जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
मरिया प्रिलेजायेभा
पहाडहरूको देश स्विट्जरल्याण्ड । निलो जेनेभा तालको किनारमा एक सुन्दर सहर छ – जेनेभा । बाहिरपट्टि, तालदेखि केही दूरीमा सेशेरोन नामक मजदुर बस्तीमा एक सानो दुईतले घर थियो । अन्य घरहरूजस्तै त्यसको छानो पनि खपटाको थियो । सानो हराभरा बगैंचा पनि भएको त्यस घरका झ्यालहरू हरियो रंगका थिए ।
यो घरमा इल्यीच दम्पती, अर्थात् भ्लादीमिर इल्यीच (लेनिन) र नादेज्दा कोन्स्तान्तिनोभ्ना (क्रुप्सकाया) बस्दथे ।
पहिले उनीहरू म्यूनिख सहरमा बस्थे । तर त्यहाँको पुलिसले ‘इस्क्रा’ को सुइँको पाएकोले उनीहरूले त्यो सहर छोड्नुप¥यो । यसर्थ उनीहरू इङ्गल्याण्डको राजधानी लण्डन आए । एक वर्षसम्म ‘इस्क्रा’ लण्डनबाट निस्किरह्यो । तर पछि त्यहाँ पनि खतरा भयो । ‘इस्क्रा’ को लागि अन्य ठाउँ खोज्नु जरुरी थियो । यसरी इल्यीच दम्पति जेनेभानजिकको बस्ती सेशेरोन आइपुग्यो ।
“एकदम राम्रो !” केही मिनेटमै सारा घरको अवलोकन गरेपछि भ्लादीमिर इल्यीचले भने । “एकदम राम्रो । शान्त ठाउँ छ, यहाँ आरामसँग काम गर्न सकिन्छ ।”
घरको तल्लो तलामा फराकिलो भान्छाकोठा र माथि दुईओटा साना तर उज्याला कोठा थिए ।
भ्लादीमिर इल्यीचसँग काम त धेरै थियो । तर जुन शान्तिको उनले कल्पना गरेका थिए त्यो छिट्टै मिथ्या साबित भयो । यो घरमा धेरै मानिसहरू आवतजावत गर्ने गरेको छरछिमेकीहरूले देखे । १९०३ को जुलाइ महिनामा त आउनेहरूको ताँती नै लागिरह्यो । आगन्तुक कहिले एक्लै आउँथे त कहिले दुई तीन जनाको समूहमा । उनीहरू स्थानीय होइनन् भनी चिन्न गा¥हो थिएन । स्थानीय बासिन्दाहरूसँग उनीहरूको पहिरन र बोलीचाली मिल्दैनथ्यो । उनीहरू रुसी बोल्थे । उनीहरू जेनेभामा पहिलो पटक आएका हुन् भन्ने प्रस्टै छुट्टिन्थ्यो । यहाँका हरेक चिज उनीहरूका लागि नयाँ थिए । उनीहरूलाई यहाँको घमाइलो आकाश, उज्याला झ्यालहरू, गमलाका फूल सबै औधी मन पर्थे ।
सेशेरोनका बासिन्दाहरू १९०३ को गर्मी याममा जेनेभामा यति धेरै रुसीहरू देखेर आश्चर्यचकित भएको हुनुपर्छ । तर उनीहरू सबैजना रुसका विभिन्न भागबाट यहाँ पार्टीको दोस्रो सम्मेलनमा भाग लिन आएका हुन् भन्ने तिनीहरूलाई थाहा थिएन ।
सम्मेलनको लागि चुनिएका मानिस विभिन्न समस्याहरूमाथि विचार–विमर्श गर्न लेनिनकहाँ आउँथे, उनको राय सोध्थे । सम्मेलनको तयारीमा सबैभन्दा धेरै योगदान भ्लादीमिर इल्यीचले दिएका हुन् भन्ने उनीहरूलाई थाहा थियो । सम्मेलनको तयारीको सिलसिलामा भ्लादीमिर इल्यीचले ‘इस्क्रा’ मा धेरै लेखहरू लेखेका थिए । पार्टीको गठन कसरी गर्ने भन्ने बारेमा ‘के गर्ने ?’ नामक किताब पनि लेखेका थिए । पार्टीको नियमावली तथा जुझारु कार्यक्रम तयार पारेका थिए । “हामी समाजलाई नयाँ र परिष्कृत बनाउन चाहन्छौं । यो नयाँ र परिष्कृत समाजमा न कोही धनी हुनेछ, न कोही गरिब । सबैले समान रुपमा काम गर्नुपर्नेछ,” लेनिनले साथीहरूलाई सम्झाउँथे ।
लेनिनले यी सबै विषयमा गहिरोगरी सोचेका थिए । वास्तवमा पार्टी कार्यक्रमको रुपरेखा उनले आफ्नो निर्वासनकालमा नै तयार गरिसकेका थिए । उनी नयाँ समाज स्थापनाको लागि सबैभन्दा उत्तम तरिका के हुनसक्छ भनी सम्मेलनमा सबैजना मिलेर तय गरौं भन्ने चाहन्थे ।
जेनेभाबाट सम्मेलनमा भाग लिनेहरू ब्रसेल्स पुगे । त्यहाँ एक विशाल, अँध्यारो र असुविधाजनक आटाको गोदाममा सम्मेलनको उद्घाटन भयो । सम्मेलनको लागि गोदाम खाली गर्नुका साथै झ्यालहरू खोलेर ताजा हावा छिर्न दिइएको थियो । एक किनारमा फलेकहरूले मञ्च बनाइएको थियो । सबैभन्दा ठूलो झ्यालमा रातो कपडा टाँगिएको थियो । प्रतिनिधिहरूलाई बस्नको लागि बेन्च राखिएका थिए । प्रतिनिधि आ–आफ्नो ठाउँमा बसे । प्लेखानोभ मञ्चमा उक्ले । उनी पहिलो रुसी माक्र्सवादी र अति ठूला विद्वान थिए । लेनिनभन्दा पहिले नै उनले माक्र्सका क्रान्तिकारी विचारहरूको बारेमा धेरै किताब लेखिसकेका थिए । समारोही वातावरणमा प्लेखानोभले सम्मेलनको उद्घाटन गर्नुका साथै अत्यन्त प्रभावशाली भाषण दिए ।
सबैले सास रोकेर प्लेखानोभको भाषण सुने । भ्लादीमिर इल्यीच पनि औधी भावुक भए । उनका आँखा उल्लासले चम्किरहेका थिए । पार्टीको पुनर्गठन र सम्मेलनको सपना उनले धेरै पहिलेबाट देखिआएका थिए । आखिरमा त्यो साकार भएको थियो ।
सम्मेलनको काम सुरु भएको पहिलो दिनबाट नै सङ्घर्ष पनि चर्कियो । केही प्रतिनिधिहरू लेनिनले प्रस्ताव गरेको जुझारु कार्यक्रममा सहमत थिएनन् । उनीहरूलाई यो कार्यक्रम एकदम नयाँ र जोखिमपूर्ण लाग्थ्यो । नविनतादेखि उनीहरू डराउँथे । अतः उनीहरू लेनिनसँग बहस गर्न थाले । लेनिन सही थिए । उनले आफ्नो पक्षको कुरा यति जोश र उत्साहका साथ प्रस्तुत गरे कि अधिकांश प्रतिनिधिले सहमति जनाए । सम्मेलनमा पार्टीको कार्यक्रम र नियमावलीमाथि विचार गरियो । केन्द्रीय समिति र ‘इस्क्रा’ को सम्पादन मण्डल चुनियो । लगभग सबै प्रश्नहरूमा सङ्घर्ष भयो । लेनिनले सम्मेलनमा एक रिपोर्ट पेश गरे । रिपोर्ट यति स्पष्ट र भरपर्दो थियो कि सबै प्रतिनिधिहरूले त्यसलाई असाधारण एकाग्रताका साथ सुने । सम्मेलनमा भएका ३७ ओटा बैठकमा लेनिनले झण्डै १२० पटक बोले । उनी बोल्दा सबै अचम्मित हुन्थे । अधिकांश प्रतिनिधिहरूले लेनिनको समर्थन गरे । यसकारण उनीहरूलाई बोल्शेभिक (बहुमतप्राप्त) भन्न थालियो । जसले लेनिनको विरोध गरे, तिनीहरूलाई मेन्शेविक (अल्पमतप्राप्त) भनियो । बोल्शेभिकहरूको उल्टो मेन्शेभिकहरू क्रान्तिकारी सङ्घर्षबाट विस्तारै पछि हट्दै गए ।
सम्मेलन जारी थियो, एकपछि अर्को बैठक भइरहेका थिए । तर अब आटाको गोदाममा केही सन्देहजनक अनुहार पनि देखापरे । उनीहरू टाढैबाट चिहाएर भित्र के भइरहेछ पत्ता लगाउन चाहन्थे । वास्तवमा बेल्जियम पुलिसले रुसी क्रान्तिकारीहरूको सम्मेलन भइरहेको छ भन्ने सुइँको पाएको थियो । यसकारण सुराकीहरूको पूरै फौज लगाइएको थियोे । खतरा बढिरहेको थियो । सम्मेलनको ठाउँ सारियो लण्डनमा । यहाँ सम्मेलनको कामकारबाही जारी रह्यो । जीत लेनिनकै भयो । उनका निर्भिक र जोसिला साथीहरू (बोल्शेभिकहरू) उनको साथमा थिए ।
लण्डनमा प्रायः झरी परिरहन्थ्यो । यो पटक त यति लामो समयसम्म सिमसिमे पानी परिरह्यो कि लण्डनका सडकमा छातैछाताको समुद्र बन्यो । बेलाबेला इङ्गलिश च्यानलबाट आउने बतासले घना बादल उडाई लान्थ्यो, केहीबेर निलो आकाश चम्किन्थ्यो, घाम झुल्किन्थ्यो, तर फेरि झरी पथ्र्यो ।
यस्तै एकदिन सम्मेलनपछि, केहीबेर चम्किएर सूर्य बादलपछाडि लुकेको बेला लेनिनले भने ः
“साथीहरू ! बीस वर्षपहिले यहाँ लण्डनमा कार्ल माक्र्सको देहान्त भएको थियो । आउनुस्, हामी पनि महान् माक्र्सको चिहानमा श्रद्धाञ्जली अर्पण गर्न जाऔं ।” अनि सबैजना एकसाथ चिहानघरतर्फ हिँडे । चिहानघर लण्डनको उत्तरतिर पर्ने थुम्कोमाथिको पार्कमा थियो । त्यस थुम्कोबाट लण्डनको विस्तृत दृश्य देखिन्थ्यो ः कोइलाको खारले काला बनेका घर, काला छतहरू र धँुवा ओकलिरहेका कारखानाका चिम्नीहरू । माक्र्सको चिहान सेतो सङ्गमरमरबाट बनेको थियो । वरपर हरियो घाँस उम्रिएको थियो ।
चिहानमाथि गुलाफका फूल राखिएका थिए । आफ्नो शोक व्यक्त गरेझैं फुलको थँुगा केही झुकेको थियो । सिमसिमे पानी परिरहेको थियो । सडकमा कालो छाता ओढेका मानिसहरू विस्तारै आउँदै जाँदै थिए ।
“साथीहरू,” लेनिनले शीरको टोपी फुकाल्दै भने, “महान् माक्र्स हाम्रा गुरु थिए । उनको चिहानछेउ उभिएर हामी शपथ खान्छौं । उनका विचारहरूप्रति सदा निष्ठावान रहनेछौं र कहिल्यै सङ्घर्षबाट विमुख हुने छैनौं । अगाडि बढौं साथी हो ! अगाडि !”
( प्रसङ्ग ‘लेनिन कथा’ नामको पुस्तकबाट उल्था गरिएको हो ।)
अनुवादक –माधव अधिकारी
Leave a Reply