भर्खरै :

‘चिकित्सकहरूले सेवाको भावनाले उपचार गर्नुपर्छ’

भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाली चिकित्सकहरूले क्युवाली चिकित्सकहरूबाट सेवा गर्ने भावना सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
‘आँखा सबैको लागि’ भन्ने मूल नाराका साथ भक्तपुर सामुदायिक आँखा केन्द्रको आयोजनामा बिहीबार सम्पन्न विश्व दृष्टि कार्यक्रममा प्रमुख प्रजापतिले क्युवाली डाक्टरहरू संसारकै उत्कृष्ट रहेको र संसारको कुनै पनि ठाउँमा गएर काम गर्नसक्ने क्षमता भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेपाली डाक्टरहरू पचासौं लाख खर्च गरेर निजी मेडिकल कलेजबाट उत्तीर्ण भएको हुँदा तिनीहरूमा सेवा गर्नेभन्दा पैसा कमाउने सोच देखिएको बताउँदै भन्नुभयो –‘‘सरकारले चिकित्सा शिक्षा निःशुल्क पढाउने व्यवस्था गरेको खण्डमा सरकारले जहाँ पठाए पनि डाक्टरहरू गएर बिरामीको सेवा गर्छन् । तर निजी पैसा खर्च गरी पढेर आएकाहरू सरकारी जागिरप्रति आकर्षित हुँदैनन् । अझ पाँच हजारभन्दा बढी डाक्टरहरू विदेशिएका छन् ।
भनपाले स्वास्थ्य क्षेत्रमा करोडौं पैसा गरिरहेको उल्लेख गर्दै उहाँले नेपाल सरकारले विनाभेदभाव ख्वप विश्वविद्यालय स्वीकृति दिएमा सस्तो र गुणस्तरीय चिकित्सकहरू भनपाले तयार गर्ने बताउनुभयो ।
जनताको सुविधाको लागि भक्तपुरमै आँखा अस्पतालको भवन निर्माण गर्ने तयारी पनि भइरहेको बताउँदै उहाँले जनप्रतिनिधिहरूले भक्तपुरको चौतर्फी विकासको लागि काम गरिरहेको प्रस्ट पार्नुभयो ।
जिल्ला जनस्वास्थ्य केन्द्रका प्रमुख कृष्णबहादुर चन्दले आँखा अस्पतालले भक्तपुरका जनतालाई निकै सुविधा पुगिरहेको बताउँदै समयअनुसार थप सुविधाहरू प्रदान गर्दै जानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
जनस्वास्थ्य केन्द्र भक्तपुरका इञ्चार्ज डा. रत्नसुन्दर लासिवा, सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख एवं आँखाविज्ञ धिरज अधिकारीले आँखा रोगको उपचार विधि र आँखा रोगसम्बन्धी नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो ।
नेपालमा करिब एक लाख जनसङ्ख्या दृष्टिविहीन भएको र तीमध्ये ६६ प्रतिशतको उपचार सम्भव भएको बताइयो । समयमा उपचार गरेमा धेरैजसो रोगहरूको उपचार सम्भव भएको विज्ञहरूबाट व्यक्त भयो ।
सामुदायिक आँखा केन्द्र भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित छ । च्याह्मासिंह केन्द्रमा दैनिक ८० देखि १०० जनाको आँखा जाँच हुन्छ । केन्द्रको प्रमुख नगर प्रमुख हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *