भर्खरै :

जाँडरक्सी – जुवातासको विकृतिबाट मुक्त बनौं

भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका कर्मचारी एसोसियसनको आयोजनामा आइतबार दसैंको शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चाडवाडमा जाड–रक्सी खाने र जुवातासको विकृतिबाट टाढा रहनुपर्ने बताउनुभयो ।
उहाँले कञ्चनपुरमा भएको निर्मलाको बलात्कार र हत्याकाण्डका दोषी लामो समयसम्म पनि पत्ता नलाग्नुको पछाडि भारतीय शक्तिको हात हुनसक्ने आशङ्गा व्यक्त गर्नुभयो ।
‘‘भारतीय राजदूतावासले नेपालको डीएसपी कार्यालयसम्म हस्तक्षेप गर्ने गरेकोले निर्मला पन्त काण्डका दोषीबारे भारतीय राजदूतले बोल्नुपर्छ ।’’, उहाँले भन्नुभयो ।
नगरपालिकाका कर्मचारीप्रति जनगुनासोबारे कर्मचारीबीच समीक्षा हुनुपर्नेमा अध्यक्ष बिजुक्छेंले जोड दिनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पाइला पाइलामा आर्थिक हिसाबमा मात्र ध्यान दिने मानिसले समाज प्रगतिको लागि योगदान गर्न नसक्ने धारणा राख्नुभयो ।
उहाँले कर्मचारी नगरपालिकाका हातखुट्टा र आँखा समान भएकोले सोही जिम्मेवारीको कर्तव्य पूरा गर्न लाग्नुपर्ने धारणा राख्नुभयो ।
उपप्रमुख रजनी जोशीले स्थानीय तहका अधिकारबारे सर्वसाधारण जनतालाई अझ पनि धेरै थाहा नभएकोले जनतालाई जानकारी दिने कार्यक्रम अघि लानुपर्ने धारणा राख्नुभयो ।
कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, कार्यकारी अधिकृत रोहितराज पोखरेल, दिलिपकुमार सुवाल, भूपाल मुल, दिपेन्द्र प्रजापति, विजय लोहलालगायतले शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *