भर्खरै :

मन्टेश्वरी सिद्धान्त र महत्व

लक्ष्मीभक्त बासुकला
डाक्टर मारिया मन्टेश्वरीको सिद्धान्तमा आधारित पहिलो मन्टेश्वरी स्कूल वा पूर्व प्राथमिक कक्षा नेपालमा सन् २००६ सालतिर प्रादुर्भाव भयो । युरोपेली महादेशको इटालीको चिराइटे भन्ने स्थानमा ३१ अगस्ट १८८० मा जन्मिएका डा.मारिया मन्टेश्वरी पेशाले फिजिसियन भए पनि उनको इच्छा र आकाङ्क्षा सुस्त मनस्थिति भएका बालबालिकाहरूको अनुसन्धान कार्य प्रारम्भ गरेपछि आफ्नो कार्यमा सफल र अवल देखिइन् । इटालीको एक सुकुमवासी क्षेत्रमा विद्यालयमा निर्देशकको रुपमा कार्य गरी उनले धेरै अनुभवहरू बटुलिन् । साना बालकहरूको निम्ति काम गर्नु वयस्कहरूको सेवा गर्नुभन्दा कठिन कार्य रहेछ भन्ने विश्लेषण गरे पनि बालकहरूको खास क्षमता अभिवृद्धि र कार्यगत परिवर्तनबारे कठिन कार्य ठानियो । यद्यपि आफ्नो अनुसन्धान कार्यमा विनाविचलित अनेक बाधाअड्चनसमेत जुझेर लागिरहिन् । फलस्वरुप उनले सुस्त मनस्थितिका बालबालिकालाई ओखती गर्नुभन्दा विद्यालय शिक्षण गर्नु उचित हुन्छ भन्ने कुरा अध्ययनबाट पत्ता लगाइन् । अनि त्यस्तै सामान्य बालक र सुस्त मनस्थितिका बालकहरूको पढाइमा तात्विक भिन्नता नभएको कुरा बताइन् । उनको सिद्धान्तको कुरा भनेको सुस्त मनस्थितिका बालक र साधारण बालकको पढाइमा तात्विक भिन्नता नभएको भन्ने हो । त्यस्तै बालकलाई व्यवहारिक शिक्षा (Practical Education) दिनुपर्छ र बनावटी शिक्षा बेकार हो भनी मूल सिद्धान्त प्रतिपादन गरे ।
त्यस्तै विभिन्न अनुसन्धानकै बेलामा धेरै उतारचढाव हुँदै गए पनि आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिई नै रहिन् । उनलाई धेरै पछि इटालीको सानलोरेनस विद्यालयमा पुनःसंरचना गरिदिन बारम्बार निमन्त्रण आइरह्यो । त्यस्तै साधारण बालकहरूको उमेरको बारेमा १९०७ मा अध्ययन गरे जुनबेला इटाली विश्वविद्यालयमा आफ्नो अध्ययन पनि नियमित राखिन् । उनले यस्तो कार्य थालनी गर्दा कक्षा कोठा नै प्रयोगशालाको रुपमा हुनेगथ्र्यो । उनी आफ्नो विचारलाई सिद्धान्तमा मात्रै सीमित नगरिकन अभ्यासमा व्यस्त राख्थिन् । फलस्वरुप आफ्नो कार्यबाट उनले धेरै सफलता प्राप्त गरिन् । पछि युरोप र एसिया महादेशका विभिन्न देशहरूमा आफ्नो अध्ययन अध्यापनको सिलसिलामा पत्ता लागेका कुराहरूबारे अरुलाई प्रवचन दिई नयाँ सिद्धान्तबारे प्रचार प्रसार गर्न हिंडिन् । उनले यस मन्टेश्वरी सिद्धान्तका बारेमा १५ वटाभन्दा बढी पुस्तकहरू लेखिन् र शिक्षासम्बन्धी विभिन्न अन्य लेखहरू पनि लेखिन् । उनको १९५२ मा ८२ वर्षको उमेरमा इहलीला भयो ।
उनले प्रतिपादन गरेका पुस्तकहरूमा बालकहरू वातावरणबाट आफै सिक्ने, बालकहरू आफ्नै किसिमका विलक्षण विशेषता भएका र आफै आफ्नो क्षमता विकास गर्न सक्षम हुन्छन् भनेका छन् । त्यस्तै बालकहरूसँग भएका सक्षमता अरु वयस्कहरूसँग भएका सक्षमता तुलना गर्न नसकिने बताएका छन् ।

मारिया मन्टेश्वरी


उनी कोबाट प्रभावित भइन् र के गरिन् ?
डा. मारिया मन्टेश्वरी दुई जना फ्रान्सेली अनुसन्धानकर्ता ‘जीन इटाई र इडोर सेगुइन’ बाट ज्यादै प्रभावित थिइन् । किनकि उनीहरू बालकहरूबारे विभिन्न अनुसन्धान गरी पत्ता लागेका कुराहरू पत्रिकामार्फत प्रचार प्रसार गर्ने गर्थिन् । त्यसलाई मन्टेश्वरीले अक्षरशः अध्ययन गर्ने गर्थिन् । उनीहरूकै प्रभावबाट एक संस्था जसको नाम The State Orthophrenic School खोली उक्त संस्थासँग आबद्ध भएर धेरै अनुसन्धानलाई अगाडि बढाइन् । उनीहरूको अनुसन्धानले मन्टेश्वरी सिद्धान्तमा सुस्त मनस्थिति भएका बालकहरू र सामान्य बालकहरूमा खास अर्थपूर्ण भिन्नता नभएको देखाइएको थियो । उनीहरूका काम अध्ययन गर्दै १९०४ मा पी. एच. डी. प्राप्त गरी इटाली विश्वविद्यालयमा उनी प्रोफेसरसमेत भइन् । उनले विद्यालयमा अनुसन्धान कार्य पनि जारी राखिन् ।
यद्यपि उनले खोलेका विद्यालयको नाम इटालीमा Case dei Bombini भनिन्छ । जसलाई अङ्ग्रेजीमा Italian for Children’s House र नेपालीमा बालबालिकाहरूको घर भन्ने गरिन्छ । उनले साधारणतया बालकहरूको सिकाइ प्रक्रिया र शिक्षण तरिकाबारे नयाँ ज्ञान प्रदान गरिन् । उनको भनाइमा बालकहरूको सिकाइमा निम्न कुराहरूले असर पार्दछ ।
१. प्रत्येक बालकहरूमा जन्मदेखि नै बौद्धिक क्षमता हुन्छ तर उनको क्षमताको भिन्नता भने वातावरणले दिन्छ ।
२. बालकलाई सिकाइको उपयुक्त वातावरण दिइएको खण्डमा उनको मानसिक र बौद्धिक विकास तीव्रगतिमा हुन्छ । बाल्यकालमा बालकको सचेतनामा विकास गरी समन्वय मिलाउन आवश्यक छ ।
३. बाल्यकालमा सिकाइलाई टेवा पु¥याउने वातावरण पनि त्यस्तै बनाउनुपर्दछ । यसका लागि सिकाइ सामग्री पनि आवश्यक हुन्छ ।
४. बालकलाई घर बाहिरको वातावरण या प्राकृतिक वातावरणमा खेल्न प्रोत्साहन गर्ने । जस्तैः माटो, पानी, बालुवा, गिर्खा, पात आदिसँग खेल्ने र नयाँ नयाँ जानकारी गर्ने ।
उदाहरणको लागि
१. माटोबाट विभिन्न आकार बनाउने
२. विभिन्न पात र पूूmलको चित्र कोर्ने
३. पातको मद्दतले चित्र कोर्ने
४. पात, फूल र ढुङ्गाहरू जम्मा गरी सजावट गर्ने आदि ।
मन्टेश्वरी शिक्षाका विशेषता (characteristics)
मन्टेश्वरी शिक्षा बालबालिकाको लागि अति नै महत्वपूर्ण छ । त्यसैले यसको महत्वलाई आत्मसात गरी संसारका धेरै देशहरूमा प्रयोग भइरह्यो । आज २१ औं शताब्दीमा आएर पनि यसको महत्व घटेको छैन । अमेरिकामा त मन्टेश्वरी शिक्षालाई महत्व दिई मन्टेश्वरी समाज संस्था स्थापना गरिएको छ । नेपालमा विक्रम संवत् २००६ मा मन्टेश्वरी शिक्षामा आधारित कक्षाहरू सञ्चालन गरिए । पछि मन्टेश्वरी शिक्षालाई विद्यार्थीले अभ्यास शिक्षण गर्ने थलोको रुपमा विकास गरियो ।
मन्टेश्वरी शिक्षा भनेको नै वातावरण, वातावरणीय र प्राकृतिक वस्तुहरूको आधारमा अध्यापन गरिने हो । उनीहरूले कुनै किसिमको दबाब, इच्छाविरुद्धको शिक्षालाई नकारेका छन् । तर प्रत्येक बौद्धिक मानिसहरूले बालबालिकाहरूको विकास, उन्नति र प्रगति एवम् दर्शनशास्त्रबारे आधारभूत ज्ञान राख्न अत्यन्त जरुरी हुन्छ । मन्टेश्वरी शिक्षा सा¥है महँगो, गरीबीको रेखामुनिका व्यक्तिहरूको पहुँचभन्दा बाहिरको भनेर हावा फैलाइएको छ र अनि मन्टेश्वरीको नाममा व्यापारिक केन्द्र बनाउनेहरूको जमात पनि कम छैन । मन्टेश्वरी शिक्षा भनेको प्रचलित विश्वव्यापीकरण शिक्षा र विकसित उन्नत शिक्षासँग किमार्थ पृथक छैन । उनीहरूसँग गरिने व्यवहार र शिक्षण सिकाइमा मात्रै फरक छ तर शिक्षासँग अलग छैन । यी सिद्धान्तका आधारभूत कुराहरू एक पटक मानसपटलमा आगमन भएपछि दैनिक जीवनमा विभिन्न सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउन अनुकूल परिस्थितिको आगमन हुन्छ । त्यसैले डाक्टर मारिया मन्टेश्वरीले आफ्नो सम्पूर्ण ध्यानहरू केन्द्रिकृत गरी फरक–फरक अवस्थाहरूमा पृथक ढङ्गले बालबालिकालाई सहज र सरल सिद्धान्तको आधारमा हाय्ण्डील गर्ने र ड्रील आदि गर्ने प्रशस्त अध्ययन र अनुसन्धान गरी आफ्नो पौरखी सिद्धान्त निकालिन् । त्यस्ता किसिमका गहिरो र गहकिलो अध्ययन अनुसन्धानले सारा विश्वका बालबालिकाहरूमा हुने साझा विशेषताहरू पहिचान गरी सुस्त मनस्थितिका बालक र सामान्य बालिकाबीच अध्यापन कार्यमा तात्विक भिन्नता नभएको सिद्धान्त उनले प्रतिपादन गरे । अनि बालकहरूमा निम्न विशेषताहरू भएको कुरा उनले स्पष्ट पारे ।
१. बालकहरूमा सिक्ने क्षमता हुन्छ । (Learning capacity)
२. बालकहरूमा सचेतना प्रक्रियागत रुपमा पार गर्छन् ।(To cross the process of sensitivity)
३. बालकहरूमा सिक्ने चाहना उत्तिकै हुन्छ । (Much Learning interest)
४. बालकहरू खेल (खेलको माध्य) सिक्नबाट खोज्दछन् । (Learning by Playing)
५. बालकहरू विभिन्न चरणहरू पार गर्दछन् ।(Cross the different stages of children)
६. बालकहरू स्वतन्त्र आत्मनिर्भर हुन चाहन्छन् । (Free and Self dependent of children)
बालकहरूको सिक्ने क्षमता(Learning capacity)
बालकहरू मौलिक रुपमा वयस्कभन्दा फरक किसिमको सिक्ने, सोच्ने र व्यवहार गर्न खोज्दछन् । मन्टेश्वरी सिद्धान्तअनुरुप सिक्ने क्षमतालाई absorbent mind भनिएको छ । उनीहरुको सिक्ने क्षमता दुई चरणमध्ये unconscious थाहा नै नपाइकन ० देखि ३ वर्षसम्मको उमेरमा र अर्को चरण ३ देखि ६ वर्षको उमेरमा सचेतना तरिकाले (consciously) सिक्दछन् । सिक्न आफै गरेर, अरुसँग सोधेर, हेरेर आफूलाई मनपर्ने कुराहरू सचेतनात्मक किसिमले सिक्ने गर्दछन् । बालकहरूले खेल, गीत, नाच, बाजागाजा इत्यादिको सहयोगले पनि जीवनको लागि महत्वपूर्ण सकारात्मक परिवर्तन हुने खालका कुराहरू सिक्दछन् । यो ज्यादै महत्वपूर्ण हुन्छ । त्यस्तै बालकहरूले गर्ने अभ्यास पनि अति नै लाभप्रद र महत्वका छन् । ० देखि ३ वर्षको उमेरमा धेरै कुराहरू अज्ञानमा नै सिक्ने गर्दछन् । त्यसलाई अचेतन सिकाइ भनिन्छ । त्यसको निम्ति अभिभावकले सिकाइमा त्यति इफोर्ट गर्नुपर्दैन । कुनै पनि बालक संसारको कुनै पनि क्षेत्रमा जन्मेको किन नहोस् या चीन, जापान, अफ्रिका, अमेरिका, अष्टे«लिया आदिमा भए पनि छालाको रङ्ग आकारमा भिन्नता होला तर अरु कुनै पनि कुरामा भिन्नता हुँदैन । खालि हुर्कंदा, हेमखेम हुँदा, बस्दा, भाषा, सामाजिक मर्यादा, रीतिरिवाज, चालचालन संस्कृति आदि वातावरणले मात्र फरक हुने कुरा हुन्छ । वातावरणअनुसार भाषा, संस्कृति सिक्ने कुराहरू फरक–फरक हुन्छन् ।
सचेतनाको अवस्था (condition of sensivity)
० देखि ६ वर्षको उमेरका बालकहरूको सिक्ने क्षमता बढी मात्रामा हुन्छ । यस अवस्थासम्म बालकको आफ्नो जीवनउपयोगी ज्ञानहरू ८० प्रतिशतसम्म सिकिसकेको हुन्छ । अरुलाई व्यवहार गर्ने, सरसफाइ, बानी व्यहोरा, लेख्ने प्रतिभाका कुराहरू प्रस्फुटन भइसकेको हुन्छ । त्यसैले यस उमेरमा बालकलाई सचेतनाको अवस्थाको नामले संज्ञा दिने गरिन्छ । ० देखि ३ वर्ष उमेरका बालकहरू अचेतनात्मक किसिमले सिके पनि केही अंशहरू सम्झिरहने वा सचेतनात्मक क्रियाकलापमा मद्दत पु¥याइरहेको हुन्छ । त्यसपछिको उमेर केही काम गर्न खोज्यो भने सोध्ने, प्रश्न गर्ने, जिज्ञासा राख्ने र अभ्यासमा बढी व्यस्त देखिएको हुन्छ । यसमा अभ्यास र मूल सिद्धान्तबाट सिक्ने हुन्छ । कुनै नयाँ चीज वा वस्तु देख्यो भने छुन खोज्ने, सामान लिएर ओल्टाईपल्टाई हेरी त्यसको प्रयोग गर्न खोज्ने वा बिगार्न खोज्ने हुन्छ । यदि हामीले यस्तो कुरालाई बाल मनोविज्ञानको सिद्धान्तअनुसार आत्मसात गर्न सकिएन भने गल्ती गर्ने, यति पनि गर्न नसक्ने, बिग्रेको केटा, जे पनि बिगार्ने भने नकारात्मक संवेगका कुराहरू गर्न थाल्दछ । त्यस्तै सचेतन अवस्थामा बालकहरू अति चकचके, चुलबुले, खेल खेल्न खोज्ने, आफूभन्दा ठूलालाई जिस्काउने र अनि कार्य गर्न खोज्दा किन यस्तो भएको, कसरी भएको, यस्तो किन नभएको भनी आफै प्रश्नहरू गरी अनुभवहरू गरिरहेका हुन्छन् । यसरी क्रमबद्ध रुपमा अचेतनात्मक सिकाइबाट सचेतनात्मक सिकाइतिर मोडिन थालेको अवस्था हो । यो कुरा नै यथार्थ र वास्तविक रुप हो । यस अवस्थालाई बालकको ज्ञानको भोक Hurgry for the Knowledge भन्ने गरिन्छ । उनीहरूको मस्तिष्क खाली हुँदैन यद्यपि अनुभवको कमी भएकोले white paper जस्तै हुन्छ रे । त्यसमा ज्ञानात्मक कुराहरू, सीपहरू मस्तिष्कमा क्रियाकलापको अनुभवद्वारा भर्दै जान्छन् । ती अनुभवहरू खेलेरर, हेरेर, गरेर, पढेर, सुनेर गर्दै जान्दछन् र मस्तिष्कमा कोर्दै जान्छन् । प्रयास र भूलबाट सिक्ने प्रवृत्ति हावी हुँदै जान्छ । स्वतन्त्रपूर्वक सिक्ने प्रोत्साहन हुँदै जान्छ र नयाँ नयाँ कुराहरू सिक्न थाल्दछन् । स्वतन्त्रपूर्वक सिकाइ र सिकाइ प्रोत्साहनले बालकहरूको अन्तरनिहित क्षमता अभिवृद्धि बढ्दै जान्छ अनि चुलबुले भई धेरै वस्तुहरूसँग चलखेल गर्ने, उचाल्ने, फाल्ने, गुडाउने, हान्ने, फ्याँक्ने आदि कार्य बढी गर्नाले रक्षात्मक गतिविधि, वस्तुहरूको पहिचान र सुरक्षाबारे आफै पहिचान गर्छन् । यसरी सिक्ने कार्यलाई सचेतनाको अवधि भन्ने गरिएको छ ।
यस उमेरका बालकहरू हामीले यसो गर, उसो गर, यो गर्नुहुन्छ र यो हुन्न भनेर भन्नु, सहज र सजिलो भए पनि उनीहरूले यी कुराहरू मन पराउँदैनन् । आफूलाई मनपरेको र रुचिअनुसार नै गरेको हुन्छ । ठीक बेठीक, फाइदा, बेफाइदा, गर्न हुने नहुनेसित कुनै सरोकार नै राख्दैनन् । यस्ता कुराहरू मन्टेश्वरीको सिद्धान्तले धेरै अनुसन्धान र खोजीनीति गरी धेरै कुराहरू प्रमाणित गरिसकेका छन् कि बालक आफैले गरेर बढीभन्दा बढी सिक्दछन् न कि सिकाएर वा हामीले मुखले भनेर । बालकहरूले खतरा मोल्ने खालका कुराहरूमा तातो वस्तु छुनु, ताप्के निकाल्नु, विद्युतीय वस्तुहरू एवम् सामग्रीहरू सञ्चालन र प्रयोग गर्नु आदि हुन् । ती कार्यहरू गर्न निकै कसरत र लामो अनुभवको खाँचो पर्दछ । मन्टेश्वरी सिद्धान्तले आफै गरेर सिक्ने, समस्या झेलेर, भूल र अभ्यास गरे आफै समाधान निकाल्न सिकाउँदछ ।
बालकहरूमा आफूलाई आवश्यक जीवन उपयोगी सीपहरू, क्षमताका अभिवृद्धि कार्यहरू विभिन्न माध्यमले भइरहेको हुन्छ । ती अभिवृद्धि र उपलब्धि उनीहरूको आफ्नो इच्छा र चाहनाको प्रतिफल हुन्छ किनकि अनुभव र इच्छा शक्तिविनाको उपलब्धि भन्नु काल्पनिक र अर्थ न वर्थको हुन्छ । उनीहरूको इच्छा शक्ति, चाहना र मनको कुरा पत्ता लगाउने कार्य निकै कठिन छ । यसमा केही हदसम्म बालमनोविज्ञानले कार्य गर्दछ । ३ वर्षका बालबालिकालाई यदि सुपर मार्केट वा सपिङ्ग सेन्टरमा आफूसँग लगियो भने आफूलाई मनपर्ने वस्तुहरू, चीजहरू, बलहरू, पुतलीहरू रोइकराइ लिन खोज्छन्, पिरोल्न थाल्दछन्, दिइएन भने रुन थाल्छन्, भुइँमा लडीबुडी खेल्न थाल्दछन् ।
उदाहरणको लागि, ‘एक दिन ३ वर्षको बालक नवीन आफ्नो अभिभावकसँग बजार घुम्न गयो । आमाबाबुले उनको मनपर्ने कुरा भकुण्डो हो भनेर एउटा भकुण्डो किनेर दिने विचार गरे । नवीनले भकुण्डो लिन मानेन र त्यसको सट्टा पुलिसको पोशाक किन्न कर गर्नथाल्यो । आमाबाबुले पुलिसको पोसाक किन्न आनाकानी गरिरहे । अरु चीजहरू किन्न फकाउन थाले । गाली गरे, पिटाइ गर्न खोजे, त्यो देखेर नवीनले बाटोमा लडीबुडी गर्नथाले । आमाबाबुलाई त्यो पुलिसको पोसाक किनिदिन करै लाग्यो । अन्ततः अरुसँग रकम सापटी लिई पोशाक किनिदिन बाध्य भयो । प्राप्त वस्तुलाई ओल्टाई फर्काई घुमाउने, तलमाथि गर्ने, चलाउने आदि आफ्नो इच्छाअनुसार गर्छन् । त्यसो गरियो भनेर आमाबुबाले खराब केटो, बदमास, फटाहा, भुरा आदिले संज्ञा दिंदा आफूमाथि जाई लाग्छ वा चुप लागेर बस्छ र मनमा नकारात्मक कुराहरू सोच्न थाल्दछ । मन्टेश्वरी सिद्धान्तमा नयाँ वस्तु दिएर नै नयाँ ज्ञान प्राप्त गरिन्छ र सिकिन्छ भनिएको छ । नयाँ वस्तु प्रयोग गर्ने ज्ञानको चक्षुद्वारा चेतनात्मक ढङ्गले ज्ञान प्राप्त गर्दछ । सिक्नु र ज्ञान प्राप्त गर्नु भनेको बौद्धिक विकास हो । त्यसैले बालक जिज्ञासु भएर हरेक प्रश्नको जवाफ दिने कोशिश हामी अभिभावकले गर्नुपर्दछ । त्यसको निम्ति एकपटक लागू गर्न निकै कठिन हुन्छ र पछि बुझ्दै गएपछि त्यति अनावश्यक नियन्त्रणको जरुरत नपर्ने हुन्छ । तर सिक्ने कुरामा बाधा, अड्चन र भाजो किमार्थ हाल्न हुँदैन । यदि अड्चन वा बाधा हाल्न खोज्यो भने आफूले गर्ने इच्छा शक्ति मर्नसक्छ । त्यसैले बालकलाई यी कुराहरू गर्न प्रयास गर्नुपर्दछ ।
१. आफै सिक्ने शिक्षा
२. स्वयं निर्देशित सिकाइ
३. स्वतन्त्रतामा सीमितता
४. स्वतः स्फूर्त अनुशासित
५. बालक र गुरुको आदर
६. तह र समुदायका नियम
७. सफलता अगाडि असफलता
८. आफै गर र सिक
९. बहु उमेरका बालक मिश्रित
१०. दण्ड र पुरस्कार नगर्ने
११. वातावरणीय सहजता
मन्टेश्वरी सिद्धान्तले बालकलाई नवीन ढाँचामा सिकाउने क्षमता अभिवृद्धि गराउने, असल, भविष्य सुनिश्चित गर्न लगनशील र परिश्रमी व्यक्ति तयार गर्ने, आफै गरेर सिक्ने क्षमताको अभिवृद्धि गराउने, अरुसँग स्वच्छ प्रतिस्पर्धा गर्ने र गराउने, विश्वास र आत्मबलको सृजना गर्ने र जागृत गराउने, अरुसँग मित्रवत् व्यवहार गर्ने, आशावादी हुने, आफै निर्देशित भई सिक्ने मूल आधार नै मन्टेश्वरी शिक्षाका सिद्धान्त हुन् ।
स्रोत ः प्रभात बुलेटिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *