अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आफूलाई कम्युनिष्ट नेता भनी टोपलेका केही नेता ‘विकास नभई समाजवाद सम्भव छैन’ भनी जनतालाई ढाँट्दै छन् । सत्य त्यही हो भने युरोपको सबभन्दा पिछडिएको रुस समाजवादी क्रान्तिको २०–३० वर्षमै संसारको एक औद्योगिक र विकसित देश कसरी बन्यो ? संसारको सबभन्दा पहिलो पुँजीवादी देश बेलायत, त्यसपछिका पुँजीवादी देशहरू संरा अमेरिका र फ्रान्सलाई कसरी ५० वर्षभित्र शिक्षा, स्वास्थ्य, अन्तरिक्ष, उद्योग र अन्य धेरै क्षेत्रमा सोभियत सङ्घले पछा¥यो ? ३०० वर्षको बेलायतको विकास, २०० वर्षको स.रा अमेरिकाको विकास र १५० वर्ष पुरानो फ्रान्सको विकासलाई सोभियत सङ्घले ५० वर्षभित्र कसरी पछा¥यो ?
जनवादी गणतन्त्र चीनको स्थापनाको ५०–६० वर्षपछि संसारको सबभन्दा बढी जनसङ्ख्या भएको देश चीन संसारको दोस्रो अर्थतन्त्र बन्यो र केही वर्षपछि अर्थात् सम्वत् २०७८ सालमा गरिबी उन्मूलन भएको, विज्ञान र प्रविधि तथा शिक्षा र स्वास्थ्य सेवामा एक नमुना देश बन्दैछ एवम् ३–४ सय वर्ष पुरानो पुँजीवादी देशहरूलाई पछि छोड्ने छ । समाजवादविना यस प्रकारको द्रुतत्तर विकासको सम्भावना छैन । यसकारण विकासले समाजवाद ल्याउने होइन बरु समाजवादले विकास ल्याउँछ । यो सत्य कम्युनिष्ट दाबी गर्ने ती नेताले बोल्न सकेनन् ।
नेपालजस्तो क्षेत्रफल र जनसङख्यामा सानो क्युवाले ५० वर्षभित्र स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा पुराना पुँजीवादी देशहरूलाई पछि पा¥यो । अर्थात् आफ्ना २२२ नागरिकहरूपिच्छे एक जना चिकित्सक (डाक्टर) दियो, निःशुल्क स्वास्थ्य सेवा ! नेपालमा एक हजार जनताको लागि एक जना डाक्टर छैन । कसरी ? नेपालमा पैसा कमाउन पूर्व तथा वर्तमान प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूसमेत मिलेर एक जना विद्यार्थीसँग ३०–४० लाख रुपैयाँ लिएर डाक्टर पढाउँछन् ! निजी चिकित्सा कलेजहरू मिलेर सरकार नै किन्ने एक कोष खडा गरिएको छ । अरबौं रकमको त्यस कोषबाट महानिर्वाचनमा शासक दलहरूलाई करोड होइन अरबौं रकम दिएर अन्य विश्वविद्यालय र मेडिकल कलेज खोल्न नदिने खेल खेल्यो ।
काठमाडौंबाहिरका मेडिकल कलेजहरूको हालत अझ भयानक छ । भैरहवाको मेडिकल कलेजमा बिरामी भर्ना गरेपछि नमरेसम्म बाहिर पठाउँदैनन् । बिरामीका अभिभावकले अन्य अस्पतालमा पठाइदिन माग गर्दा (रिफर गराउन खोज्दा) भन्छन्– ‘‘लाने हो भने तिम्रो बिरामी लैजाऊ, हामी केही लेख्दैनौँ ।’’ पेट दुःखेको बिरामी भर्ना भएको दोस्रो दिनमा हात खुट्टा चल्दैन, कुन औषधि प्रयोग गरियो र कुन अवस्थामा बिरामी भर्ना गरियो केही लेखोट दिंदैनन् । जरो नाप्ने थर्मोमिटरसमेत पढ्न नजान्ने नर्सहरूद्वारा सेवा दिलाइन्छ, भारतका करोडपति र अरबपति आमाबाबुका पढाई कमजोर भएका विद्यार्थीहरूसँग एक जनाको ६० लाखको हिसाबले शुल्क लिन्छन् । तिनीहरूका निम्ति त्यो मेडिकल कलेज पढ्ने ठाउँ होइन बरु रमाइलो गर्न आएको पर्यटकहरूको होटल हो । भोलि ती युवाहरूले डाक्टरको प्रमाणपत्र लिएर स्वास्थ्य क्षेत्रमा काम नगरे जाति हुनेछ, डाक्टर भएर स्वास्थ्य सेवामा काम गरे कति रोगी मार्ने हुन थाहा छैन ! के नेपालको विकास यही हो ? यस्तो विकासले समाजवाद आउँछ ? यस्तो विकासले देश रसातलमा जानेबारे कुनै शड्ढा छैन !
तर डा. गोविन्द केसी, मेडिकल कलेज काठमाडौं उपत्यकाबाहिर पठाउन खोज्छन्, जहाँ न रोगी हुन्छ, न त डाक्टर ! भारतबाट ल्याइएका काम गर्न नसक्ने भारतीय डाक्टरहरू र अनाथालय तथा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरू सुताएर अस्पतालको नाउँ दिन्छन् । के डा. गोविन्द केसीले अकालमा बिरामी मार्ने काममा सहयोग गर्दैछन् ? ५–१० लाख तिर्नसक्ने गरिबका योग्य विद्यार्थीहरूले आफ्नो सम्पत्ति बेचेपनि २५–३० लाख रुपैयाँ पु¥याउन सक्दैनन् अनि त्यस्ता विद्यार्थीहरूलाई पढ्न दिने वातावरण किन नल्याउने ? के चिकित्साशास्त्र धनी र शोषकका छोराछोरीहरूले मात्र पढ्न पाउने हो ? डा. केसी शोषक वर्गका पक्षपति हुन् वा व्यापक नेपाली जनताको ? अब प्रचण्डजीले उत्तर दिनु आवश्यक छ – ‘‘पुँजीवादको विकास नभई समाजवाद सम्भव छैन ः दाहाल ।’’ (नागरिक –२ असोज २०७५)
Leave a Reply