भर्खरै :

भारतीय किसानमाथिको दमन मोदी सरकारको मुला प्रवृत्ति

भारतको राजधानी नयाँ दिल्लीमा भएको विशाल किसान ¥यालीमा नरेन्द्र मोदी नेतृत्वको सरकारले निर्मम दमन गरेको छ । यसै साता अहिंसात्मक आन्दोलनका प्रतीक महात्मा गान्धीको जन्म दिवस मनाउने घोषणा गरेको मोदी सरकारले आफ्ना पेशागत माग बोकेर सरकारको ध्यानाकर्षण गर्न गएका निहत्था किसानहरूमाथि अमानवीय दमन गरेको छ । प्रहरीले प्रदर्शनकारी प्रहरीलाई पानीको फोहोराले मात्र आक्रमण गरेनन्, बरू अश्रुग्यास र लाठ्ठीको पशुवत् हमलाले हजारौं किसान घाइते भएका छन् ।
किसानहरूले कुनै नाजायज माग प्रस्तुत गरेका थिएनन् । उनीहरूले वर्षको दुई करोड रोजगारी सृजना गर्ने मोदी सरकारले दिएको आश्वासन पूरा गर्न र किसानको लागि अवसाद बनेको कृषि ऋण मिनाहा गर्न माग गर्दै विशाल प्रदर्शन गरेका थिए । सन् २०१९ मा हुने प्रधानमन्त्री निर्वाचनअघि झण्डै ७० हजार किसानको सहभागितामा भएको प्रदर्शन मोदी सरकारको निम्ति ठूलो राजनीतिक चुनौती हो ।
भारतमा किसान आन्दोलन कुनै नयाँ समाचार होइन । भारत संसारमै सबभन्दा बढी किसानले आत्महत्या गर्ने देश हो । हरेक महिना किसानहरूले आफ्ना न्यायपूर्ण माग गर्दै भारतका कुनै न कुनै प्रान्तमा आन्दोलन गर्ने गर्दछन् । तर सरकार किसानका मुद्दाप्रति सधैं उदासीन नै रहने गरेको छ । उदासीनमात्र होइन, मङ्गलबारको घटनाले मोदी सरकार किसानमाथि आक्रामकसमेत बन्दै गएको देखाएको छ । मङ्गलबारको दमनले मोदीको भारतीय जनता पार्टीप्रति सद्भाव राख्ने भारतीय किसानको समेत भ्रम टुटेको छ । मोदी र भाजपाले आफूलाई जतिसुकै किसान र मजदुरको पक्षमा उभिएको बखान गरे पनि अन्ततः दक्षिणपन्थी मोदी सरकारको असली अनुहार जनतासमक्ष देखिएको छ ।
मोदी सरकार किसानमाथि मात्र होइन, भारतका मजदुर, दलित, वामपन्थी शक्ति, प्रजातन्त्रवादी बुद्धिजीवी, महिला र अल्पसङ्ख्यक जनजाति, मुसलमानमाथि लगातार आक्रामक बनेको छ । महिना दिनअघिमात्र पुणे प्रहरीले कैयौं बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार र मानव अधिकारवादीका घरमा छापा मारी केहीलाई घरमै नजरबन्द र गिरफ्तारीसमेत गरेको थियो । प्रहरीको यस्तो क्रुर व्यवहारको व्यापक विरोध भयो ।
मोदी सरकारका यस्ता अप्रजातान्त्रिक व्यवहारलाई भारतीय प्रजातन्त्रमाथिको खतराको रुपमा हेरिएको छ । हिन्दू अतिवादी सिद्धान्तमा आधारित भाजपाले भारतलाई हिन्दू एकतन्त्री राज्यको रुपमा विकास गर्न चाहेको छ । हिन्दू अतिवादले कुनै पनि वामपन्थी वा प्रगतिशील विचारलाई स्वीकार्न सक्दैन । हालै बाढी–पहिरोले व्यापक धनजन क्षति पुगेको केरलाको पुनःनिर्माणमा मोदी नेतृत्वको सङ्घीय सरकारबाट भइरहेको पक्षपात भिन्न विचार स्वीकार्न नसक्ने हिन्दू अतिवादी चिन्तनको परिणाम हो ।
संसारको इतिहासमा फासीवादी विचार केही समयको लागि उदयीमान देखिए तापनि अन्ततः त्यसको दुःख अन्त्य भएका मनग्य उदाहरण छन् । हिटलर, मुसोलिनी, तोजो आदि प्रतिनिधि उदाहरणमात्र हुन् । ती फासीवादी शासकहरू एक समय संसारकै सबभन्दा शक्तिशाली शासकको रुपमा देखापरेका थिए । तर समयक्रममा तिनको अन्त्य निकै वियोगपूर्ण बन्यो । मोदी नेतृत्वको सरकार तथा दलले यो इतिहासबाट पाठ सिक्नु जरुरी छ । भारतीय कामदार जनतामाथिको हमला मोदीको निम्ति आफ्नो खाल्डो आफैं खन्ने मुला प्रवृत्तिको सुरूवात हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *