भर्खरै :

‘‘चाडवाडमा स्वास्थ्यको ख्याल राख”

भक्तपुर, ३० असोज । भक्तपुर नगरपालिकाको आयोजनामा सफाइ मजदुर, चालक, हेल्पर, वडानिरीक्षक, शाखा प्रमुखहरूबीच शुभकामना कार्यक्रम मङ्गलबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले चाड–पर्वको बेला स्वास्थ्यलाई ध्यान दिई खानुपर्ने सुझाव दिनुभयो ।
बिदाको समयमा गलत गतिविधिमा नलाग्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँंदै उहाँले भन्नुभयो, ‘‘चाड–पर्वमा घर–घरबाट नियमित भन्दा बढी फोहरहरू निस्कने हुनाले सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । सफाइ मजदुरहरूले दसैंमा बिदा नबसी अझ जोश–जाँगरका साथ कार्य गर्नुपर्दछ । भक्तपुरलाई सुन्दर सफा नगरको रूपमा चिनाउन मेहनत गर्नैपर्छ ।’’
चाँडपर्वलाई भौतिकवादी दृष्टिकोणले हेर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै प्रमुख प्रजापतिले सवारी साधनमा बली दिने प्रथा गलत भएको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले स्वस्थ भएर दशैं मनाउन सन्तुलित भोजन खानुपर्छ भन्नुभयो ।
सफाइ मजदुरहरूले विशेषतः नियमित स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनुहुँंदै उहाँले भन्नुभयो, ‘‘नगरबासीहरूसँग प्रत्यक्ष सरोकार राख्ने सफाइ मजदुुरहरू हुने भएकोले सभ्य र नरम व्यवहार गरी नगरबासीलाई खुशी राख्न हामी चुक्नु हुँदैन ।’’
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले समाज अगाडि बढाउन एकढिक्का हुनुपर्ने बताउनुहुँदै चाडपर्व भित्र रहेका विकृति र अन्धविश्वासलाई हटाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडानिरीक्षक आशराम सुवाल, गौतम लासिवा र दिलिपकुमार सुवालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *