भर्खरै :

सजिलो नेपाली

डा. तारानाथ शर्मा
झन्नै एक जुग सात समुद्रपारि बिताएपछि नेपाल फर्केको भोलिपल्ट मैले आफ्नो मातृभाषामा खबर सुन्ने विचारले रेडियो खोलें । यस बीचमा मेरो भाइ दुर्गानाथ शर्माले खबर भन्न थालेको मलाई पातालमै थाहा भइसकेको थियो । उसको आवाज सुन्न मेरो मन त्यसैत्यसै उत्ताउलिइरहेको थियो । उसलाई हेरेर मेरो भाइ हो भनी धेरैले लख काटेका छन्, त्यसमा पनि आवाज त हामी दाजुभाइको उस्तै उस्तै नै छ । जे होस्, म उसको आवाजले रेडियो घन्केको सुन्न औधि रउसिइरहेको थिएँ । नभन्दै बिहानको सात पनि बज्यो र उसको आवाज गुञ्जियो ।
तर कुन्नि किन हो, उसको पहिलो वाक्य बीचमा थामियो । ‘यो रेडियो’ भनेपछि एकछिन चुप लागेर मात्र उसले ‘नेपाल हो’ भन्यो । त्यसपछि उसले सधैंझैं खबरहरू सुनायो, तर उसको आवाजतिर र उसले दिएका समाचारतिर मेरो ध्यान जान सकेन । मलाई त उसको पहिलो वाक्यैले खुत्रुक्कै पा¥यो ।
म सिस्नाले एक्कासि पोल्दा बिउँझेझैं तरङ्ग तसें । बाबै नि ! ‘यो रेडियो … नेपाल हो’ भनेको के हो, मैले बुझ्न सकिनँ । रेडियो यन्त्र हुनसक्छ, राम्रो कुरो हुनसक्छ, महँगो हुनसक्छ तर राष्ट्र हुनसक्तैन भन्ने ज्ञान मेरो छातीमा बज्य्रो । रेडियो नै नेपाल हुनसक्ने भए विमान पनि नेपाल हुनसक्ला, बाटो नेपाल हुनसक्ला र पत्रिका नि नेपाल हुनसक्ला । अनि हामी ‘यो रेडियो नेपाल हो’ जस्तै धक फुकाउँदै यो विमान नेपाल हो’, ‘यो बाटो नेपाल हो’ र ‘यो पत्रिका नेपाल हो’ भनौंला ।
अचम्म लाग्छ, नेपाली जनताका घरघरमा घन्कने आवाज किन यसरी लठेब्रा पुरोहितले राखेको नाउँ बोकेर वर्षौंसम्म चुपचाप मक्ख पर्दै बसिरहेछ । ‘कालो मसी’ नभनेर अब ‘मसी कालो’, ‘मेरी आमा’ नभनेर ‘आमा मेरी’ र ‘आउँदो निर्वाचन’ नभनेर अब ‘निर्वाचन आउँदो’ हामी भन्ने छौं अनि ‘म कालो मसीले लेख्छु’ ‘मेरी आमा घरमा हुनुहुन्छ’ र ‘आउँदो निर्वाचनमा म इलाम जान्छु’ जस्ता वाक्यहरूको साटो अब हामी निर्धक्क ‘म मसी कालोले लेख्छु’ ‘आमा मेरी घरमा हुनुहुन्छ’ र ‘निर्वाचन आउँदोमा म इलाम जान्छु’ भन्ने छौं । ‘नेपाल राष्ट्र’, ‘नेपाल उद्योग’, ‘नेपाल विमानस्थल, ‘नेपाल गमन’ जस्ता भनोटहरू जस्तै ‘नेपाल रेडियो’ सम्म पनि भन्न हिच्किचाउनु अवश्य नै नरमाइलो कुरो हो ।
झल्याँुस्स मलाई फ्रान्सेली भाषाको सम्झना भयो । त्यसमा हाम्रो नेपालीको जस्तो ‘काली केटी’ नभनेर ‘केटी काली’ भन्ने चलन छ । सके कुनै फ्रान्सेली भाषाको पारखीले हाम्रो माटो नसुहाउँदो, हाम्रो घाँटीमा गाँडझैं झुण्डिने र हाम्रा कानमा झर्कोलाग्दो किरिरिरी पार्ने तर उसको मानमा सोमत उब्जाउने त्यस आड्बाङ्गे नाउँलाई जुरायो होला । मलाई चाहिँ ‘रेडियो नेपाल’ भन्ने नाउँ हाम्रो भाषाको पीलो हो र यस पीलालाई जतिसक्तो चाँडो निचोरेर हुन्छ कि, चिथोरेरै पो हुन्छ कि अथवा स्वात्तै काटेरै हुन्छ कि, फालिहाल्नुपर्छ भन्ने भावना लागेको लागेकै छ ।
नेपाली भाषामा रेडियोमात्र होइन, कोट, कार, साइकल, डाक्टर, स्कूल कलेज, सर जस्ता असङ्ख्य शब्दहरू अङ्ग्रेजीबाट आएका छन् । त्यस्ता परदेशी शब्दहरू हिन्दी र उर्दूबाट पनि गनी नभ्याइने सङ्ख्यामा हाम्रो भाषाभित्र पसेका छन् । त्यस्ता जति शब्द जतासुकैबाट पसून्, तिनलाई हाम्रामा आइसकेपछि हामीले उत्तिकै मायाले हेर्नुपर्छ, खेलाउनुपर्छ, चलाउनुपर्छ र बचाउनुपर्छ ।
लोग्नेमान्छेले लगाउने नेपाली पोसाकतिर एकपल्ट आँखा घुमाउनुभयो भने तपाईं छक्क पर्नुहुन्छ । जसलाई हामी राष्ट्रिय पोसाक भन्छौं त्यसको बाहिरी अङ्ग कोट हो । हाम्रो राष्ट्रिय कोट युरोपमा जन्मेको थियो । हामीले उर्दीमा जख्ने जुत्ता र मोजाका छाँटकाँट पनि युरोपेली नै हुन्छन् । दौरा र सुरुवाल इरानतिरबाट छाँटिँदै अफगानिस्तान नाघेर काश्मीर काटी यता पसेजस्ता छन् । भादगाउँले टोपीको बाबु नभए पनि बराजु चाहिँ तुर्कीबाट बसाइँ सरेको पक्का हो ।
शब्दहरूको होस् वा संस्कृतिको होस्, धर्मको होस् वा पोसाकको होस् र ज्ञानको होस् वा विचारहरूको होस् जहाँ जन्म भए पनि हामीसित सम्बन्ध भएपछि र हामीले अँगालेपछि तिनको परदेशी अस्तित्व लोप हुन्छ । चाहे हामी भारतीय सारीमा सजिऔं वा हामी युरोपेली कोटपेन्ट् जखेर चाडपर्वमा जाऔं हाम्रा जनताका उकाली–ओरालीसित, तिनका इतिहाससित र तिनका रगतसित तिनको मिल्ती भएपछि तिनलाई हाम्रा होइनन् भन्नु अव्यावहारिक हुन्छ, केटाकेटीको जस्तो खेलाँची हुन्छ ।
नेपाली भाषामा पनि अनेकौं मूलबाट शब्दहरू, विचारहरू र भावनाहरू भुल्भुलिँदै र कुल्कुलिँदै आएर गाँसिएका छन् । विज्ञानका कुराहरू युरोप र अमेरिकाबाट आएका छन्, आउँदै छन् । धर्म र संस्कृतिका कुराहरू पुराना संस्कृत परम्पराबाट आएका छन्, भोट–बर्मेली स्रोतका परम्पराबाट पनि आएका छन् र अरु पनि थाहा पाइएका र थाहा नपाइएका अनेकौं बाटाबाट आएका छन् र हाम्रो भाषामा, हाम्रो जातीयतामा र हाम्रो अस्तित्वमा छुट्याउनै नसकिने गरी मिसिएका छन् । हजारौं वर्षदेखि कहिल्यै नथामिई मेरो रगतको निर्माणमा सल्सलाएका यी प्रवाहहरूलाई म हुत्याउन सक्तिनँ । मेरो सांस्कृतिकतालाई खुर्केर, चुँडेर र चोइट्याएर म आत्माहीन मासुको थुप्रो हुन सक्तिनँ ।
नेपाली राष्ट्रभाषाको पोसाकमा एकातिर अङ्ग्रेजी शब्दहरूको ओइरो लगाउने र अर्कातिर हिन्दी, उर्दू शब्दहरूको घुइँचो पार्ने होड चलेको म देखिरहेको छु । अङ्गे्रजी पढ्नेहरू अङ्ग्रेजीका भनाइका पारा, ढाँचा र छाँट भित्याएर नेपालीलाई ढँटुवाबारे बनाउने दिशातिर लागेका देख्ता जसरी मेरो मुटु काम्छ उसरी नै हिन्दी उर्दूका विद्वान्हरूले आफ्नै अलङ्कार, छन्द, शब्दहरू र पाराहरू कोचारेर हाम्रो राष्ट्रभाषालाई निचोर्न लागेको देख्ता मेरो छाती खलाँती हुन्छ । नेपाल रेडियोमा सुनिने नेपाली, गोरखापत्रमा छापिने नेपाली र हाम्रा पाठशालामा पढाइने नेपाली नबुझिने, नमिलेको र गोज्याङ्ग्रो भएको छ । सरकारले मात्र होइन, पढेलेखेका लेखक–कविहरूले, जान्ने बुझ्ने मान्छेहरूले र व्यापारीहरूले जनतासम्म आफ्ना कुरा सफलतासाथ पु¥याउने साधन भाषा हो, तर आज नेपाली भाषा सजिलो पार्नेतिर कोही पनि लागेको छैन ।
रेडियोमा खेती गर्ने किसानहरूलाई सुनाउने भनिएका लेख सुन्नोस् । तिनको फेद–टुप्पो लगाउन सकिँदैन । जति अप्ठ्यारा, नमिल्दा र भन्नै गाह«ो पर्ने शब्दहरू बोल्यो उति बाठो, उति ज्ञानी र पढन्ते हुन पाइन्छ भन्ने भ्रम देखिन्छ । किसानले आलु कसरी रोप्ने, बीउ कहाँ खोज्ने र कुन बेला कुन ठाउँमा लगाउने जस्ता मामुली कुराहरू भन्नु छ भने आचार्य र विद्यावारिधि कक्षाका पुस्तकहरू सारेर पढिन्छन् । मलाई कस्तो लाग्छ भने रेडियोमा खेतीबारे बोल्ने मान्छेहरूलाई के बोल्दै छु भन्ने ज्ञानसम्म पनि हुँदैन । समाचार पनि देशभित्रका घतलाग्दा कुराहरू छाडेर कामै नलाग्ने जनतालाई सरोकारै नभएका र हाँसउठ्ता विदेशी घटनाहरूमा रुमलिन्छ । कर्ता एक वचनमा छ भने क्रिया बहुवचनमा हुन्छ । स्त्रीलिङ्गी कर्ता छ भने क्रियाले आफ्नो ठाउँ छाडिसेकेको हुन्छ । कति वाक्यमा त क्रिया नै हुँदैन अथवा कर्ता नै हराउँछ । वाक्यमा कहाँ जोड दिने हो, कुन ठाउँमा कस्तो लय हुन्छ र आदरवाची कुन शब्दमा स्नेहालु उच्चारण गर्नुपर्छ त्यसको कुनै हेक्का देखिँदैन, राखिँदैन ।
गोरखापत्र अर्को ज्यादै महत्वपूर्ण प्रचारको हतियार हो । मलाई यो हतियार खिया लागेको भुत्ते खुकुरीजस्तो लाग्छ । यसका सम्पादकीय लेखहरू व्याकरणलाई बोकी छिनाले झैं अभिनय गर्न सदा तत्पर देखिन्छन् । भुत्ते खुकुरीको चोटले नेपाली भाषा ऐय्या ऐय्या गर्दै छट्पटाइरहेछ । उही खबर घरिघरि दोहो¥याउनु, खबर अनुवाद गर्दा नेपालीमा विचारको गला रेट्नु र नबुझिने शब्दहरू थुप्रायाएर केही पनि छर्लङ्ग हुन नदिनु गोरखापत्रको योगदान हो ।
चाहे प्रशासनका सूचनाहरू हुन्, चाहे सरकारी कागजपत्रहरू हुन् र चाहे न्यायालयका फैसलाहरू हुन्, ती सबैले बुझ्न सक्ने बुझेर पछ्याउन सक्ने हुनुपर्छ । व्यापारीहरूले आफ्ना सरसामानको विज्ञापन पनि सजिलो, छरितो र गुलियो भाषामा गरेमा धेरै ग्राहकहरूले थाहा पाउन सक्छन् । नेपाली भाषा धेरैजसो नेपालीहरूको मातृभाषा हो, तापनि यसलाई दोस्रो भाषाका रुपमा बोल्ने र लेख्नेहरू पनि कम्ती छैनन् । बेग्लाबेग्लै इलाकाका नेपालीहरूलाई बन्दव्यापार गर्दा, सरसल्लाह गर्दा र सरकारी कामकाज चलाउँदा नेपाली भाषा चाहिन्छ । नेवारी मातृभाषा हुनेले नेपाली मातृभाषा हुनेसित मात्र होइन, जिरेल, मैथिली र मगराँती मातृभाषा हुनेसित पनि कुराकानी गर्नुप¥यो भने नेपाली चलाउनुपर्छ । त्यसै हुनाले नेपालीलाई सम्पर्कको भाषा भनिएको हो । यस्तो सम्पर्कको भाषा सजिलो र सबैले मनपराउने हुनुपर्छ । यसो हुनालाई नेपालीका आफ्ना गुणहरूलाई मर्न दिनु हुँदैन भन्ने मेरो घिड्घिडो छ । झन्नै पच्चीस वर्षअघि पहिलो झर्रो आन्दोलनमा म छातीमा मुड्की बजारेर सामेल भएको थिएँ । त्यतिबेलाको जमर्को हिन्दी–उर्दू र अङ्ग्रेजीको हमलाबाट नेपालीलाई जोगाउनतिर एकोहोरिएको थियो । हिन्दीका चूँकि, बल्कि, लेकिन्, वरन्, हालांकि, मानो, ताकि, कमसेकमजस्ता प्रयोगहरू हुत्याउने काममा र कि जस्ताले पराधीन वाक्य जोड्ने शैलीलाई गलहत्याउने काममा झर्रोवाद सफल भएको थियो । अङ्ग्रेजीको प्रभाव घटाउने काम यसले कति ग¥यो थाहा छैन तर उर्दू–हिन्दीका भारतमा व्यापक रुपले प्रचलित शब्दका पाराको भने यसले खोइरो खन्यो । ‘… ली’ लगाएर ठाउँबाट विशेषण बनाउने काममा पनि झर्रोवादले चुरीफुरी देखाएकै थियो जसले गर्दा फ्रान्सेली, अमेरिकाली र एसियालीजस्ता रुपहरू निर्धक्क चलेका छन् । त्यति भएर पनि हिज्जे सुधार्ने प्रयास भने सफल हुनसकेन । हामी झर्राहरू त्यसताका ठिटौले नै थियौं र हाम्रा विपक्षीहरू दह«ा थिए ।
आज नेपाल रेडियो, गोरखापत्र, हाम्रा पाठशालाहरू र हाम्रा जान्नेबुझ्नेहरूका लेखपढ हेर्दा झर्रोवादको फेरि पनि खाँचो भएको म देख्तै छु । अब नेपालीलाई साँच्चै नै विचार, भावना र संस्कृतिको गह«ौं भारी बोकाएर नेपालको जातीय एकतालाई बलियो पार्ने हो भने मेरा विचारमा तल लेखिएबमोजिमका कुराहरूलाई झर्रोवादले अँगाल्नुपर्छ ।
१. नेपाली भाषाको लेखाइ सजिलो, छरितो र चखिलो पार्नुपर्छ । यसो गर्न हिज्जेको सुधार हुनुपर्छ । ह«स्व र दीर्घको झ्याउलो टुङ्ग्याई छिटो लेख्न सकिने र वैज्ञानिक पनि पार्नुपर्छ । कहाँ खुट्टा काट्ने र कुन अक्षर कति बेला सलक्क लेख्नेबारेमा पनि छिटो–छरितो काइदा अँगाल्नुपर्ने म देख्तै छु ।
२. लेखेर सरकारी विचार अथवा व्यापारका विज्ञापन अथवा शिक्षा र ज्ञानका कुरा सबै जनतामा पु¥याउनुपर्छ र त्यसरी पुगेका कुरा सबैले बुझ्ने खालका हुनुपर्छ । यसो गर्न नेपाली भाषामा संस्कृतले होस्, अङ्ग्रेजीले होस् वा अरु कुनै भाषाले होस् फुक्का पाराले शब्द सापटी दिन पाउनुपर्छ, तर यसरी नेपालीमा आइसकेपछि र नेपालीले लिइसकेपछि ती शब्दको हिज्जे र तिनको रुप नेपाली व्याकरण र हिज्जेअनुरुप हुनुपर्छ ।
३. नेपाली भाषामा राम्रो शिक्षा पाएका मान्छेहरूले व्याकरणका आधारभूत नियमहरू नेपाल रेडियो, राष्ट्रिय समाचार समिति, गोरखापत्र, श्री ५ को सरकारका कार्यालयहरू र पाठशालाहरूका कर्मचारीहरूलाई सिकाउनुपर्छ ।
४. दोस्रो भाषाका रुपमा नेपाली बोल्ने जनतालाई समेत सजिलो र सुविधा हुने गरी अप्ठ्यारा शब्द र गठन हटाउनुपर्छ । दोस्रो भाषाका रुपमा नेपालीको शिक्षण व्यापक रुपले चलाउन थालिहाल्नुपर्छ ।
–सजिलो नेपाली (नेप्रप्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *