भर्खरै :

भैरवनाथ मन्दिर जीर्णोद्धार सुरु

भक्तपुर, १८ असोज । भक्तपुरका ङातापोल मन्दिरअघिको ऐतिहासिक भैरवनाथको मन्दिरको जीर्णोद्धार सुरु भएको छ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको भैरवनाथ मन्दिरको जीर्णोद्धार उपभोक्ता समितिमार्फत भक्तपुर नगरपालिकाले गर्न लागेको हो । गएको असोज ३ बाट जीर्णोद्धारको काम सुरु गरिएको मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले बताउनुभयो । २०७४ सालमा १ करोड २७ लाख लागत इस्टमेट गरिएको मन्दिर जीर्णाद्धार कार्य हाल संशोधित १ करोड ४६ लाख लागत इस्टिमेटमा गरिन लागिएको हो ।
भेलेका अनुसार हाल सो बजेटले मन्दिरको सबभन्दा माथिल्लो तल्लामात्र जीर्णोद्धार गरिनेछ । माथिल्लो तल्लाको झिगटी फेर्नुका साथै फेर्नुपर्ने झ्याल, टुँडाल पनि फेरिनेछ ।
‘‘अहिले माथिल्लो तल्लाबाट काम सुरु गरेका छौं । काम गर्दै जाने क्रममा तल्लो तल्लामा पनि आवश्यक भए जीर्णोद्धार गरिंदै जाने सल्लाह भएको छ ।’’, समितिका अध्यक्ष भेलेले बताउनुभयो ।
भैरवनाथ मन्दिर जीर्णोद्धारका लागि आवश्यक बाँसको बन्दोबस्त भइसकेको छ । खट बाँध्न चित्तपोल र ताथलीबाट लामा लामा ३ सय ५० बाँस र अरु साना लम्बाईका ४ सय बाँस इलामबाट झिकाइएको छ । त्यस्तै भक्तपुर नपा ८ को लाँतिकोचाबाट अरु थप ६० वटा बाँस ल्याइने भेलेले जानकारी दिनुभयो । खट बनाउने काम बुधबारबाटै सुरु गरिएको छ ।
भैरवनाथ मन्दिरको यसअघि जीर्णोद्धार २०५२ सालमा गरिएको थियो ।
विश्वविख्यात ङातापोल मन्दिरसँगैको भैरवनाथ मन्दिरमा रहेको भैरवलाई बिस्केट जात्रामा विशेष पुजा गरिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *