भर्खरै :

भनपामा स्थानीय पाठ्यक्रमसम्बन्धी कार्यशाला गोष्ठी

भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू र सरोकारवालाहरूबीच कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नेपालमा भाषा र संस्कृति विकास हुन लामो समय लाग्ने तर लोप हुन धेरै समय नलाग्ने बताउँदै यसको संरक्षण र संबद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम तयार गरी लागू गरेको हो भन्नुभयो ।
उहाँले नगरपालिकाको स्थानीय पाठ्यक्रमबारे सबैतिरबाट सकारात्मक टिप्पणीहरू आइरहेको चर्चा गर्दै विद्यार्थी भाइ–बहिनीहरूले पनि रूचीपूर्वक स्थानीय पाठ्यक्रमका विषयवस्तुहरू सिकिराखेको सूचनाहरू प्राप्त भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, ‘‘विगतमा कलेज पढ्ने विद्यार्थीहरूमा समेत स्थानीय मौलिकतासम्बन्धी सामान्य ज्ञानको कमी भएको तीतो अनुभव छ । अबको नयाँ पुस्ताले स्थानीय पाठ्यक्रमबाट स्थानीय मौलिकतासम्बन्धी पर्याप्त ज्ञान प्राप्त गर्नु आवश्यक छ ।’’
विद्यालयका शिक्षक–शिक्षिकाहरूबाट स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन गराउन पाठ्यपुस्तकको अभाव भएको सूचना प्राप्त भइरहेको बताउँदै उहाँले स्थानीय पाठ्यक्रममा समेटिएका विषय–वस्तुहरूको आवश्यक सन्दर्भ सामग्री विद्यालयहरूलाई वितरण गरिएको र कतिपय तयार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानमा व्यवस्था भएबमोजिम भनपाले नगरको शिक्षाको जिम्मेवारी वहन गरेसँगै सामुदायिक विद्यालयहरूको उचित संरक्षण र विकासको लागि स्थानीय जनप्रतिनिधिहरूसमेत परिचालन गर्ने तयारी भइरहेको छ ।’’
विद्यालयहरूको आवश्यकता र औचित्यताअनुसार सहयोगको तयारी भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले विद्यालयको शैक्षिक र भौतिक विकासको लागि शिक्षकहरू सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भक्तपुरलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र पर्यटनको क्षेत्रमा उदाहरणीय रूपमा विकास गर्न आवश्यक योजनाहरू बनाई भनपा अगाडि बढिरहेको छ ।’’
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरूबाट स्थानीय पाठ्यक्रम रोचक र प्रभावकारी रहेको जानकारी प्राप्त भएको बताउँदै यसमा नागरिक भावना, सामाजिक जिम्मेवारी, शिष्टता, सामाजिक मूल्य मान्यता, ज्येष्ठ नागरिक सम्मानलगायतका विविध विषयहरू समावेश गर्नुपर्ने सुझाव प्राप्त भएको बताउनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले स्थानीय पाठ्यक्रमले देशको राष्ट्रिय पाठ्यक्रमलाई मद्दत पु¥याउने विचार व्यक्त गर्दै यसले विद्यार्थी भाइबहिनीहरूमा स्थानीय विषयवस्तुप्रति रचनात्मक र सिर्जनात्मक गुणको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम तयारी कार्यदलका सदस्य सिद्धिरत्न शाक्य र रोशनराज तुईतुईले पनि बोल्नुभएको थियो । कार्यक्रममा कक्षा २ र ७ को लागि नयाँ पाठ्यक्रम तयार गर्न जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई ५ वटा समूहमा विभाजन गरी पाठ्यक्रमका ११ वटा विषयहरूमा सुझाव सङ्कलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *