भर्खरै :

राजनीतिक र सांस्कृतिक स्तर उठाउन प्रशिक्षण आवश्यक

भक्तपुर, २७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सहकारीले आर्थिक प्रगति गरेर सेवा सुविधा दिएझैं सदस्यहरूको राजनीतिक र सांस्कृतिक स्तर उठाउन प्रशिक्षणात्मक कार्यक्रम गर्नुपर्ने बताउनुभएको छ ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको बाँसुरी बाजाको मङ्गल धुनमा समुद्घाटन गर्दै उहाँले सरकार दूरदर्शी नभएको कारण केन्द्र, प्रदेश र स्थानीय तहको अधिकारबारे अन्योल भइरहेको बताउनुभयो ।
सङ्घ राज्यको व्यवस्थापन भद्रगोल भएको हुँदा प्रदेशका मुख्यमन्त्रीहरू नै सन्तुष्ट नभएको औंल्याउँदै अध्यक्ष रोहितले विगतमा दलित राज्य र महिलाहरूको प्रदेशको प्रस्तावसमेत ल्याएको स्मरण गराउनुभयो ।
राजनीतिक चरित्र नभएका व्यक्तिलाई निर्वाचित गरेर नेपालको नाम र नेपालको झण्डासमेत फेर्ने प्रस्ताव ल्याएर उपद्रव गर्न लागेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘जनतालाई राजनीतिक दलको सिद्धान्त र विचार बताएरभन्दा लाखौं–करोडौं खर्चेर निर्वाचन जित्ने पुँजीवादी व्यवस्थाले गर्दा देश अन्योल र अनिर्णयको बन्दी बनिरहेको छ । अर्काको बुद्धिमा लागेर सरकार छोड्नुपर्ने स्थितिमा छ ।’’
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सिर्जना सैंजूले प्रदेशसभा सिद्धान्त र विचारको लडाइँ गर्ने थलो हो, सङ्घीय संरचना नै सबै समस्याको औषधि होइन भन्नुभयो ।
निर्वाचित सांसदहरू पछिल्लो निर्वाचनमा पैसाको खोलो बगाएर फेरि जित्नकै लागि देश र जनताको सेवा र राम्रो संविधानभन्दा पैसाको जोहो गरिरहेको उल्लेख गर्दै सभासद् सैंजूले मुख्यमन्त्री नपाएर जिन्दगीमा ठूलो दुःख पाएर पछुताउ गर्ने सांसदहरू पनि रहेको बताउनुभयो ।
कम्युनिष्टको खोल ओढेर जनतामाझ झूटको खेती गर्ने सत्तारूढ दललाई कुनै दिन जनताले नै सजाय गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘गरिबी निवारण नभएसम्म देश समृद्ध हुनेछैन, समृद्ध नारा बेचेर सत्तारूढ दलले राज्यकोषमा दाइँ गरिरहेको छ ।’’
सहकारीले सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके भक्तपुरको अर्थतन्त्र सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘‘सहकारीले शिशुशालादेखि विश्वविद्यालयसम्म सञ्चालन गर्नसक्छ ।
राष्ट्रिय सहकारी बैड्ढका प्रतिनिधि सरिता भट्टराईले सहकारीको बचत सहकारीकै लागि खर्च गर्नुपर्ने औंल्याउँदै सहकारी दीगो बनाउन लगानी सही ठाउँमा हुनुपर्छ भन्नुभयो ।
सिन्धुः नेवा खलःका अध्यक्ष माधवलाल कर्माचार्यले कला र संस्कृतिको संरक्षणमा सहकारीको पनि ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाल कला, संस्कृति र सभ्यताको खोजी गर्ने मुलुक बन्ने विचार व्यक्त गर्नुभयो ।
संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापतिले हाल जारी भएको देवानीसंहिताको जानकारी दिंदै हालको कानुन पुँजीपतिहरूको स्वार्थअनुकूल बनाएको बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो सभामा जिल्ला सहकारीका कोषाध्यक्ष कान्छाभक्त घजू, भक्तपुर साकोसका प्रबन्धक जगनाथ प्रजापति, उपाध्यक्ष निर्मल प्रजापति, सचिव लक्ष्मीप्रसाद कुसी, कोषाध्यक्ष रामप्रसाद प्रजापति र लक्ष्मीप्रसाद दुवालले पनि बोल्नुभएको थियो ।
सभाले संस्थाको विभिन्न प्रतिवेदनहरू पारित गरेको छ ।
सभामा असल ऋणीहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम सुरू हुनुअघि बाँसुरी धुन र विभिन्न विद्यालय र कलेजबाट नृत्य देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *