भर्खरै :

स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा

काठमाडौं, २६ असोज । सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् ।
स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वस्थकर छैन । यस वृद्धाश्रमको प्रवेशद्वारमै पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित सार्वजनिक शौचालय रहेको छ । शौचालयको सफाइमा ध्यान दिएको देखिंदैन । शौचालयकै कारण वातावरण प्रदूषितमात्रै बनेको छैन, यहाँ बस्ने वृद्धवृद्धाको स्वास्थ्यमा समेत त्यसले प्रतिकूल असर पारिरहेको छ ।
यस वृद्धाश्रममा खानेपानीको पनि अभाव रहेको छ । स्वच्छ पानी पिउन पनि उनीहरूले पाएका छैनन् । विकास निर्माणको नाममा खन्ने र भत्काउने काम हुँदा खानेपानीको व्यवस्था बिथोलिएको छ । त्यसको पुनःनिर्माण गरिएको छैन ।
भूकम्पपछि यहाँका भवनहरू अस्तव्यस्त छन् । यहाँ रहेका भवनहरू जीर्ण छन् र बस्न योग्य छैनन् । भवनको कमीका कारण सयौं वृद्धवृद्धा कोचिएर बस्नुपर्छ । हाल यहाँ १६० वृद्धवृद्धा छन् । पुरूष ६५ र महिला ९५ जना छन् । तिनीहरूमध्ये ३५ जना अशक्त छन् ।
आश्रममा रहेका करीब ४० प्रतिशतले मात्रै वृद्धभत्ता पाउने गरेका छन् भने बाँकीले पाएका छैनन् । नागरिकता प्रमाणपत्र नभएका कारण उनीहरूले वृद्धभत्ता नपाएका हुन् । नागरिकता प्रमाणपत्रको व्यवस्था गरिदिन उनीहरूले आग्रह गरेका छन् । नागरिकता प्रमाणपत्र नभएकै कारण उक्त वृद्धाश्रमका वृद्धवृद्धा सरकारले व्यवस्था गरेको एकल भत्ता, अपाङ्ग भत्तालगायतका सेवा सुविधाबाट वञ्चित छन् ।
देशभित्र र बाहिरका दाताहरूको सहयोगमा सञ्चालन भइआएको यो देशकै सबैभन्दा पुरानो
वृद्धाश्रम हो र यसको सञ्चालन नेपाल सरकारले गर्दै आएको छ ।
यहाँ खानाको लागि दैनिक करीब रू. ३३ हजार खर्च लाग्छ । त्यसको व्यवस्थापन दाताले गर्ने गरेका छन् । खानाको लागि नेपाल सरकारले वार्षिक रू. एक करोड विनियोजन गरे पनि उक्त रकम फ्रिज हुने गरेको छ । दाताले दिएको बजेटले खानाको व्यवस्थापन हुने गरेको वृद्धाश्रमका कार्यालय सचिव मनोज बस्नेतले जानकारी दिनुभयो ।
सचिव बस्नेतले भन्नुभयो – “खानाका लागि दैनिक ३३ हजार रूपैंयाँ आवश्यक पर्छ । दाताबाट प्राप्त हुने सहयोगले नै पुग्छ । धेरै वृद्धवृद्धालाई आँखामा समस्या हुने गरेको छ । हामीले तिलगङ्गा आँखा अस्पतालसँग सहकार्य गरी उपचार गराउने गरेका छौं ।”
स्वास्थ्य परीक्षणको लागि हप्तामा तीन दिन डाक्टरको सहयोग लिने गरिएको छ । संस्थामा वृद्धवृद्धाको उपचारार्थ एक सरकारी स्वास्थ्य परिचारिका छन् भने एक गैरसरकारी परिचारिका छन् ।
आश्रममा जीर्ण भवन नै मुख्य समस्याको रूपमा रहेको सचिव बस्नेतले बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आश्रमको प्रवेशद्वारमा रहेको सार्वजनिक शौचालय एक हप्ताभित्र सफा गरी बन्द गर्ने र आधुनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिला तथा सामाजिक समितिका सभापति निरूदेवी पालले पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय तथा खानेपानीको समस्या एक हप्ताभित्र समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ वृद्धमैत्री खुला ठाउँ र भवन निर्माण गरिनुपर्छ ।कृतिक कार्यक्रम देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *