भर्खरै :

विदेशी शक्ति केन्द्रकै इशारामा सत्ताको चलखेल

काठमाडौं, २५ असोज । विजया दशमीको सेरोफेरोमा देशको पुँजीवादी पार्टीमा पुनः भित्रभित्रै ‘लतम–जुतम्’ चल्दैछ । तीन जना नागरिकले हस्ताक्षर गरेर विदेशी नागरिकहरूलाई नेपाली नागरिक बनाउने नीति र विधेयक पारित गर्दा ‘असहमति दर्ज नगर्ने’ (नोट अफ डिसेन्ट नलेख्ने) नेपाली काङ्ग्रेसका चार वरिष्ठ नेताहरूले आज शेरबहादुर देउवाको काङ्ग्रेसी नेतृत्वको बैठकहरू किन ‘बहिष्कार’ गर्ने ‘घोषणा’ गरे (?) छलफलको विषय बन्यो । नेपाली काङ्ग्रेसको महासमितिमा नयाँ पुस्ताहरूको बाहुल्यता हुने हुँदा आफूहरू फालिनुपर्ने स्थिति देखे होलान् भनी लख काट्नेहरू धेरै छन् ।
एमालेका पूर्व प्रम र महासचिव (?) ले पनि तीन जना नेपाली नागरिकहरूले हस्ताक्षर गरी लाखौं विदेशीलाई नेपाली नागरिकता दिने नीति र विधेयकलाई समर्थन गर्ने सांसद आज प्रचण्डसँग मिलेर किन रडाको मच्चाउँदै छन् (?) भन्ने जस्ता अभिव्यक्ति जनतामाझ व्यापक हुँदैछ । महाकाली सन्धिको बेला ‘पश्चिमबाट सूर्य उदाउने र उपग्रहबाट बिजुली बेच्ने’ कुरा गरेर ओलीको विरोधमा घरमै नजरबन्दीमा पर्दा मोबाइलबाट भारतीय राजदूतावासमा फोन गरी एउटा विद्यालयलाई रू. ५० लाखको हाराहारीमा सहयोग गर्न बिन्ती बिसाउने माधव नेपाल आज प्रचण्डजीसँग किन गला मिलाउँदै छन् भनी अनुमान गर्दै छन् ।
केही अनुमान गर्छन् – विदेशी शक्तिकै इच्छाअनुसार प्रचण्डलाई सत्तामा ल्याउने दाउ हो । अर्काथरीले अनुमान गरे – प्रम घुमाइ–फिराइ एमालेभित्रै पार्ने जाल हो । हुन त अरूको पार्टी फुटाउने र अनेक जालसाझी गर्नमा एमाले एकातिर, अरू शासक दलहरू अर्कोतिर भएको बताउँछन् । नेका र एमाले नेताहरूकै कारण विदेशी हितको विरोध गर्न नसक्दा ४० लाख विदेशी नेपाली नागरिक बने ।
अरूको पार्टी फुटाउन र जुधाउन भूमिका खेल्ने साहसी र सुनकाण्डमा पनि आफै अगुवाइ गर्ने पूर्व गृहमन्त्री वामदेव गौतम प्रधानमन्त्रीका अर्का दावेदार देखिएको चर्चा छ । ओलीको विकल्पमा बरू वामदेव नै उपयुक्त देखाइ ओलीको पद जोगाउने नयाँ खेल बताउनेहरू पनि कम छैनन् । तर केही व्यक्ति पदको मात्रै जपना गर्ने नेका, एमाले, ‘एमाओवादी’ र मधेसवादी दलहरू देश र जनताको हितमा अरू राम्रा कुरा गर्न किन जाँदैनन् भनी आश्चर्य प्रकट गर्छन् ।
‘जनप्रतिनिधि आफै ठेकेदार’, ‘दल असन्तुष्ट’ (समाचारपत्र, २५ असोज, २०७५) व्यापक भइरहेको अवस्थामा एक जना बहादुरले निजगढमा ‘विमानस्थल बनाउनु हुन्न’ भन्नेहरूलाई ‘राष्ट्रघाती’ (राजधानी, २४ असोज २०७५) घोषणा गरेर ‘राष्ट्रवादी’ को अर्को उदाहरण पेश गरे । शिष्टतावस, यस्ता बहादुर र ‘राष्ट्रवादी’ को नाम र आस्था राख्ने राजनैतिक दलको नाम उल्लेख नगर्नु उपयुक्त सम्झियो ।
‘भएको जङ्गल नकाटी हेर्नलाई मात्र राख्ने होइन’ भनी ‘वन देशको धन’ बताउने मन्त्रीहरूको सङ्ख्या कमी छैन । ती वनका काठहरू सस्तोमा दक्षिणमा बेची देशभित्र विदेशी सिमेन्ट, डण्डी र अन्य निर्माण सामग्री महँगोमा र कमसल वस्तु ल्याउनु अर्को ‘राष्ट्रवादी’ अर्थशास्त्र हो । भारतको विहार र यूपीमा कम विमानस्थल हुँदा लुम्बिनी र निजगढमा विमानस्थल बनाउँदा दुवै देशको हित हुन्छ भन्ने तर्क पनि ‘मैत्रीपूर्ण’ अभिव्यक्ति हो । सारनाथ, कुशीनगर र अन्य बौद्ध तीर्थस्थलहरू भारतमा बढी हुँदा विदेशी तीर्थालुहरूलाई ५–१० मिनेट लुम्बिनीमा भ्रमण गराई भारतमा तीर्थातन गराउनु पनि ‘मैत्रीपूर्ण’ उद्देश्य हो । तर विकासशील देशहरूले सोच्नुपर्ने एउटा मन्त्र हो – कथंकदाचित युद्ध भयो भने पहिले विमानस्थलमाथि हमला हुन्छ र त्यसमा टेकेर शत्रु सेनाले राजधानी हान्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *