भर्खरै :

तास

सुरेश
दसैंको रौनक छाएको थियो ।
“शिव परार साल तिमीले मलाई हराएको हैन ? हेर, यसपालि मेरो भाग्य बलियो छ । यो वर्ष मेरा धेरै काम बने । मेरा दिन फिरेका छन् । यो दसैंमा मैले जित्छु बुझ्यौ !” रमनले खल्तीबाट चिल्लो तासको गड्डी निकालेर बिस्तरामा फ्याँक्दै भन्यो ।
रमन पढाउन दुर्गम गाउँ पसेपछि शिव सङ्गठनमा लागेको थियो । उसले गम्भीर मुखमुद्रा बनाएर सम्झायो, “धत्, ! तास खेल्नु राम्रो हैन ।” उसले भाग्यको विरोधमा द्वन्द्वात्मक भौतिकवादबारे एकसरो भाषण दियो । तुकबन्दीमा छुरा थियो शिव । उसले बीचबीचमा नैतिकताका प्रसङ्ग जोडेर रमनलाई लज्जित तुल्यायो ।
तास खेल्ने जोसमा उचालिंदै भित्रिएको रमन आफूलाई फेर्ने गर्विलो सङ्कल्पले निहुरिंदै शिवको घरबाट निस्कियो । बाहिरिंदा तासको गड्डीको ठाउँमा शिवले दिएको रेडबुक थियो । उसले साँझसम्म ‘अनुशासनका आठ नियम’ कण्ठस्थ गरिसकेको थियो । आफ्नो प्रगति शिवलाई सुनाउने अभिलाषासहित ऊ निदायो । भोलिपल्ट एकाबिहानै हर्षले उचालिंदै रमन शिवको घरमा पस्यो । शिव मस्तनिद्रामा थियो । साथीहरू कोही खाटमा कोही भुइँमा पसारिएका थिए ।
अचानक घण्टी बज्यो । शिवकी आमापूजा कोठामा भजन गाउँदै रहिछन् । आमाले हातबाट घण्टी तल नराखिकन उसलाई नियालिन् । ङिच्च हाँसेर रमनले भन्यो, “शिवलाई भेट्न आको…. ।”
निधारमा मुज्जा पारेर आमाले भनिन्, “मोराहरू…. । नखेल–नखेल भन्दा भन्दै रातभरि तास खेले । ९÷१० नबज्दासम्म उठ्दैनन् होला । खाना खाइवरी आउनू…. ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *