यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
जनताले बुझ्ने भाषामा लेख्न जोड
काठमाडौं, २० असोज । मजदुर दैनिक र श्रमिक साप्ताहिकका सहयोगी लेखकहरूको शनिबार भेला भयो । मजदुर दैनिक र श्रमिक साप्ताहिकमा लेख–रचना लेखेर सहयोग गर्दै आउनुभएका लेखकहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देश र जनताका समस्याबारे पाठकले बुझ्ने भाषामा नियमित रूपमा कलम चलाउन लेखकहरूलाई आग्रह गर्नुभयो ।
उहाँले लेखकले लेखेका लेखरचनामाथि पाठकको आलोचनाले लेखकलाई अझ माझ्न मद्दत गर्ने बताउँदै छोटा र सरल वाक्य लेख्दा पाठकलाई बुझ्न सहज हुने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले राजनीतिक नेतृत्व खराब र भ्रष्ट बन्दा तिनका कार्यकर्ता पनि खराब र भ्रष्ट हुने बताउनुभयो ।
उहाँले चाडवाडको समयमा मनोरञ्जन र खानपिनमा मात्र ध्यान नदिई सांस्कृतिक र अध्ययनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
श्रमिक साप्ताहिकका प्रकाशक एवं कार्यक्रमका सभापति सरोजराज गोसाईले पुँजीवादी समाजमा आस्थाको पत्रकारिता अघि बढाउन सहज नहुने बताउँदै आस्थामा आधारित पत्रकारिता अघि बढाउन जनताको पक्षमा लेख्ने लेखक र पत्रकारले नै योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।
मजदुर दैनिक र श्रमिक साप्ताहिक व्यवस्थापन समितिका चैत्यराज शाक्यले सबै पक्षको सहयोगी हातले नै मजदुर दैनिक र श्रमिक साप्ताहिकको यात्रा दुई दसकभन्दा लामो समय लगातार अघि बढ्न सम्भव भएको बताउनुभयो ।
मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले मजदुर दैनिक र श्रमिक साप्ताहिकले राजनीतिक सङ्कट र प्राकृतिक प्रकोपको समयमा समेत जनतालाई सुसूचित बनाउने जिम्मेवारीलाई निरन्तरता दिइरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा मजदुर दैनिकका कार्यकारी सम्पादक नीरज लवजू र प्रकाश थुसाले पनि बोल्नुभएको थियो ।
भेलामा सहभागी लेखकहरूले मजदुर दैनिक र श्रमिक साप्ताहिकको प्रगतिका लागि विभिन्न सल्लाह सुझाव दिनुभएको थियो ।
Leave a Reply