भर्खरै :

खासोग्गीको दूतावासभित्र हत्या भएको साउदी सरकारद्वारा स्वीकार

रियाद, २० अक्टोबर । पत्रकार जमाल खासोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको दूतावासभित्रै हत्या भएको साउदी अरबले स्वीकारेको छ ।
अक्टोबर २ का दिन आफ्नो पूर्व श्रीमतीसँगको पारपाचुकेसम्बन्धी कागजात मिलाउने क्रममा इस्तानबुलको साउदी दूतावासभित्र पसेका वाशिङ्टन पोस्टका पत्रकार खासोग्गीको दूतावासभित्र त्यहाँका कर्मचारीहरूसँग ‘कुटाकुट भएको’ साउदी प्रहरीले गरेको अनुसन्धानमा स्वीकारिएको छ ।
यसअघि साउदी सरकारले खासोग्गी आफ्नो काम सकाएर दूतावासबाट बाहिरिएको बताउँदै आएको थियो ।
साउदी प्रहरीको अनुसन्धान प्रतिवेदनमा कुटाकुटको क्रममा खासोग्गीको निधन भएको बताइएको छ ।
साउदी प्रहरीले खासोग्गीको हत्यासँग जोडिएका अठार जना मानिसलाई गिरफ्तार गरेको छ । सो घटनाबारे अनुसन्धान जारी रहने रियाद सरकारले बताएको छ । सो घटनासँग जोडिएका सबैलाई अनुसन्धानको घेरामा राखिने साउदी अधिकारीले जनाएका छन् ।
साउदी राजा सल्मान बिन अब्दुल्लाहजिज अली साउदले शनिबार नै साउदी अरबको गुप्तचर निकायका सहायक प्रमुख र राजदरबारका एकजना सल्लाहकारलाई पदबाट बर्खास्त गरेका छन् । साथै तीनजना उच्चपदस्थ गुप्तचर अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरेका छन् । बर्खास्त गरिएका गुप्तचर विभागका सहायक प्रमुख अहमद अली असिरी साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानका निकटवर्ती गुप्तचर अधिकारी हुन् । उनलाई गएको सालमात्र सो पदमा स्तरोन्नति गरिएको थियो ।
राजाले सो घटनाबारे थप अनुसन्धान गर्न राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) को नेतृत्वमा एउटा मन्त्रीस्तरीय समिति गठन गरेको छ । तर पत्रकार खासोग्गीले लगातार राजकुमार सलमानको आलोचना गर्दै आएको हुनाले उनको हत्या पछाडि स्वयं राजकुमारको हात हुनसक्ने बताइँदै आएको छ । इस्तानवुलमा पत्रकार खासोग्गी बेपत्ता भएको समयमा राजकुमार सलमानका एकजना निजी अङ्गरक्षक विशेष विमानमा इस्तानबुल आएका थिए । त्यसकारण पनि यसमा राजकुमारको संलग्नता हुनसक्ने आशङ्का गरिएको छ ।
तर साउदी अरबको सो भनाइ संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था सीआईएकै पूर्वअधिकारीले समेत पत्याएका छैनन् । सीआईएका एक जना पूर्वगुप्तचर अधिकारी ज्लेन कार्लेले साउदीको भनाइ वास्तविकताबाट विषयान्तर गर्ने प्रयास भएको बताएका छन् ।
‘‘एक जना ५९–६० वर्ष उमेरका मानिस दूतावासभित्र पसेर त्यहाँका अधिकारीहरूसँग मुक्कामुक्की गरेको कुरा कसरी विश्वास गर्न सकिन्छ ? यो कथा त पूर्णतः मूर्खतापूर्ण हो ।’’, उनले भने ।
कार्लेले दूतावासभित्र भएको घटनाबारे साउदी अरबको कुरा ‘मूर्खतापूर्ण र अपमानजनक’ भएको बताए ।
उनले भने,‘‘तर ट्रम्पले साउदीकै कुरा पत्याउनेछ किनभने उनलाई सायदीसँग सम्बन्ध चुस्त राख्नुमा फाइदा छ ।’’
खासोग्गी हत्यापश्चात् संरा अमेरिका सरकार चेपुवामा परेको छ । एकातिर आफ्नै देशको एउटा मिडियाका पत्रकारको हत्या हुँदा मानवअधिकारको वकालत गरेर नथाक्ने संरा अमेरिकालाई चुप लागेर बस्न पनि अप्ठ्यारो भएको छ भने अर्कोतिर साउदीको विरोध गर्दा रियाद सरकारले किन्दै गरेको संरा अमेरिकी हतियारको व्यापारमा कमी आउनेमा ट्रम्प सजग छन् ।
यसैबीच हालै साउदी अरब र बेलायतबीचको सम्बन्धबारे नयाँ खुलासा भएका छन् । बेलायतको गार्जियन पत्रिकाले गरेको एक अध्ययनअनुसार पछिल्ला वर्षमा साउदी अरबले आफ्नो छवि अन्तर्राष्ट्रिय रुपमा राम्रो बनाउन बेलायतका कम्पनीहरूमा करोडौं पाउण्ड दिने गरेको खुलेको छ ।
यमन युद्धमा साउदी सेनाका भूमिका र मानवअधिकारको अवस्थाका कारण अन्तर्राष्ट्रिय रुपमा साउदी अरबको छवि निकै नराम्रो बन्दै गएको छ । खासोग्गीको हत्यासँगै साउदीको छवि पुनः धमिलिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *