भर्खरै :

भाषामै भाँडभैलो

दीपक राई
पत्रकारको धर्म भनेको लेख्नु हो  । हातमा कलम छ भन्दैमा जे पायो त्यही लेख्नुचाहिँ धर्म हुँदै होइन । पत्रकारितालाई हतारको साहित्य भन्ने गरिन्छ । हतारमा गरेको काम परिपक्व हुँदैन । तर, हतारमा काम गर्न अभ्यस्त पत्रकारले भन्न खोजेको कुरा प्रस्टसँग बुझिने भाषामा लेख्न सक्नुपर्छ । प्रस्टयाउन सकेन भने अनर्थ हुन्छ ।
तपार्इँ जहाँ हुनुहुन्छ, त्यहाँबाट प्रकाशित पत्रपत्रिका पढ्नुभयो भने भाषिक गल्ती भेट्नुहुनेछ । एकपटक, दुईपटक होइन, सधैं गल्ती शब्द पढ्दापढ्दा दिक्क लाग्नु अस्वाभाविक होइन । समाचार सम्बन्धित सञ्चारमाध्यमका सम्पादन कक्षको संरचनाअनुसार हेरिन्छ । सम्पादन गरिन्छ । सम्पादक वा ‘डेस्क एडिटर’ ले सम्पादन गरिसकेपछि, शुद्धाशुद्धी परीक्षक (प्रुफरिडर) ले शुद्धाशुद्धी हेर्छन् । तैपनि गल्ती दोहोरिइरहेका हुन्छन् । पाठकहरू भाषा गल्ती भएको समाचार, आलेख पढ्न बाध्य छन् ।
तपाईंलाई राष्ट्रिय सरकारप्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ? भनेर सोध्दा प्रसिद्ध चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका थिए, ‘पहिलो काम भाषा सुधार गर्ने छु ।’ यो उत्तरले जोकोहीलाई गम्भीर बनाउँछ । जथाभावी प्रयोग गरिएका भाषा र शब्दले सम्बन्धित मुलुकका व्यक्ति, परिवार र समाजमात्रै होइन, देशलाई नै असर पारिरहेको हुुन्छ भन्ने उनलाई थाहा थियो ।
नेपालका राजनीतिक नेताले भाषा सुधाछौँ भनेर गुलियो वचनसमेत दिएको सुन्न पाइँदैन । जुद्धसमशेरको पालामा साइनबोर्ड लेखाउनसमेत नेपाली भाषा प्रकाशिनी समितिमा निवेदन दिनुपथ्र्यो । निवेदकले साइनबोर्ड लेख्न खोजेको भाषा शुद्ध छ कि छैन भनेर समितिसम्बद्धले हेर्थे । गलत भए सच्याएर साइनबोर्ड बनाउन अनुमति दिइन्थ्यो ।
समस्या
हिजोआज त्यस्तो अवस्था छैन । लेख्नेले लेखिरहेका छन् । अशुद्ध भए पनि पढ्नैपर्ने बाध्यता छँदै छ । कसले निरुपण गर्ने ? निरुपण नभएपछि हामी मादक पदार्थ सेवन गर्न बाध्य हुन्छौं । स्वास्थ्यलाई फाइदा हुने चीज खाँदा सेवन गरिन्छ । तर, मादक पदार्थले स्वास्थ्यलाई हानि गर्ने भएकाले ‘मादक पदार्थ सेवन’ लेख्दा गलत हुन्छ । सेवन गर्ने भनेको औषधि हो । औषधि सेवन गर्दा बिरामी निको हुन्छन् ।
एकताका रेडियो तथा टेलिभजनमा ‘धुम्रपान’ स्वास्थ्यका लागि हानिकारक छ भनेर विज्ञापन प्रसारण हुन्थ्यो । पछिल्लो समय चुरोटको बट्टामै उल्लेख गर्न थालिएको छ । पत्रपत्रिकामा प्रकाशित समाचार र आलेखमा धुम्रपान नै लेखिएका हुन्छन् । रेडियो तथा टेलिभजनमा धुम्रपान नै उच्चारण गरिन्छ । तर, धुम्रपानको अर्थ खुट्याउने कसैलाई फुर्सद छैन । ‘धुम्र’ भनेको ध्वाँसो र ‘पान’ भनेको पिउनु हो । चुरोट, बिँडी, सुर्ती पिउनेले ध्वाँसो होइन धुवाँ पिएका हुन् । शुद्ध लेख्दा धूमपान लेख्नुपर्ने हो । तर, धुम्रपान लेख्नेकै बाहुल्य छ ।
सञ्चारमाध्यम (प्रकाशन तथा प्रसारण) मा हिजोआज पनि आगलागी नियन्त्रण र डढेलो नियन्त्रणसम्बन्धी समाचार पढ्नु र सुन्नुपर्छ । मानिसले आजसम्म आगो नियन्त्रण गरेको कतै सुन्न÷देख्न पाइएको छैन । आगो नियन्त्रण गर्ने कसैको क्षमता हुँदैन । आगो नियन्त्रण नभएर निभाउनचाहिँ सकिन्छ । तपाईंले ‘वनमा लागेको आगो नियन्त्रणबाहिर’ भनेर पढेको÷सुनेको हुनुपर्छ । वनमा लागेको आगोलाई डढेलो भनिन्छ भन्नेसमेत हामीलाई थाहा छैन । हामी यतिसम्म पनि शुद्ध लेख्ने प्रयास गर्दैनौं । तर, भूमिकाचाहिँ निभाउँदै आएका छौं । भूमिका आगो हो र निभाउनु ? भूमिका निर्वाह गरिन्छ । ‘हामीले प्रस्तुति र भाषामा किन हो किन ध्यानै दिएनौं,’ पत्रकार मोहन मैनालीको बुझाइ छ, ‘हाम्रो शक्ति भनेकै भाषा हो । अभिव्यक्ति हो भन्ने कुरा हामीले बिस्यौँजस्तो लाग्छ ।’
त्यसो भएकाले हिजोआज सबैथोक नियन्त्रणमा लिन थालिएको छ । भीड पनि नियन्त्रण गरिन्छ । भीड कहिल्यै नियन्त्रण हुँदैन । भीडलाई तितरबितर गरिन्छ । हुँदाहुँदा हिजोआज रक्तचन्दनसमेत नियन्त्रण हुन थालेको छ । शुद्ध लेख्ने नै हो भने त रक्तभन्दन बरामद पो गरिन्छ ।
नेपालमा बन्दहडताल भइरहन्छ । बन्दहडतालमा सवारीसाधन गुड्न दिइँदैन । तर, अटेर गर्नेले गुडाएकै हुन्छन् । बन्द खुलेपछि सञ्चारमाध्यममा सवारीसाधन ‘सुचारु’ भनेर समाचार प्रकाशित तथा प्रसारित गरिन्छन् । सुचारुको शाब्दिक अर्थ ‘झन् सुन्दर’ हुन्छ । ‘सु’ भनेको झन्, ‘चारु’ भनेको सुन्दर । त्यसो भए बन्द खुलेपछि यातायात सुचारु भयो भन्दा÷लेख्दा अर्थ लाग्यो त ? बन्द खुलेपछि यातायात झन् सुन्दर भयो भन्ने अर्थ लाग्छ । प्रसङ्ग पुष्टि गर्न कान्तिपुर दैनिकले २०७४ भदौ २३ गते देवनारायण साहको ‘बाइलाइन’ मा तीन सातापछि जोगबनी नाका सुचारु हुने’ शीर्षाकृत प्रकाशित समाचारलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
गोरखापत्र संस्थानमा प्रुफरिडिङ (नेपाली÷अङ्गे्रजी) शाखा रहेको छ । एकताका सो शाखाप्रमुख वसन्त घिमिरे थिए । गोरखापत्र संस्थानअन्तर्गत प्रकाशित नेपाली प्रकाशनमा प्रयुक्त भाषामा एकरुपता ल्याउन बैठक डाकियो । पङक्तिकार पनि उपस्थित थियो । ‘टीआईओएन’ प्रयोग भएको अङ्ग्रेजी शब्दमा ‘श’ प्रयोग गर्ने भनेर बैठकमा सुझाइयो । त्यसपछि नेपाली प्रुफरिडिङ शाखाप्रमुख घिमिरेले रुसमात्रै होइन, राजस्वसमेत ‘राजश्व’ लेख्न थाले । यो ‘राजस्व’ भनेको राजाको कुकुर हो । तर, कर हो भने यस्तो ‘राजस्व’ लेख्नुपर्छ । हामीले गलत अर्थ लाग्ने शब्द मनलाग्दी लेख्दै आएका छौं । गलत भयो भनेर निगरानी गर्ने निकाय छैन । नभएपछि जे लेखे पनि भयो । सांस्कृतिक विविधता भएकाले नेपालमा चाडबाड थुप्रै छन् । धर्मनिरपेक्ष मुलुकमा चाडबाड थुप्रै हुनु अस्वाभाविक होइन । त्यसैले सञ्चारमाध्यममा चाडबाडसम्बन्धी समाचार तथा आलेख प्रकाशन तथा प्रसारण भइरहन्छन् । समाचारमा ‘चाडपर्व’ भनेर लेखिएको हुन्छ । सुन्नुपर्छ । ‘चाडपर्व’ समेत शुद्ध होइन । शुद्ध लेख्दा चाडबाड लेख्नुपर्छ । पर्व भनेको त ‘अलौ पर्व’, ‘कोतपर्व’, ‘भण्डारखाल पर्व’ भन्ने अर्थ लाग्छ । कान्तिपुर दैनिकले २०७४ भदौ २२ को अर्थ वाणिज्य पेजमा शङ्कर आचार्यको ‘बाइलाइन’ मा ‘भन्सारमा चाडपर्वको रौनक छैन’ शीर्षाकृत समाचार प्रकाशित गरेको थियो । सञ्चारमाध्यमले समाचार र आलेखमात्रै होइन ‘हेडलाइन’ मै चाडपर्व लेखिरहेका हुन्छन् ।
कान्तिपुर दैनिकको पाठकमञ्चमा ‘महानगरप्रमुख चिरनिद्रामा’ शीर्षाकृत पाठकपत्र प्रकाशित भएको थियो । २०७४ असोज ३१ गते प्रकाशित सो पाठकपत्र गोपाल देवकोटाले लेखेका पथए । ‘चिरनिन्द्रा’ को अर्थ मृत्यु, मरण, महानिद्रा हुन्छ ।
यसैगरी, २०७४ भदौ १७ गते पहिलो पेजमा ‘धरहरा पुनः ठडिने विषयमा आशङ्का’ शीर्षाकृत समाचार प्रकाशित भएको थियो । राधा चालिसेको ‘बाइलाइन’मा रहेको सो समाचारको शीर्षक अर्थपूर्ण छैन । आशङ्काको अर्थ अनिष्टको सम्भावना वा सम्भाव्यता हुन्छ । तसर्थ, सो समाचारको शीर्षक ‘धरहरा पुनः ठडिने विषयमा शङ्का’ लेख्दा शुद्ध हुन्थ्यो ।
यस्ता कैयौं शब्द लेख्दै÷बोल्दै आए पनि अर्थ खुट्टयाउन प्रयास गर्दैनौँ । २०६७ जेठ अङ्कको मूल्याङ्कन मासिकको ‘कभर पेज’ मा ‘डेटलाइन जेठ १७’ लेखिएको छ भने सगरमाथा आरोहणपछि पत्रकार आङछिरिङ शेर्पाले लेखेको किताबको नाम ‘डेडलाइन चोमोलोङ्मा’ छ । डेडलाइन र डेटलाइनको अर्थ आकाशपातल फरक छ । ‘डेडलाइन’ भनेको समयावधि हो भने ‘डेटलाइन’ भनेको सम्बन्धित पत्रकारले समाचार लेखेको मिति हो । तसर्थ, मूल्याङ्कन मासिकको ‘डेटलाइन जेठ १७’ नभएर ‘डेडलाइन जेठ १७’ र ‘डेडलाइन चोमोलोङ्मा’ नभएर ‘डेटलाइन चोमोलोङ्मा’ शुद्ध हो । पत्रकार शेर्पाले ‘डेडलाइन चोमोलोङ्मा’ दोस्रो संस्करणमा भने सच्याएका छन् ।
समाधान
‘पत्रकारको खेल भाषाको मैदानमा खेलिन्छ’ स्वतन्त्र पत्रकार शरच्चन्द्र वस्तीले हाम्रो भाषा नामक किताबमा लेखेका छन्, ‘मैदान ठीक नभएसम्म खेल खेलाँचीजस्तो मात्र हुन्छ । तर, भाषाको पक्ष पत्रकारिता प्रशिक्षणमा ओझेल परिरहेको छ ।’ नेपालमा पत्रकारिता तालिम बाक्लै गरिन्छन् । पत्रकार वस्तीले भनेजस्तै तालिममा भाषाको पक्ष गौण मानिन्छ । पत्रकारिताजस्तै भाषाको तालिम अनिवार्य बनेको छ । सातदिने पत्रकारिता तालिममा भाषालाई एक दिन समय दिएर पुग्दैन । सम्बन्धित सञ्चारमाध्यममा काम गर्ने सम्पादक, ‘कपि एडिटर’, पत्रकार र प्रुफरिडर भाषाबारे जानकार हुनुपर्छ । प्रुफरिडरले ह्रस्व दीर्घको नियममात्रै जानेर पुग्दैन । शब्दार्थबारे गहिरो अध्ययन हुुनुपर्छ ।
‘कपि एडिटर’ ले समेत समाचार सम्पादन गर्न जानेरमात्रै हुँदैन, शब्दार्थ जान्नैपर्छ । जानेको छैन भने जान्ने प्रयास गर्नुपर्छ । त्यस्तो क्षमता भएमा ‘पलाँसको फूलमा सुगन्ध’ भेटिएजस्तै हुन्छ । उसले पाठक, श्रोता र दर्शकलाई समाचार, आलेख पढिरहुँ, हेरिरहुँ र सुनिरहुँ बनाउन सके पनि शब्दार्थ गलत भयो भने अनर्थ हुने नै भयो । ‘कपि एडिटर’ योग्य भएनन् भने सम्बन्धित सञ्चारमाध्यमप्रति पाठक, श्रोता र दर्शक आकर्षित हुँदैनन् ।
प्रेस काउन्सिल र सूचना विभागले वर्गीकरण गर्दा सम्बन्धित पत्रपत्रिकामा प्रयोग भाषालाई समेत आधार बनाउनुपर्छ । त्यसो गरियो भने भाषिक सुधार पक्कै हुनेछ । भाषिक सुधार हुनु भनेको गल्ती कम हुँदै जानु हो ।
–संहिता, असार २०७५

One response to “भाषामै भाँडभैलो”

  1. Sudeep Hada says:

    “यो ‘राजस्व’ भनेको राजाको कुकुर हो । ” यहाँ “राजस्व” को ठाउँमा “राजश्व” हुनुपर्ने होइन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *