्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । बिक्रीमा रहेको सामान सस्तो, सुलभ भएर पुग्दैन, त्यो गुणस्तरीय हुनुपर्छ । कति बिक्रीमा रहेका सामानहरू चाडपर्वमा बढी बिक्री हुने हुँदा पहिले थन्किएका गुणस्तरहीन, म्याद नाघेका र तौल नपुगेका सामानको पनि व्यापार गरिरहेको हुन्छ ।
नेपाली जनता करको भारमा छन् । मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । सरकार जहिल्यै राहतको कुरा उठाउँछ । सेवा सुविधाको बखान गर्छ । सुखी नेपाली बनाउने फुक्छ । तर जनताको जीवन झन्झन् कष्टकर बन्दै छ । महँगीको भारको थिचेर जनताको जीवन जसोतसो चल्दै छ । सरकारले सुखी नेपाली बनाउने कुनै योजना ल्याएको छैन । बिनापूर्वाधार सुखी नेपाली र समृद्ध नेपालको सन्देश सरकारले बाँडेको छ । के प्रम ओलीले फुक्दैमा सुखी नेपाली बन्छ ? सरकारले उपभोक्ता नियमावली र उपभोक्ता नियम बनायो । तर उपभोक्ता नियमावली र नियम लागू गराउनेतर्फ सरकारको ध्यान गएको देखिंदैन । जहाँ जसले जे गरे पनि सरकार बेवारिसे बन्छ, तमासे बन्छ ! देशमा विकृति, विसङ्गति, अपराध, अनियमितता, भ्रष्टाचार, घूस, कमिसन बढ्नुको कारण सरकार किंकर्तव्यविमूढ भएकोले हो । जनता असुरक्षित हुनुका कारक सरकार नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *