भर्खरै :

सहकारीको मौसम

देशमा दसैंमात्र आएको छैन । गाउँ–गाउँ र नगरका वडा–वडामा सहकारी संस्थाहरूको साधारणसभाको लहर पनि सँगै आएको छ । घर–घरका के वयस्क, के युवा, के केटाकेटी सबै जना अहिले सहकारी संस्थाका कार्यक्रममा सहभागी बनिरहेका छन् । सामाजिकीकरणको नयाँ अभ्यास समाजमा भइरहेको छ । ज्येष्ठ नागरिक सम्मानित भएको महसुस गरिंदै छ । चुकोचुल्होमा सीमित भनिएका महिला आज दबुमा उभिएर समाजलाई नयाँ सन्देश दिइरहेका छन् । स्थानीय रुपमा उपलब्ध सांस्कृतिक नाचगान र सम्पदाले पुनर्जीवन पाएका छन् । सामाजिक गतिविधिमा सहभागी बन्न चाहनेलाई थुपै्र सङ्ख्यामा दबुहरू बनेका छन् । आजको समाजमा यो नै सामाजिकीकरणको महत्वपूर्ण पाटो बनिरहेको छ ।
सहकारी आर्थिक गतिविधिमात्र होइन । त्यसरी सोच्नु सहकारीको बहुआयामिकतालाई साँघुरो घेरामा मात्र सीमित राखेर हेर्नु हो । आर्थिक सेतुले जोडिएको सामाजिक अभियान नै सहकारी हो । कसैलाई आपत पर्दा ऋण लिन र आर्थिक गतिविधिको भरोसा नै सहकारी संस्था बनेका छन् एकातिर भने समाजमा विपन्न परिवारलाई पनि गरी खाने मेलो सहकारीबाट नै प्राप्त हुँदै आएको छ । तर सहकारी भनेको पैसाको लेनदेनमात्र होइन । समाजमा सामूहिकताको भावना नै सहकारीको मूल भावना हो । सामूहिक रुपमा सबैको हित गर्ने विचार नै सहकारीको सिद्धान्त हो ।
त्यसको लागि सहकारीहरूले आफ्ना गतिविधिलाई औपचारिकतामा मात्र सीमित राखिनु हुन्न । आर्थिक गतिविधिलाई मात्र प्राथमिकता दिएर सहकारीको दायित्वअन्तर्गत पर्ने सामाजिक गतिविधिलाई ओझेलमा पार्नु सहकारीको भावनाविपरीत हो । सहकारी संस्थाले आफ्नो संस्थामा आबद्ध सदस्यहरूको बहुआयामिक हितलाई नै केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउनु उपयुक्त हुन्छ । सदस्यको शिक्षा, स्वास्थ्य, सीप विकास, इलम, व्यक्तित्व विकास, समाजको सांस्कृतिक गतिविधि, समाजमा राम्रो संस्कृतिको विकास नै सहकारीले ध्यान दिन आवश्यक क्षेत्र हुन् ।
पुँजीवादी बन्दोबस्तले हरेक कुराको नापतौल पैसा र पुँजीबाट मात्र गर्ने गर्दछ । पुँजीवादले सहकारीको उच्चतम सामूहिक भावनालाई समेत विकृत बनाउने गरेको छ । सहकारीलाई आर्थिक लेनदनको थलो र नाफाघाटाको तुलोको रुपमात्र परिभाषित गर्दा सहकारी संस्थाहरूमा अनेकन विकृति पनि नमौलाएको होइन । बढी व्याजदर दिने भन्दै जनतालाई लोभमा फसाएर हजारौं जनतालाई विलखण्डबन्दमा पारेका बद्मास सहकारी पनि छन् । त्यस्ता सहकारीका कारण धेरै जनताको जीवन उजाडिएको पनि छ । विडम्बना सरकार आफैं त्यस्ता बदमास सहकारीका सञ्चालकका संरक्षण बनेका छन् । जनतालाई भन्दा पुँजीपति वर्गलाई आफ्नो भरोसा मान्ने शासक वर्गबाट त्योभन्दा बढी अपेक्षा कसरी गर्न सकिएला र ?
सहकारी क्षेत्रमा आज देशैभरि आएको उभारले समाजलाई सकारात्मक दिशातिर लाने आशा गर्न सकिन्छ । तर त्यसको पूर्वशर्त भनेको सहकारीलाई मौलिक अवधारणामा आधारित रहेर पुँजीवादी विषबाट जोगाउनु हो । सहकारीलाई नीतिगत रुपमा पनि बलियो बनाएर राज्यले सकारात्मक कदम चालेको छ । तर राज्यका नीतिमा रहेका छिद्रबाट आफ्नो दुनो सोझ््याउने पददलितहरू पनि समाजमा त्यत्तिकै छन् । तिनलाई तह लगाउने जिम्मेवारी भनेको राज्य हो । सरकारका सम्बन्धित निकायले यसमा कडाई गर्नैपर्छ ।
सहकारीको सकारात्मकता जोगाउन सहकारीका सञ्चालक र सदस्यले सहकारी र सामूहिकताको भावनाप्रति इमानदार बन्न जरुरी छ । सहकारीलाई व्यापारको रुपमा हेर्ने आँखाले भने सहकारीमा फोहोरमैलामात्र गर्ने हो, सामाजिक सहकार्य गर्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *