भर्खरै :

मलाई शिक्षक नै भएर बाँच्न मन छ

लक्ष्मण राजवंशी
नेपाली जनता सधैं पराजित भइरहेका छन् । मैले २००७ सालको क्रान्ति पनि हेरेको छु, सबैभन्दा पछिल्लो माओवादीहरूले हतियार उठाएर गरेको क्रान्ति पनि हेरेँ । हतियार त्यागेको पनि सुनेँ । तर जनता पराजित भए । नेताहरू पराजित भए । त्यसो भए कसले जित्यो त ? किनारामा बसेर आधा माछा लिने भारतले जित्यो । हरेक परिवर्तनमा भारत जितिरहेको छ । हरेक परिवर्तनमा हामी पराजित भइरहेका छौं । तर सिधा नभने पनि सुकेकै स्वरमै सही अहिलेका सत्तासीनले यो महसुस गरिरहेका छन् । केही दिनअघि मात्र प्रधानमन्त्रीले भने, “सरकार ढाल्न धेरै षड्यन्त्र भइरहेका छन् । तर चानचुन षड्यन्त्रले सरकार ढल्दैछ ।” के भनेको यो ? सरकारले ढाल्ने को ? सरकार जनताले ढाल्ने होइन । जनताले व्यवस्था ढाल्ने हो । नेताले सरकार ढाल्ने हो । सरकार ढाल्ने त्यो नेता को हो र ती नेतालाई बल दिने शक्ति को हो ? अझ त्यही भारत यहाँ देखिन आइपुग्छ । लुकेर बसे पनि भारतको संलग्नता प्रस्ट देखापर्दछ ।
संसारमा राजनीतिक परिवर्तन हुँदा जनता हारेको मैले कहीं देखेको छैन । अमेरिकी जनताले क्रान्ति गरे, अमेरिकी जनता त्यो क्रान्तिमा हारेनन् । जनताको सङ्घर्षले बेलायती साम्राज्यवादी शक्ति पराजित भयो । आजसम्म जनता जितेकै छन् । तर हाम्रो देशमा जनताले जित्ने अवस्थामा नेताहरूले आत्मसमर्पण गरिदिन्छन् । “तिमीलाई जे मन लाग्छ, गर” भनेर सबै छोडिदिन्छन् । यो हदसम्मको अनैतिक नेतृत्व मैले संसारमा कहीं देखेको छैन । त्यही भएर यहाँ मैले के बोल्ने, के नबोल्ने, कति बोल्ने मनमा साह«ै उद्वेग भइरहेको छ ।
झण्डै चार वर्ष संसदमा बसेर काम गरेँ, बेकारमा समयमात्र खेर गयो । असह्य भएर मैले एउटा लेख नै लेखेँ, संसद भनेको त जुवाडे र बाह«मासेहरूको अड्डा पो रहेछ । त्यो भनेको के हो ? राणाको समयमा सरकारले नै पञ्चक भनेर तिहारमा पाँच दिन, दसैंमा तीन दिन जुवाको अड्डा खोल्ने चलन थियो । राजाको परिवारमा छोरा जन्मे पनि त्यस्ता अड्डा खोल्ने चलन थियो । तर निश्चित ठाउँमा मात्र त्यस्ता अड्डा खोल्ने चलन थियो । यो ठाउँभन्दा अन्यत्र खेल्न पाइनेछैन, यति दिनमात्र खेल्न पाइनेछ, त्योभन्दा अघिपछि खेल्न पाइनेछैन । घर जग्गा, बालबच्चा, परिवार दाउमा लगाउन नपाइने नियम हुन्थ्यो । संसद पनि त्यस्तै नियम भएको जुवा खानाजस्तो लाग्छ ।
चार वर्षको अनुभवमा मैले कहिल्यै पनि आफ्नो भनाइ राम्ररीसँग राख्न पाइनँ । कसैले सुन्ने पनि होइन । सभामुखको कानमा समेत हाम्रो कुरा पस्दैनथ्यो । अरूको त कुरै भएन । सभामुख त सभामुख नै थिएन, ऊ त पार्टीमुख थियो, नेतामुख थियो । उसले के गरोस् । नाममात्रको सभामुख । म संसदभित्रको पहिलो बैठकमा पहिलो मन्तव्य दिने क्रममा भनेको थिएँ– “सभामुख महोदय, हामीले बेलायतको संसदीय प्रणाली अँगालिरहेका छौं । त्यो व्यवस्थाअनुसार जब कोही व्यक्ति संसदको सभामुख बन्छ भने अर्को चुनावमा कुनै पनि पार्टीले उसको विरोधमा उम्मेदवारी दिने गर्दैन । किनभने उसले पार्टीको सदस्यताबाट राजीनामा दिइसकेको हुन्छ । सभामुख पार्टी सदस्य होइन, सभामुख सांसदहरूका अभिभावक बन्नुपर्दछ । त्यसकारण सभामुखले पार्टी त्याग्नुपर्छ । नत्र हामी विभिन्न पार्टीबाट आएका सांसदहरूले तपाईं कसरी अभिभावक मान्न सक्छौं ?”
भोलिपल्ट सभामुखसँग भेट भयो । उनले भने, ‘म पार्टीमा एक कप चिया पनि पिउन गएको छैन ।’
मैले भनँे, “पार्टीको चियामात्र किन, भोज खान जानुहोस् । कुनै आपत्ति छैन । पार्टी सदस्यता त्याग्नुस् ।” तर त्यागेनन् । हाम्रो त अभिभावक नै थिएन । हाम्रो कुरा सरकारसम्म पु¥याउने को थियो ? कोही पनि थिएन ।
धेरै त्यस्ता घटना भए । एउटा म सुनाउँछु । एक बजे एउटा बैठक बोलाइयो । राजनीतिक संवाद र मेलमिलाप समितिको बैठक थियो । म हस्याङफस्याङ गरे । बैठकस्थल पुगेँ । त्यहाँ त कोही पनि थिएनन् । न बोलाउने सभापति छ । हामी कुरिरह्यौं । एक बजेको लागि बोलाइएको बैठक राति आठ बज्यो । तैपनि सुरू भएन । कुनै खबर भएन । ९ बजे एउटा सानो थालीमा कुखुराको दुई चोक्ता मासु र चिउरा खुवाउन ल्याए । भूत मन्छाउन ल्याएको हो वा के हो ? उधुम भोक लागिसकेको थियो । खायौं । ढिला भइसकेको थियो । सबैलाई निद्राले समातिसकेको थियो । रातको बा¥ह बजे खबर आयो–अब बैठक सुरू हुने भयो । अनि बा¥हमासे खेल्न आएका जुवाडेजस्तै नेताहरूका हुल देखिए । सभामुख आफ्नो स्थानमा गए र भने, “आजको सभाको कार्यक्रम सुरू भयो, आजको सभाको कार्यक्रम सकियो ।”
यस्तो संसदले देश कहिल्यै पनि सुध्रिन सम्भव छैन । यो संसद बाह«मासेको अखडा हो । चार–पाँच नेता कहाँ लुकेर बसेका थिए, कुन्नि । उनीहरू आए अनि सकियो रे । उनीहरूले जे भन्छन्, त्यही हुने ।
अहिलेको संविधानमा ९० प्रतिशत सांसदहरूको सही छ भनिएको छ । मेरो पनि त्यसमा सही छ । तर वास्तविकता त्यस्तो होइन । त्यो ९० प्रतिशत ठूला दलका नेताहरूको मात्र संविधानमा सहमति हो । त्यही भएर आज संविधान सङ्कटमा परेको छ । सबैले संविधानमाथि औंला तेर्साइरहेका छन् । सङ्घीयताको बारे गम्भीर बहस भइरहेको छ । राजतन्त्र पुनस्र्थापना हुनुपर्दछ भन्ने कुरा औपचारिक रुपमा राप्रपाले भनिरहेको भए पनि दसैंको टीका थाप्ने बेला राष्ट्रपतिको भन्दा राजाको किन बढी भीड लागेको छ ? प्रधानमन्त्री निवासमा भन्दा किन राजाकोमा टीका थाप्नेको भीड बढी ? नेतालाई चिन्ता छ वा छैन ? गणतन्त्र आयो भनिन्छ । म त यो व्यवस्थालाई सङ्घीय लोकतान्त्रिक राजतन्त्रात्मक गणतन्त्र भन्छु । यो व्यवहारबाट पुष्टि भइरहेको छ । संसदमा सम्बोधन गर्न राष्ट्रपति आउँदा अगाडि राजस्थानी पोशाक लगाएको रिसल्ला, बेन बाजा अनि सैनिकको दफ्फा । टाढाबाट मैले हेर्दा त राष्ट्रपतिको शिरमा श्रीपेच पनि देखें । राष्ट्रपतिको शिरमा श्रीपेच छ वा छैन, व्यवहारले देखाइरहेको छ ।
बाबुराम भट्टराईजीले हटिसकेका राजाले टीका लगाउन नहुने कुरा गरे । मैले सोधें–व्यक्तिको हातबाट टीका थाप्न नहुने वा व्यवस्थाको टीका लगाउन नहुने हो ? नेताले व्यक्तिको कुरा गर्ने होइन, व्यवस्थाको कुरा गर्नुपर्दछ । आजको व्यवस्थामा राजतन्त्रवादी आएका छन्, त्यही भएर टीकाप्रथा फर्कियो । यो सामन्ती प्रथा हो ।
तपाईंहरू टीका लगाउन जानुभएको छ–छैन । म सानो हुँदा बुबासँग टीका लगाउन जान्थेँ । बुबालाई पहिले सिक्का चढाउन लगाउँथेँ अनि मलाई टीकाबापत त्यही सिक्का टिप्न लगाउँथे । टीका लगाउन पनि कर लगाउने चलन थियो । एसएलसी पास गरेका विद्यार्थीले राणाकोमा गएर कर तिर्न जानुपथ्र्यो । गोरखा दक्षिणबाहु लिन जान पनि कर तिनुपथ्र्यो । ती सबै सामन्ती संस्कार हुन् । त्यस्ता सामन्ती संस्कार तोडिएका छैनन् । सामन्तवादको एउटै अवशेष राजामात्र हट्यो, तर राजाले गर्ने अरू सबै कामले निन्तरता पाइरहेका छन् ।
केही दिनअघि मैले फेसबुकमा पढेँ– प्रचण्ड पुत्री रेणु दाहालले भनेकी रहिछिन्, “म पनि भोलि प्रधानमन्त्री बन्न सक्छु ।” यस्तै ढाँचा हो भने उनी पक्कै प्रधानमन्त्री बन्नेछन् । प्रचण्डकी श्रीमती पनि बन्न सक्नेछ । देउवाका श्रीमती, छोरा पनि बन्न सक्नेछन् । किनभने अहिलेको यो व्यवस्था लोकतान्त्रिक होइन ।
हामीले मतदान ग¥यौं । मत नदिंदासम्म हामी मतदाता, जब मतपेटिकामा खसिसक्छ, हामी काम नलाग्ने बनिसकेका हुन्छौं । जुन जनताले मतदान गरेर प्रधानमन्त्री र राष्ट्रपति बनाएका हुन्, तिनै मानिसहरूबाट टीका लगाउनु भनेको के हो ? टीकाप्रथा भनेको विशुद्ध सामन्तवाद, नोकरशाही प्रथा हो ।
एक पटक मैले एमालेका नेताहरूलाई भनेको थिएँ, “तपाईंहरूका राष्ट्रपति (मैले मेरो भन्न सकिन्नँ) कतै जाँदा मोटरमा होइन, हेलिकप्टरमा लिएर जानुहोस् । किन जनतालाई घण्टौं घण्टा दुःख दिने गर्नुहुन्छ ?” तर गरेनन् । किन ? किनभने उनीहरूलाई आफू राजा भएको देखाउनु छ, तामझाम गर्नु छ ।
हामीले यस्तो व्यवस्था खोजेका होइनौं ।
प्रधानमन्त्रीले भनेका छन्, “यो सरकार पाँच वर्ष टिक्छ । यही सरकारले चुनाव गर्नेछ ।” यो कसलाई सुनाएका हुन् ? जनताले त पाँच वर्षकै लागि पठाएका हुन् नि । फेरि कसलाई सुनाएको हो यो ? प्रधानमन्त्रीले कसलाई जवाफ दिएका हुन् ? प्रचण्डले भारत भ्रमणको क्रममा दुई वर्षपछि आफू प्रधानमन्त्री बन्ने कुरा बोलेको कुरा अमेरिका पुगेका प्रधानमन्त्रीको कानमा पुग्यो । फर्केर उनले त्यस्तो बोले । जवाफ कसलाई दिएको ?
प्रधानमन्त्रीले भने, “सरकारलाई टेरेन ।” कसले नटेरेको ? किन नटेरेको हो ? के कारणले टेरेन ? नटेर्नुका कारण खोज्ने कि आफैं मूर्ख बनेर टेरेन भनेर कराउँदै हिंड्ने ? नटेरेको प्रशासनले हो । प्रशासनले किन टेरेन त ? किनभने त्यहाँ प्रशासक होइनन्, पार्टीका कारिन्दाहरू भर्ती गरिएका छन् । पार्टीका कार्यकर्तालाई किन टेर्ने ? मन्त्रीहरूले कर्मचारीहरूलाई ठेगान लगाउने कुरा गर्छन् । यो रवैया उचित होइन ।
विधिको शासनको कुरा उठ्छ । के भए विधिको शासन हुन्छ ? बेलायतमा लिखित संविधान छैन । तर विधिको शासन, कानुनको शासनको पालना हुन्छ भने त्यहाँ कसैले नटेर्ने कुरा उठ्दैन । गरे व्यवस्थाले नै ठेगान लगाउनेछ । तर हाम्रो देशमा त अपराधीले पनि उन्मुक्ति पाइरहेको छ । भर्खरै पूर्वआइजीपी अच्युतकृष्ण खरेलको आत्मसंस्मरण प्रकाशित भयो । गृहमन्त्री स्वयं विमानस्थलमा आएर सुन ओसार्ने गरेको कुरा त्यसमा लेखिएको छ । त्यस्ता गृहमन्त्रीलाई कसले किन टेरोस् ।
मेरो विचारमा त बहुदलीय व्यवस्थाबाट देशको विकास कहिले पनि हुनसक्दैन । धेरै पार्टी हुँदा देशको विकास असम्भव हो । दुई दल–पञ्चायत पक्षधर र पञ्चायत इतर दल । २०४६ सालको जनआन्दोलनपछि मैले यो कुरा मनमोहन अधिकारी, तुलसीलाल अमात्यलाई पनि चित्त बुझाएको थिएँ । तर काङ्गे्रसका गणेशमान सिंह यो विषयमा मान्नुभएन । मेरो कुरामा मैले उहाँलाई चित्त बुझाउन सकिनँ । बहुदलको नाममा बहुरुपीहरू आइरहेका छन् ।
म राजनीतिक मानिस होइन । म साधारण शिक्षक हँु । मलाई जबरजस्ती संसदमा लगेर राखे । आजभोलि मलाई पूर्वसांसद भन्दा मुखमा कालोमोसो दलेजस्तो लाग्छ । मलाई शिक्षक भएर बाँच्न मन छ । शिक्षकलाई कसैले पूर्वशिक्षक भन्दैनन् । डाक्टरलाई कसैले पूर्वडाक्टर भन्दैन । मलाई पूर्वसांसद नभनिदिनुहोला । त्यसो भन्दा मलाई सरापेको जस्तो महसुस हुन्छ । म यो संसदप्रति अत्यन्त घृणा गर्छु । बाह«मासेहरूको हुलबीच के बस्नु ! बेकार ।
अहिलेको नेपालको अवस्था यो सरकार ढाल्दा पनि नहुने, नढाल्दा पनि नहुने अवस्था छ । सरकार ढाल्ने पनि सरकारभित्रैबाट हुने हो । यसमा भारतको हात पक्का हुने गर्दछ । नखाऊँ दिनभरको शिकार, खाऊँ कान्छा बाको अनुहार ।
(लेखक लक्ष्मण राजवंशी ले ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन राख्नुभएको मन्तव्यको सार– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *