भर्खरै :

आइतबारे हत्याकाण्ड

 मरिया प्रिलेजायेभा
पिटर्सवर्गमा एक कारखानाको मालिकले बिनाकारण तीन मजदुरहरूलाई नोकरीबाट निकाल्यो । फोरम्यानले उनीहरूलाई मन पराउँदैनथ्यो, खालि यत्ति एउटा कारणले । यस घटनाले कारखानामा असन्तोषको तीव्र लहर दौडियो ।
“हाम्रो कुनै अधिकार छैन । हामीलाई अधिकार देऊ । हाम्रो रगत चुस्ने फोरम्यान मुर्दावाद !” मजदुरहरूले माग गरे ।
कारखानामा हडताल भयो । सबै मजदुरहरूले काम गर्न अस्वीकार गरे । कारखाना बन्द भयो । अरु दुई कारखानाहरू पनि ठप्प भए । भोलिपल्ट अन्य ३६० कारखानाका मजदुरहरू पनि हडतालमा सामेल भए । मेसिनहरू बन्द भए । पिटर्सवर्गभरि यसको प्रभाव प¥यो । अब के होला, सबै प्रतिक्षा गरिरहेका थिए ।
९ जनवरी, १९०५ । आइतबारको दिन हजारौं मजदुरहरू सडकमा उत्रिए । “जाऔं, जारसँग न्याय मागौं,” मजदुरहरू भनिरहेका थिए । “जार हाम्रा बाजस्तै हुन् । उनले हामीलाई भोकै मर्न दिने छैनन् ।”
बोल्शेभिकहरूले सम्झाए– त्यहाँ नजाओ, जारले तिमीहरूका कुरा सुन्ने छैन । तर मजदुर लम्किरहे । उनीहरूलाई लाग्थ्यो, जनताको दुर्दशा थाहा पाएपछि जारले हाम्रो पक्ष लिनेछन्, यिनी बदमास मालिक र फोरम्यानहरूलाई सजाय दिने छन् । नत्रभने हाम्रो जीवनै धरापमा पर्छ ।
मजदुर जारछेउ निवेदन लिएर गइरहेका थिए । आइतबार बिहानै पिटर्सवर्गको कुना–कुनादेखि मजदुरहरूको जुलुस शीतप्रासादतर्फ बढ्न थाल्यो । चोकचोकमा मानिसहरूको ताँती लागेको थियो । भीडमा सम्मिलित मानिसहरूले हातमा देवताको मुर्ति र गिर्जाघरका चम्किला झण्डाहरू लिएका थिए । केटाकेटी र महिलाहरू पनि जुलुसमा सामेल थिए । सबैको मनमा विश्वास र आँखामा अनुरोध थियो ।
तर यो के ? चौराहामा बन्दुक हातमा लिएका सिपाहीहरूको फौज तैनाथ थियो । उनीहरूका अगाडि सेतो पोशाक पहिरिएका अफिसर उभिएका थिए ।
यो त्यो समय थियो, जब सुदूर पूर्वमा घमासान लडाइँ भइरहेको थियो । करिब एक वर्षपहिले जापानले रुसमाथि आक्रमण गरेको थियो । रुसी जनरलहरू युद्धको लागि तयार थिएनन् । त्यसैले रुसी सेना दिन–प्रतिदिन हारिरहेको थियो । हजारौं सिपाहीहरू ठाउँठाउँमा मारिइरहेका थिए …
अनि यहाँ, पिटर्सवर्गमा जारशाही अधिकारीहरूले आफ्नै निहत्था मजदुरहरूविरुद्ध राजधानीभरि फौज खटाएको थियो । किन ? केका लागि ?
“व्यवस्था जोगाउन,” माता मरियमको प्रतिमा हातमा लिएको एक मजदुरले सम्झायो । “सायद भिडदेखि डराएका छन् ।”
चोकको पारिपट्टि ढुंगाले बनेको विशाल शीतप्रासाद थियो । त्यसका सयौं झ्यालहरू मुकदर्शक भई हेरिरहेका थिए ।
प्रासादअगाडि मैदानमा बरफ जमेको थियो । डरलाग्दा सिपाहीहरूको बाक्लो पङ्क्तिले प्रासादको रक्षा गरिरहेको थियो । भीड देखेर अफिसरले हात उठायो । सबै हतियारहरू भिडतिर तेर्सिए ।
“भाइहरू, सिपाहीहरू, नडराउनुस् !” मजदुरहरू चिच्याए । “हामी एउटै हौं । जारसँग अनुरोध गर्न मात्र आएका छौं ।”
“रोक ! अगाडि जान निषेध छ ।” अफिसरले चिच्याउदै आदेश दियो ।
मजदुर क्षणभरलाई असमञ्जसमा परे । तर सिपाहीहरूलाई नदेखेको पछाडिको भिडले अगाडि धक्का दियो ।
“हे प्रभु, जार चिरन्जिवी हुन् !” पुरै चोक गुञ्जियो ।
अघिल्लोे पङ्क्तिका मजदुरहरूले सेतो रुमाल फहराउन लागे ।
“हामी निहत्थाहरू शान्ति चाहन्छौं ! हामी जारसामु निवेदन पेश गर्न चाहन्छौं !” मजदुर चिच्याए अनि धार्मिक झण्डाहरू, देवप्रतिमाहरू र सेता रुमाल उठाउँदै अगाडि बढिरहे ।
“फायर !” अफिसरले आदेश दियो ।
बन्दुकहरू पड्किए । भीडमध्येबाट करिब २० मजदुर ढले ।
“फायर !” अफिसर फेरि चिच्यायो ।
गोलीहरू फेरि चल्न थाले ।
“फायर ! फायर ! फायर !”
चोकमा भागदौड मच्चियो । मानिसहरू लुक्नलाई घरका ढोकातिर भागे तर गोली खाएर पछारिए । शीतप्रासादअगाडिको मैदान लासहरूले भरियो । त्यसैबेला तरबार नचाउँदै घोडसवार सैनिक पनि आइपुगे ।
“भाइहरू ! मरिने भइयो !” भयाकुल भिडको चिच्याहटले चोक गुञ्जियो ।
“धिक्कार छ ! धिक्कार छ !”
“देख्यौ तिम्रो जारलाई ?” रिसाउदै एकजना बोल्शेभिक चिच्यायो ।
“यहीं हो तिमीहरूको जार, खुब विश्वास थियो नि तिमीहरूलाई ! यस्तो निर्मम जन्तुमाथि विश्वास गरेका थियौ तिमीहरूले !”
मजदुरहरूले बुझे । गोली जारले नै चलाउन लगाएको थियो । जारमाथिको जनताको विश्वास सदा–सदाको लागि उड्यो ।
त्यस रगताम्य आइतबार पिटर्सवर्गमा एक हजार भन्दा बढी मजदुरहरू मारिए । पाँच हजारजना घाइते भए ।
साँझसम्म पिटर्सवर्गका सडकमा ल्याम्पपोष्ट ब·ाएर बेरिकेडहरू बनाइयो । मजदुरहरूले जारशाहीविरुद्ध सङ्घर्षको घोषणा गरे ।
जेनेभाको सिमानामा आर्भा नदीनजिकै कारुझ नामको सडक थियो । रुसी प्रवासीहरू त्यसलाई कारुझ्का सडक भन्दथे । यस इलाकामा अधिकांश बस्ती उनीहरूकै थियो । यहाँ लेपेशिन्स्की परिवारको एक भोजनालय थियो । दुवै पति–पत्नी साइबेरियाली निर्वासनताका लेनिनका साथी बनेका थिए । लेपेशिन्स्की भोजनालयलाई सबै रुसी प्रवासीहरूले चिन्दथे । पहिलो तलामा एउटा ठूलो कोठा र साधारण झ्यालको सट्टा दुई बुट्टेदार झ्यालहरू । काठका लामा र सफा कुर्सीहरू अनि एक कुनामा पियानो । यो भोजनालय मात्र होइन्, एक हिसाबले बोल्शेभिकहरूको क्लब पनि थियो । यहाँ मानिसहरू व्याख्यान सुन्थे, चेस खेल्थे, राजनीतिक चर्चा परिचर्चा गर्थे…
पिटर्सवर्गको रगताम्य आइतबारको खबर जेनेभामा पुग्नेबित्तिकै सबै प्रवासीहरू कसैको बोलावटबिनै स्वतः लेपेशिन्स्की भोजनालयमा भेला भए । सबै मौन थिए, स्तब्ध थिए, गम्भीर थिए । बोल्शेभिकहरूले बुझे रुसमा व्यापक एवं अभूतपूर्व विद्रोह सुरु भएको छ ।
“घर फर्कनुप¥यो, मातृभूमि फर्कनुप¥यो !” लेनिनले सोचिरहेथे ।
कोही शोकाकुल स्वरमा गाउन लाग्यो ।
तिमी चढ्यौ सङ्घर्षको बलिवेदीमा
अरुहरू उठे सङ्घर्षमा साथ दिए
निःस्वार्थ प्रेमले, जनताको स्नेहले
तिमीले सुम्पियौ आफ्ना सबैकुरा
ल्याउन जनताको सुख र स्वतन्त्रता
धेरैका आँखामा आँसु थिए ।
“रुसमा.क्रान्ति भइरहेको छ,” भावविह्वल स्वरमा लेनिनले भने ।
क्रान्ति ! कति जोशिलो, कति प्रिय थियो यो शब्द ! त्यसै साँझ लेनिनले ‘भ्पेर्योद’ (अगाडि बढ) पत्रिकाको लागि एउटा आह्वानपूर्ण लेख लेखे । यो बोल्शेभिकहरूको नयाँ पत्रिका थियो । ‘इस्क्रा’ माथि अब मेन्सेविकहरूले कब्जा गरेका थिए । लेनिनले लेखे– विद्रोह सुरु भएको छ । बलको जवाफ बलले दिन थालेको छ । सडकहरूमा लडाइँ भैरहेको छ, बेरिकेडहरू लगाइएका छन्, गोलीहरू पड्किंदै छन्, तोपहरू गर्जिंदै छन् । रगतका खोला बगिरहेका छन् । स्वाधिनताको लागि गृहयुद्ध सुरु भएको छ ।
“क्रान्ति जिन्दावाद !
सर्वहारा क्रान्ति जिन्दावाद !”
( प्रसङ्ग ‘लेनिन कथा’ नामको पुस्तकबाट उल्था गरिएको हो ।)
अनुवादक –माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *