भर्खरै :

सोभियत सङ्घ विघटनपछि रूसमा माक्र्सबारे पहिलो प्रदर्शन

मस्को, २० अक्टोबर । विश्व सर्वहारा वर्गका गुरू कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा अक्टोबर १७ बाट रूसको सेन्ट पिटर्सवर्गमा ‘कार्ल माक्र्स सदा रहनेछन्’ शीर्षकको प्रदर्शन सुरू भएको छ । सन् १९९१ मा सोभियत सङ्घ विघटन भए यता माक्र्सको सम्झनामा रूसमा यो पहिलो कार्यक्रम भएको बताइएको छ ।
रूसी सरकारी सङ्ग्रहालयको आयोजनामा भएको सो प्रदर्शनमा कार्ल माक्र्सका तस्वीर, चित्र, मूर्तिकलालगायत विभिन्न ऐतिहासिक वस्तु प्रदर्शनमा राखिएका छन् ।
‘‘बीसौं शताब्दीको सुरूवातमा रूसी क्रान्तिको उदय भइरहेको समयमा माक्र्सको व्यक्तित्व र विचार तत्कालीन बुद्धिजीवीको चासो र आशाको अभिव्यक्ति थियो ।’’ सङ्ग्रहालयले प्रदर्शनको सम्बन्धमा जारी गरेको वक्तव्यमा भनिएको छ ।
आयोजकहरूले माक्र्स जीवित रहँदा कोही पनि कलाकारले माक्र्सको चित्र नबनाएको र सोभियत सङ्घका कलाकारहरूले माक्र्सको कृति ‘पुँजी’ र ‘कम्युनिष्ट घोषणापत्र’ लगायतका कृतिको सम्मानमा विभिन्न व्यक्तिचित्र बनाउने चासो देखाएको पनि जानकारी दिए ।
प्रदर्शनमा सहभागी ६९ वर्षका एक जना अवकास प्राप्त मजदुर तातानिया इकोभ्लेभाले भने, ‘‘सोभियत सङ्घको समयमा माक्र्स, एंगेल्स र लेनिन भनेका त्रिमूर्तिजस्तै थिए ।’’
प्रदर्शनमा रूसी क्रान्तिभन्दा अघि विभिन्न मितिमा तयार भएका माक्र्सका कृति, तस्वीर, चित्र आदि प्रदर्शनमा राखिएका छन् । जोर्ज नेरादाको कृतिदेखि समकालीन कृति पनि त्यहाँ प्रदर्शनमा राखिएको आयोजकले बताए । प्रदर्शनी तीन महिनासम्म चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *