भर्खरै :

‘साम्राज्यवाद कमजोर भयो तर चरित्र बदलेको छैन’’

काठमाडौं, २४ असोज । नेपाल मजदुर किसान पार्टीको मित्र पार्टी कोरियाली मजदुर पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपा विदेश सम्बन्ध समितिको आयोजनामा भएको कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले संरा अमेरिकी साम्राज्यवाद कमजोर भएको छ तर साम्राज्यवादले आफ्नो चरित्र नबदलेको बताउनुभयो ।
‘‘साम्राज्यवादले मृत्युशैय्यामा पनि आफ्नो चरित्र बदल्ने छैन ।’’, उहाँले भन्नुभयो ।
आजको विश्व परिवेशमा संरा अमेरिकी साम्राज्यवाद क्रमशः एक्लिंदै गएको चर्चा गर्दै उहाँले आफू कमजोर बनेको परिस्थितिमा नदीमा डुब्न लागेको मानिसले परालको त्यान्द्रोमात्र समातेर पनि आफूलाई जोगाउने प्रयास गरेजस्तै संरा अमेरिकी साम्राज्यवादले प्रजग कोरियाको सहारामा भए पनि जोगिन अन्तिम समयसम्म प्रयास गर्ने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेंले क्युवासँग कूटनीतिक सम्बन्ध सुधार गर्न पोपको भ्रमण गराएजस्तै, इराकलाई ध्वस्त पार्न आमनरसंहारकारी हतियार भएको झूटा आरोप लगाएजस्तै र सन् १८४० मा चीनमा भएको अफिम युद्धको क्रममा चीन सरकारमाथि अनेकन शर्त थोपरेजस्तै प्रजग कोरियामाथि पनि संरा अमेरिकाले शर्त थोपर्न सक्ने बताउनुभयो ।
नेमकिपा सर्वहारा अन्तर्राष्ट्रवादी पार्टी भएकोले समाजवादी प्रजग कोरियाको साम्राज्यवादविरोधी समाजवादी सङ्घर्षमा ऐक्यबद्धता व्यक्त गर्दै आएको उहाँले बताउनुभयो ।
नेपालका लागि प्रजग कोरियाका राजदूत किम योङ हकले गएको महिना प्रजग कोरियाको ७० औं स्थापना दिवसको अवसरमा राजधानी प्योङयाङमा भव्य कार्यक्रम भएको स्मरण गर्दै किम इल सङ र किम जङ इलले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई प्रजग कोरियाले अघि बढाइरहेको बताउनुभयो ।
‘‘कोरियाली क्रान्तिमा किम इल सङको अतुलनीय योगदानस्वरूप उहाँलाई अजम्बरी राष्ट्रपति र किम जङ इललाई अजम्बरी महासचिवको रूपमा सम्मान गर्दै आएका छौं ।’’, उहाँले बताउनुभयो ।
किम इल सङ र किम जङ इलको विचार बोकेर आज कोरियाली जनता विजयको बाटोमा अघि बढिरहेको विचार राख्दै राजदूत हकले प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनलाई संसारले यो शताब्दीको नायकको रूपमा हेरिरहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा आयोजक समितिका प्रमुख प्रेम सुवालले गत जून महिनामा सिङ्गापुरमा भएको किम–ट्रम्प वार्तामा भएको सहमतिअनुसार आफ्नो दायित्व पूरा नगरी संरा अमेरिकाले आणविक निःशस्त्रीकरणलाई मात्र जोड दिइरहेकोबारे प्रकाश पार्नुभयो ।
‘‘सन् १९५०–५४ मा भएको कोरिया युद्धको स्थायी शान्ति सन्धि, प्रजग कोरियामाथि संरा अमेरिकी नाकाबन्दी अन्त्य र दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेनाको निःशर्त फिर्ता गर्नुपर्ने कोरियाली जनताको भावना हो ।’’, उहाँले बताउनुभयो ।
सचिव सुवालले आजको विश्वमा संरा अमेरिकाको चौतर्फी विरोध भइरहेको बताउनुभयो ।
कार्यक्रम नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले पार्टीको तर्फबाट मित्र पार्टी कोरियाली मजदुर पार्टीका अध्यक्ष किम जङ उनलाई पठाउनुभएको शुभकामना सन्देश राजदूत किम योङ हकलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रवचन कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *