भर्खरै :

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौँ, १५ असोज  ः सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ ।
यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
प्रस्थान गर्ने खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेको नेपाली टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।
नेपाली टोलीका मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले असोज १७ गते म्यान्मा, २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीन र २६ सिङ्गापुरसँग खेल्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *