भर्खरै :

माक्र्सवादी साहित्यको अनुवाद ः एक चर्चा

सुरेश
“पुरानो पुस्ताले नयाँ पुस्ताको सेवा गर्नुपर्छ, विदेशी ज्ञानले स्वदेशको सेवा गर्नुपर्छ ।”  माओ त्सेतुङ्ग
माक्र्सको २०० औं जन्मजयन्तीमा माक्र्सवादी साहित्यको चर्चाको लहर चलेको छ । नेपाली बजारमा माक्र्सवादी साहित्यले ठाउँ पाएको छ । माक्र्सका आफ्नै रचना र माक्र्सवादको विवेचना गरिएका साहित्य दुवै माक्र्सवादी साहित्यमा पर्छन् । त्यसमा पनि हामीकहाँ दोस्रो किसिमका साहित्यको आधिक्य छ । तर पनि स्थिति सन्तोषप्रद छैन । यसलाई सुधार्ने दुई काइदा छन् । एक, माक्र्सवादको मसिनो अध्ययन भएका नेपाली लेखकहरू बढाउनु । अर्को, अब्बल अनुवादकहरू हुर्काउनु । यी दुवै प्रयासलाई सँगै लगिनुपर्छ । यहाँ भने दोस्रो काइदामा केन्द्रित भई केही चर्चा गर्ने प्रयास गरिएको छ ।
सानो संवादबाट सुरु गरौं । नेपालीमा उल्था गरिएका माक्र्सवादी साहित्यको सकसपूर्ण अध्ययनबाट आजित एक सामान्य पाठक र कहलिएका अग्रज अनुवादकबीच भएको संवाद शिष्टाचारको अंश हटाएर सुनौं ।
“हजुरको अनुवादबारे मनमा लागेका एकदुई कुरा भन्न चाहन्छु है ?”
“हुन्छ, भन्नुस् ।”
“हजुरको अनुवाद अलि जटिल लाग्छ । धेरै हिन्दी शब्द ज्यूँकात्यूँ राख्दा बुझ्न गा¥हो भो ।”
“हैन । हिन्दी त उल्था गरेकै छु । अँ, संस्कृतका शब्दहरू भने जस्ताको तस्तै राखिएको छ । …. कतिपय शब्द अलि टेक्निकल हुन्छन् भाइ । अनुवादको आधिकारिकता पनि त हुनुप¥यो ।”
“हजुरको अनुवाद अलि जटिल लागेर भनेको हो ।”
“अँ, धेरैले भन्छन् । मेरो बारेमा धेरैले धेरै थरी कुरा भन्छन् । आफैले बुझ्दैन, अनि कसरी अनुवाद गर्छ भन्छन् । कसैले यसलाई अनुवाद गर्नै आउन्न भन्छन् ।”
“हत्तेरीका । बोली पासो भो ।” (मनमनै)
यो संवादले अनुवाद साहित्यबारे केही कुरा घोत्लिन बाध्य पार्छ । यहाँ पाठकको समस्या बुझाइको हो भने अनुवादकका दुई समस्या देखा परे । एक, प्राविधिक शब्दावली अथवा जार्गनको समस्या । अर्को, ती शब्द राखिएन भने आधिकारिक नभइने हो कि भन्ने पीर । यसबाहेक माक्र्सवादी साहित्य अनुवादसम्बन्धी अर्को समस्या पनि यहाँ लुकेको छ । त्यो हो भाषाको समस्या । नेपाली विद्वानहरू हिन्दी वा अङ्ग्रेजी भाषामा माक्र्सवाद पढ्न बाध्य छन् । त्यसमा पनि हिन्दीबाट पढ्नेहरू धेरै । माथिको संवादमा उल्लेख अनुवादक हिन्दीमा बढी भर परेको देखिन्छ । आजभोलि भने अङ्ग्रेजीमा माक्र्सवादी साहित्य अध्ययन गर्ने सहरी पाठक बढेको देखिन्छ । तैपनि बहुसङ्ख्यक पाठक नेपालीमै भरपर्दै आएकोमा दुईमत छैन ।
सहरका युवाहरू गाउँका भन्दा पहिले माक्र्सवादी साहित्यको पहुँचमा पुग्नु स्वाभाविक छ । नेपालमा माक्र्सवादको बारेमा थाहा पाउने पुस्ता राणाकालीन हो । यसमा काशी बनारस पढ्न गएका बाहुन र काठमाडौंका रैथाने नेवार समुदायका युवा पर्छन् । यसले पनि अनुवादलाई प्रभावित गरेको छ । ती अग्रजको योगदान र सदाशयता आफैमा अतुलनीय छ । मातृभाषा नेपाली नभएकाहरूले उल्था गर्दा दोस्रो भाषामा उल्था गर्दा बेहोर्नुपर्ने समस्या भोग्नुपरेको यथार्थ हो । भाषा सलल नबग्नु, शब्दचयनमा समस्या र व्याकरणका दोष आदि । अर्को हो, मातृभाषा नेपाली भए पनि संस्कृतका पनि उत्तिकै पारखी उल्थाकारको समस्या । खासगरी हिन्दीबाट उल्था गर्दा हिन्दीमा संस्कृतबाट पुगेका तत्सम शब्द र स्वयं हिन्दी र उर्दूका कतिपय जटिल शब्दको दुरुस्तै प्रयोगले अनुवादलाई झन् झिँझोलाग्दो बनाइदिने गर्छ । यो एकप्रकारको पाण्डित्य प्रदर्शन बन्न पुगेको छ । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित केही अनुवादमा पनि यस्तो प्रवृत्ति देखिन्छ । अन्य समस्या पनि छन् ।
जटिल जार्गनका लागि नेपाली शब्द र ऐतिहासिक, सामाजिक अनुभव नहुनु अर्को समस्या हो । माक्र्सवाद हाम्रो समाजभन्दा पनि धेरै उन्नत अवस्थामा विकसित भयो । माक्र्सले अध्ययन गरेको तत्कालीन युरोपेली समाजले भोगेका जटिलताबारे सामान्य नेपाली पाठकमात्रै होइन कतिपय अनुवादक पनि जानकार नभएको देखिन्छ । त्यसैले कतिपय अनुवाद कर्मकाण्डी वा शाब्दिक अनुवादजस्ता बन्न पुगेका छन् । खासगरी सोभियत सङ्घको प्रगति प्रकाशनबाट निस्केका कतिपय सैद्धान्तिक एवं साहित्यिक रचनाको अनुवादमा यो खोट देखिन्छ । यस कोटीका अनुवादमा मिश्र र संयुक्त वाक्यहरूको भरमारले खास विचार बुझ्न झन्झटिलो हुन गएको छ । यसमध्ये अधिकांशमा अनुवादकको दोष देखिन्छ । किनभने हिन्दीमा गरिएका तिनै रचनाको अनुवाद भने सजिला छन् । उदाहरणको लागि रमेश सिन्हाले गरेको “कलासाहित्य सम्बन्धी माक्र्स र एंगेल्स” को अनुवाद र नेपालीमा गरिएको यसै रचनाको अनुवाद दाँजौं । मानौं तुर्गनेभको उपन्यास “पिता र पुत्र” को हिन्दी र नेपाली अनुवाद नै लिउँ । यो भेद प्रस्ट हुन्छ । गोर्कीको “आमा” उपन्यासको नेपाली अनुवादमा हिन्दी प्रभाव देखिए पनि अन्य केही रचना भने हिन्दीभन्दा राम्रा पनि भएका छन् ।
खगेन्द्र संग्रौलाको अनुवादमा माओका सङ्कलित रचनाले जति सरलता पाए त्यति नै दुरुह बने लेनिनका सङ्कलित रचना राजेन्द्र मास्केको अनुवादले । जबकि टिप्पणीकारले सुनेअनुसार संग्रौलाको अनुवाद तेस्रो भाषा अर्थात् अङ्ग्रेजीबाट गरिएको हो भने मास्केको अनुवाद मूल भाषा रुसीबाट गरिएको हो । कसैले तर्क गर्लान्, लेनिनको शैली नै जटिल हो । यदि त्यसको हो भने प्रसिद्ध रुसी कवि मायोकोभ्स्कीले लेनिनको विख्यात रचना “राज्य र क्रान्ति” को काव्यिक भाषाको तारिफ नगर्दा हुन् । साथै त्यहीं रचनाको अङ्ग्रेजी अनुवाद त्यत्तिको मीठो नहुँदो हो । त्यहीं हाल छ आइतमातोभको रचना “प्रथम शिक्षक” र “प्रथम गुरु” को । पहिलो अनुवाद कृष्णप्रकाश श्रेष्ठको हो भने दोस्रो संग्रौलाको । यसले देखाउँछ अनुवादकमा अनुदित भाषा जानेरमात्रै सुख छैन नेपाली भाषामा पनि राम्रो पकड हुन आवश्यक छ । संग्रौला यस मानेमा काइदाका नमुना हुन् । त्यसैले नेपाली छापामा कहिलेकाहीं उनको बोली सुनिन्छ, अनुवादकर्ममा सुहाउँदा कर्ता साहित्यकार हुन् । तर यतिले मात्र पुग्दैन । एकपटक एक साहित्यकारले अङ्ग्रेजीको कभचष्अगतिगचभ को उल्था रेशम संस्कृति भनेर गरे । जबकि कभचष्अगतिगचभ को अर्थ हो रेशम खेती । त्यसैले जुन भाषाबाट उल्था गरिएको हो त्यसको भाषा, साहित्य, इतिहास र जनजीवनबारे पनि जानकार हुन त्यत्तिकै आवश्यक छ । अनुवादको सम्बन्धमा एंगेल्सको जोड पनि यसैमा छ ।
अब आधिकारिकताको प्रसङ्गमा आउँ । माथिको संवादका उल्थाकारलाई आधिकारिक नभइने हो कि भन्ने पिरलो छ भन्ने छर्लङ्गै देखिन्छ । यहीं पिरलो नेपालमा अहिले धेरै वैज्ञानिक र माक्र्र्सवादी रचनाको अनुवाद निकालिरहेका रमेश सुनुवारहरूको छ । राहुल सांकृत्यायनजस्ता सरलतम् लेखक पनि सुनुवारको हातमा परेर वेदका लेखकझैं क्लिष्ट बन्न पुगेका छन् । उनले उल्था गरेको सांकृत्यायनको “वैज्ञानिक भौतिकवाद” मा निधार खुम्चाउनुभन्दा हिन्दीमा थोरै कसरत गर्ने हो भने पाठकले बढ्ता लाभ लिन सक्छन् । त्यसो त सुनुवार स्वयंको भाषा आफैमा नराम्रो होइन । उनका मौलिक रचनाको भाषा राम्रो छ । त्यो भए समस्या के त ? टिप्पणीकारले विश्वस्त स्रोतअनुसार समस्या हो आधिकारिकताको । आफ्नो रचनालाई आधिकारिकता प्रदान गर्ने नाममा पाठकको निधारमा अनावश्यक मुज्जा पार्नु आफैमा एक आडम्बरमात्र हो । वास्तवमा यो माक्र्सवादी स्पिरिट पनि होइन । माक्र्सलाई लेखेको एक पत्रमा एंगेल्सले यस्ता अनुवादकको खिल्ली उडाउनुभएको छ ।
यहींनिर देखापर्छ अनुवादकको उद्देश्यको प्रश्न । समस्याका वास्तविक जराहरू यहीँ भेटिन्छन् । पुष्पलालले उल्था गरेको “कम्युनिष्ट घोषणापत्र” सामान्य पाठकले अलिअलि सन्दर्भसहित पढेको खण्डमा बुझ्न सकिने खालको छ भने नेपालीमा प्रकाशित घोषणापत्रका अन्य अनुवादहरू त्यसको दाँजोमा दाँतमा अड्किने खालका छन् । पुष्पलालको अनुवादमा साधारण नेपालीलाई घोषणापत्र बुझाउनुपर्ने जिम्मेवारी वा उद्देश्य झल्किन्छ । उनले जनबोली टपक्क टिपेका छन्, कताकति नेपाली टुक्काहरू पनि प्रयोग गरेका छन् । घोषणापत्रका अन्य केही उल्थामा भने आधिकारिकता प्राप्त गर्ने तिर्सना भेटिन्छ । कतिमा यो सार्थक पनि भएको छ भने कतिमा यो प्रत्युत्पादक बन्न गएको छ । यस्तो प्रवृत्तिले माक्र्सवादको अध्ययनमा रुचि लिने नवअध्येतालाई आकर्षित नगरेर परपर लघार्छ । हिन्द धर्मग्रन्थका भाष्यकारले जस्तो आफ्ना कुरा पनि थपथाप गर्नुपर्छ वा मूल रचनामा काँटछाँट गर्नुपरे पनि अनुवादलाई सरल बनाउनैपर्छ भन्ने टिप्पणीकर्ताको आशय किमार्थ होइन । तर सकेसम्म अनावश्यक दुरुहताबाट बँच्नैपर्छ । स्मरणरहोस्, युरोपमा प्रकाशित घोषणापत्रका अनेक अनुवादमध्ये एंगेल्सले रुसी अनुवादको उच्च प्रशंसा गर्नुभएको थियो । रुसका यस्तै सिपालु अनुवादकहरूकै कारण रुसी नयाँ पुस्ताका क्रान्तिकारीमा माक्र्सवादको बुझाइ गहिरो भएको हुनुपर्छ । अनि त्यहाँ लेनिनहरू किन नजन्मून् !
माक्र्सवादले व्यापक जनतामा आफ्नो भौतिक शक्ति भेट्छ । त्यसैले यसलाई साधारण मजदुर, किसान, दलित, उत्पीडित र आदिवासी सबैमाझ पु¥याउने दायित्व अनुवादकको पनि हो । माक्र्सवादलाई संसार बुझ्ने औजार त हुनेखानेहरूले धेरै पहिलेदेखि बनाउँदै आएका हुन् । त्यसैले पण्डिताउ भाषामा उल्था कार्यमा जुट्ने “जैविक बुद्धिजीवी” भनाउँदाहरूको कोसिस आफैलाई पँुजीवादी बुद्धिजीवीहरूबाट आधिकारिकता दिलाइपाउँ भनी बिन्ती बिसाउनुजस्तै हो । जनताको स्तर उठाउनु नै माक्र्सवादी प्रचार र अध्ययनहरूको उद्देश्य हुनुपर्छ । हटाउनै नसकिने अप्ठ्याराहरूलाई भने प्रशस्त टिप्पणी र व्याख्यासहित प्रस्तुत गर्दा राम्रो हुन्छ । त्यस्तै जार्गनहरूलाई पनि हिन्दी संस्करणमा भेटिने संस्कृत सम–अर्थीहरूभन्दा पनि नेपाली जनजीवनमा पाइने शब्दावलीहरूबाटै उल्थाउने कोसिस गर्नुपर्छ । आवश्यक परे व्याख्यासहित नौला नेपाली पदावली बनाउने हिम्मत पनि गर्नुपर्छ । “माक्र्सको अनुवाद कसरी गरिनु हुन्न” भन्ने रचनामा एंगेल्सले यस्ता तरिकाबारे विस्तृत चर्चा गर्नुभएको छ ।
नेपालमा माक्र्सवादी साहित्यको प्रचार गर्ने उद्देश्यले लेखिएका साहित्यको कमी छ । अनुवादलाई सजिलो तुल्याउने यस्ता व्याख्यात्मक साहित्यले पनि हो । तेलुगुजस्ता दक्षिण भारतीय भाषाहरूमा त एउटा अनौठो प्रयोग भएको पाइन्छ । त्यहाँ “बच्चों के लिए” भन्दै महत्वपूर्ण माक्र्सवादी रचनाका बालसंस्करणहरू छापिँदो रहेछ । राहुल सांकृत्यायानको “भागो नही दुनिया को बदलो”, “पुँजी” का अवधारणाजस्ता विविध विषयमा बालसाहित्य देख्दा टिप्पणीकार दङ्ग परेको थियो ।
माक्र्सवादी साहित्य आजभोलि पहिलेको तुलनामा निकै कम छापिन्छ । छापिए पनि अलि ठूलो आकारमा, झिलिमिली कलेवर, चिल्ला पाना र महँगो मोलमा पाइन्छन् । यसले पनि माक्र्सवादी साहित्य आम जनतामाझ पुग्न ससानो छेकबार लगाइदिन्छ । यसको अर्थ ठूला ग्रन्थ र अलि बौद्धिक खालका पुस्तक छाप्नै हुन्न भन्ने होइन । तैपनि शोषितपीडित जनताको पहुँचमा माक्र्सवादलाई पु¥याउनु छ भने खस्रै पाना भएपनि, ससाना र सस्ता खालका पुस्तिकाहरू छापिन जरुरी छ । (सस्ता किताबबिना गोर्कीको बौद्धिक विकासको कल्पना गरौं त !) यस्ता पुस्तिकाको भाषा सरल त हुनैपर्छ, साथमा तिनको प्रकाशन तीव्र पारिनुपर्छ । फेरि व्यक्तिगत प्रयासले पनि यस्ता पुस्तिकाहरू सजिलै छापिन सक्छन् । भारतमा यस्तो प्रचलन रहेको पाइन्छ र यो प्रभावकारी पनि हुन्छ ।
सारमा, अनुवाद साहित्यले फ्रान्सेली राज्य क्रान्ति, रुसी अक्टोबर क्रान्ति, चिनियाँ क्रान्तिजस्ता धेरै क्रान्तिमा निकै महत्वपूर्ण भूमिका खेलेको इतिहास छ । नेपालमा पनि कामदार वर्गको मुक्तिमा योगदान गर्ने गरी माक्र्सवादी साहित्यको प्रचारप्रसार आवश्यक छ । यसमा अनुवादकहरूको विशेष देन हुन्छ । नेपालमा अनुवादकको भूमिका अझै पनि ओइलाएको छैन । त्यसमा पनि जनबोली पक्रन सक्ने र जार्गनप्रति आशक्ति नभएका अनुवादकको खाँचो छ । वाक्यलाई टुक्राएर भएपनि विचारलाई छर्लङ्ग बनाउने अनुवादहरूले नै धेरैभन्दा धेरै मानिसलाई माक्र्सवादप्रति आकर्षित गर्नेछन् । अनि माक्र्सवादले जनतामा आफ्नौ भौतिक हतियार भेट्नेछ । त्यस्तो अनुवादले नेपाली समाजवादी क्रान्तिमा योगदान गर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *