भर्खरै :

दृष्टिविहीन गन्धर्व परिवारलाई छोएन दसैंले

तुलसीपुर, ३ कार्तिक । अरूका घरमा दसैं आएको छ, तर तुलसीपुर–४ रक्षाचौका दृष्टिविहीन रूपा गन्धर्वको परिवारलाई भने दसैंले छोएको छैन । एक छोरा, तीन छोरी दृष्टिविहीन भएकाले सो परिवारलाई दैनिकी टार्न नै समस्या छ । “छोराछोरीले दसैं आयो, नयाँ कपडा चाहियो भन्छन्, तर मसँग पैसा छैन” रूपाले भन्नुभयो ।
श्रीमान्ले दोस्रो विवाह गरेपछि ती साना बालबालिकालाई पालनपोषण गर्नुपर्ने भएका कारण आफू निकै समस्यामा परेको उहाँको भनाइ छ । “वरपर दसंै आएको छ, छिमेकीको घरमा मीठोमीठो पाक्छ, तर हामीलाई भने दैनिकी चलाउन नै समस्या छ” उहाँले भन्नुभयो ।
सम्पत्तिको नाममा ६ वटा बाख्रा भएको र अन्य आयस्रोत केही नभएको बताउने उहाँलाई आफ्नो घर नहँुदा भाडामा रू. एक हजार तिरेर बस्नुपर्ने अवस्था छ । यसअघि विभिन्न सङ्घ संस्था र व्यक्तिले दसैं–तिहारमा सहयोग गर्ने गरे पनि हाल भने सहयोग नपाएको गुनासो गर्नुभयो । “आजमात्र एक जना परिवारले खाद्यान्न र कपडा सहयोग गर्नुभएको छ ।’’ उहाँले भन्नुभयो ।
कक्षा ४ मा पढ्दै आएका रूपाका जेठा छोरा गणेश गन्धर्वले कहिलेकाहीं त भोकभोकै बस्नुपर्ने बताए । “अरूले सहयोग गरे खाने हो, होइन भने कमाउने कोही छैनन् आमाले बहिनीहरूको हेरचाह गर्ने कि कमाउने समस्या छ” उनले भने ।
उहाँले गन्धर्व परिवारको अवस्था कमजोर भएको भन्ने जानकारी पाएपछि आफ्नो तर्फबाट केही सहयोग गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *