भर्खरै :

बढ्दो महिला हिंसा – दोषी को ?

पुनम जोशी
अहिले नेपालमा महिलामाथि हुने गरेको हिंसा दिन दुईगुणा रात चौगुना वृद्धि भएको छ । हरेक दिन हरेक घण्टा हरेक मिनेट महिलामाथि हिंसा गर्ने, संवेदनशील अङ्गमा छुने, जिस्काउने, घुरेर हेर्ने र पाएसम्म बलात्कार नै गरी छोड्ने चलन र मेलाजस्तो भएको छ । १०– १२ वर्षको केटादेखि घरमा श्रीमती भएको पुरुष र अझै भनांै ७०–८० वर्षको वृद्धले समेत महिलालाई एकान्तको मौका नछोड्ने गरेको हामीले सुन्दै हेर्दै आएका छौं । स्कूलमा जाँदा फर्के लगाउँदा हावा चलेको मौकामा थुचुक्क बसेर भित्री अङ्ग हेर्न खोज्ने, कलेज जाँदा ओई मैया सँगै म नि आउँछु नी भनी जिस्काउने, गाडीमा झुन्डिदा हातमाथि हात राखी नै रहने, अझै सँगै ताँसिएर अङ्गालो नै मारेजस्तै गरी बसी दिने, सिटमा बस्दा पनि कहिले कहाँ कहिले कहाँ थाहा नपाउने गरी छोइ रहने प्रवृत्ति हिजोआज विगत ५–१० वर्ष अगाडि भन्दा धेरै नै बढेको छ । अहिले यो वर्षमा त हरेक पत्रिकाको हरेक मुख्य पृष्ठमा बलात्कारको समाचार देख्दा छोरी भएका इमानदार आमाबुबा, श्रीमती भएको पुरुष र नातिनी भएको हरेक बाजेबज्यैलाई आफ्नो छोरी, श्रीमती, नातिनी स्कूल, कलेज र कामबाट सकुशल घर फर्किन्छ कि फर्किदैन भनी बाहिर पठाउन पनि डर लाग्ने भएको छ । गरिबीका कारण घरमै सबै व्यवस्था गर्न नसकेकोले मात्र डराइडराइ आफ्ना चेलीबेटीलाई बाहिर पठाउने गरेको पाइएको दुखेसो सुन्ने गर्छौं ।
अहिले देशमा नयाँ संविधान, नयाँ कानुन, नयाँ नियमावली बनि बनेका र बन्दै छन् । जनतालाई कुनै पनि कुरामा भेदभाव नहोस्, कमी नहोस्, आफ्नो इच्छाअनुसारको पढ्न पाउने, मन लागेको पेशा गर्न पाउने, योग्यताअनुसारको रोजगारी पाउने, चाहेको धर्म मान्न पाउने, आदि आदि जस्ता कानुनले दिनसक्ने सबै सुविधा दिएका छन् । महिला र पुरुष बराबर भनी, भेदभाव गर्ने छैन भनी स्पष्ट संविधान, ऐन, नियम र कानुनहरू हाम्रो देशमा बनेको छ । त्यसैले एक समय राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता सबै ठूला पदहरूमा महिला पुग्न सफल भएका छन् । यो हाम्रो समाज र सिङ्गो देशले समेत गर्व गर्नसक्ने पाटो हो । यसरी गर्वको पाटो बनिरहेको देशको नाम विश्वसामु चिनाउन सफल भएको महिलाको हालत हिजोआज दिनानुदिन दुःखदायी, कष्टकर र दयनीय बनेको छ । महिलाको उन्नति, प्रगति र पुरुषसरह सम्मान अधिकार दिलाउन बनेका संविधान, ऐन, कानुन हिजोआज लाचर र निरीह बनेका छन् । पीडित महिलाले न्याय पाउन सकेको छैन । एकलाई न्याय दिन खटिरहेको बेला अर्को बालिका र महिला हिंसामा परी पीडा भोग्न विवश छन् । न्याय दिन्छु र दिलाउँछु भनी उच्च पदमा बसेका व्यक्ति स्वयम् हिंस्रक पुरुष भएपछि हामी बालिका र महिलाकहाँ गएर न्याय माग्न जाने हो ? यसको लागि छुट्टै ऐन बनाईदिए हुन्थ्यो कि ? छुट्टै निकाय बनाइदिने कि ? कि यदि न्याय दिलाउन सकिन, म पदको मर्यादा राख्न नसक्ने लाचा हिम्मतहारुवा राष्ट्रसेवक हुँ, तिमीहरूलाई न्याय दिलाउन म पूर्णरुपमा असमर्थ छु अर्को निकायमा जानु भनी ज्ञापन पत्र पो दिनुहुन्छ कि ?
केही महिना अगाडि बलात्कारपछि हत्या भएका निर्मला पन्त र यौन प्रस्ताव अस्वीकार गरेको निहुँमा एसिड प्रहार गरी मृत्यु भएका सम्झना दास, बिस्कुट किन्न गएको बेला बेपत्ता पारी बलात्कार गरी हत्या गरिएकी स्रिया सुनार र अझै नाम नखुलेको कति महिलाहरू छन् । यस्ता हिंसाबाट महिलाहरूले हाम्रो नयाँ संविधान, नयाँ ऐन, नयाँ कानुन र नयाँ सरकारले दिएको समानताको हकबाट मुक्ति पाउनुको सत्ता दिनदिनै हत्या, हिंसा, बलात्कार शोषण र पीडितको खाडलको भुमरीमा झन्झन् भासिंदै छ ।
यस्ता समाचार सुन्दा मन दुख्नुको साथै शरीर कामी कामी रिसले चुर भएर आउँछ । त्यस्ता बलात्कारी अपराधीलाई जन्म कैदको सजायको सत्ता पहिला पहिला पृथ्वीनारायण शाहले बनाएको बलात्कारीको लिङ्ग नै काटी दिनु भन्ने सजाय उचित लाग्यो । बाँच्न पाउने हक सबैलाई छ । आफ्नो इच्छाअनुसार जे पनि गर्न पाउँछ तर अरुको अधिकार, इच्छा र बाँच्न पाउने हक चाहिं खोसिनु भएन । हिजोआज बढ्दै गएको यो अपराधमा दोष कसको ? गल्ती कस्को ? कमजोरी कसको ?
सविधानले धेरै नै हक र सुविधा दिएकाले, नारी र पुरुषलाई बराबर भनी ल्याएको समानताको धारणाले, यौन उत्तेजना बढी भएको पुरुषको कारणले, उच्च पदमा बसी उच्च अधिकार पाएर पनि केही गर्न नसकेको हाम्रा लाचार पदाधिकारीहरूको कारण, राष्ट्र र जनताको सेवामा दिन रात खटिएर पनि जनतालाई सुरक्षा दिन्छु भनी सपथ खाएका साहसी पोसाक लगाएका कमजोर पुलिसका कारण, पश्चिमी संस्कार बढी भित्रिएका कारण, डिजाइन डिजाइनका लुगा बनाउनेको नाममा शरीर त के थाक्नु नै पर्ने अङ्गसमेत नथाकी खुला र एकदम छाडा लुगाका कारण, गर्मीमा लुगा लगाउन सक्दिन भन्दै हट पाइन्ट र ब्रा सरहका मात्र लगाई हिंड्ने लज्जाहीनहरूका कारण, नेपाली फिल्ममा नयाँपन दिन र फिल्म हिट गर्न मोडलहरूले लगाएको लुगा र देखाएका अङ्गका कारण, कुन बेला खत्रा सिन देख्न पाएला भनि गल्ली र चोकमा ¥याल झारी बसेमा भुस्या कुकुरसरहका केटाहरूका कारण । दोष कसको ? यदि यस्ता व्यक्तिहरूको दोष हो भने सजाय पनि यिनीहरूले नै भोग्नुपर्छ नकि १०–१५ वर्षका नाबालक निर्मला पन्त, सम्झना दास, स्रिया सुनारजस्ता सिधासोझा आफ्नो भविष्य बनाउन अघि बढेका, यी सबैबाट पुरै टाढा रही हाम्रा देशका भविष्यका कर्णाधारहरू पर्नुहुँदैन । सबै पुरुषहरूले एकचोटी आफ्नो छातीमा हात राखी सपथ लिनुपर्छ म अब उप्रान्त आपनी श्रीमती बाहेक अरु महिला वा बालिकालाई त परै जाउन एक महिलालाई समेत त्यस्तो नजरले हेर्ने छैन । मनमा भावसमेत ल्याउने छैन भनी आफैले आफैलाई दृढ सङकल्प गरौं । एउटा भनाइ पनि छ दुनियालाई बदल्नु छ भने पहिला आफैबाट सुरुवात गर्नुपर्छ ।
आफ्नो खरोब सोच आफनो खराब विचार खराब इच्छा र महत्वाकाङ्छा सबलाई आजैबाट बलि दिऔ । यही महान पर्व दसैंदेखि अब उप्रान्त म सबै नराम्रा काम कुराहरूबाट कोशै टाढा रहन्छु भनी मनमा दृढ सङ्कल्प लिई अघि बढौं । हामी देश बाहिर जाँदा गर्वले भगवान बुद्ध जन्मेको देशको नागरिक भनी आफ्नो परिचय दिन्छांै तर बोली वचन र व्यवहारमा भने अलिकति पनि उत्तार्दैनांै । जो भगवान बुद्ध सिद्धार्थले भन्नुभएको वाणी र उपदेश सुनी पढी व्यवहारमा उत्तार्दैन उसले म भगवान बुद्ध जन्मेको देशको नागरिक भन्ने अधिकार छैन । सारा संसारले उहाँलाई मान्छन्, उहाँको शिक्षा सुन्छन् अनुशरण गर्छन् हामी नेपाली नै पुरै चुक्यांै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *