भर्खरै :

दसैं, मन्दिर र चियापानरु

 एस.डी. राजचल
गणतान्त्रिक शासन व्यवस्थामा राजतन्त्रका धेरै कमीकमजोरी हट्ने आम जनताको विश्वास थियो । राजतन्त्रमा राजाले गर्ने धेरै कामहरू गणतन्त्रवादीहरूले रुचाएका थिएनन् । राजाले दसैंको शुभकामनास्वरुप विशिष्टहरूलाई टीका लगाइदिने र विभिन्न मठ–मन्दिर चहारेर राज्यकोषको दुरुपयोग गर्थे । संविधानमा धर्म निरपेक्षको प्रावधान र गणतन्त्रसमेतको व्यवस्थाले केही सुधार आउने धेरैको अनुमान थियो । तर, आखिर गणतन्त्रात्मक शासन व्यवस्थामा पनि राजतन्त्रमा भए गरेका काम दोहोरिएका छन्, आफूलाई गणतन्त्रवादी भन्न चाहनेहरूले त्यसलाई पछ्याइरहेका छन् । राजतन्त्र र गणतन्त्रबीच शाब्दिक अर्थमा भिन्न भए पनि व्यवहार गणतान्त्रिक हुन सकेन ।
दसैंमा राजाले नागरिकहरूलाई टीका लगाइदिने धार्मिक परम्परा गणतन्त्र स्थापना भएको एक दसक पुग्दा पनि निरन्तर कायम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान र पूर्वविशिष्टहरूलाई टीका लगाइदिएको समाचार र तस्बीर हेर्नलायकका थिए । टीका लगाइदिने राष्ट्रपति कुर्सीमा हुनु र टीका थप्न आउनेहरू पूर्व र वर्तमान विशिष्टहरू दुवै घुँडाले भुइँमा टेकेर टीका थप्दै गरेको दृश्य देख्दा कतिले गणतन्त्रमा राजतन्त्र फर्केको वा राजाको ठाउँमा नयाँ राजाहरू जन्मेको भन्दै आक्रोश पोखे । विशिष्टहरूलाई शपथ खुवाउने न्यायाधीशसमेतलाई धनुष्टङ्कार शैलीमा टीका थप्न लगाउने कथित विशिष्टहरूको टीका थाप्ने तौरतरिकाले शासकहरूको मानसपटलमा दासयुग अझै जीवित देखियो । विशिष्टहरू टीका थाप्न होइन, राष्ट्रपतिसमक्ष चाकरी गर्न आएको टिप्पणी गर्नेहरू पनि कम छैनन् ।
आखिर गणतन्त्र र राजतन्त्रबीचको भिन्नता के हो ? संविधानमा आज धर्म निरपेक्ष र हिजो हिन्दू अधिराज्य उल्लेख गर्नुले शासकहरूको व्यवहारमा के फरक पर्दछ ? जवाफ सजिलो छ, गणतन्त्रमा राजा हुँदैन, राजा नभएपछि उत्तराधिकारी हुने सवाल नै भएन । निर्वाचनबाट राष्ट्रपति चुनिन्छ । राष्ट्रपति निर्वाचित हुने हुनाले जनताको इच्छा, आकाङ्क्षा र मनोभावना बुझेर काम गर्ने वा शासन गर्ने धेरैको बुझाइ थियो । राजतन्त्रात्मक मुलुकमा वंशजको आधारमा राजाको नियुक्ति हुने गर्दछ । राजगद्दीमा राजदरवार बाहिरका कसैले आँखा लगाउन पाइँदैनथ्यो । राजा र राजकुमारहरू खानदानी परिवारमा हुर्किने भएकाले जनभावना र जनइच्छाअनुसार शासन गर्न कठिन हुन्थ्यो । यसको कारण देशमा निरङ्कुशता जन्मिने खतरा रहन्थ्यो । तर, आज देश गणतन्त्रमा गएको भए तापनि निर्वाचित राष्ट्रपतिले गर्ने काम र राजाले गर्ने काममा केही सुधार नभएको जनताको अनुभव छ । हिजोआज गणतन्त्रमा देखिएका विनाश्रीपेचका नयाँ राजाहरूका कारण देशमा गणतन्त्र आएको हो वा राजतन्त्र जीवित छ ? जनता अन्योलमा छन् । व्यवस्थामा परिवर्तन भए पनि शासक दलका नेताहरूको संस्कार र प्रवृत्तिमा परिवर्तन नआउँदाको परिणाम भएको छ– यस्ता विकृति ।
राष्ट्रपतिको मन्दिर मोह
पहिले संविधानमा हिन्दू अधिराज्यको प्रावधान भएअनुसार राजा विभिन्न शक्तिपीठमा चहार्ने गर्थे । तर मु्लुक धर्मनिरपेक्ष भइसकेको अवस्थामा विशिष्ट व्यक्ति वा सार्वजनिक पदाधिकारीहरू कुनै धर्म विशेषको आस्थाको केन्द्रमा नजानु उचित हुन्थ्यो । तर, विडम्बना ! पञ्चायती परम्परालाई निरन्तरता दिंदै राष्ट्रपतिको मन्दिर भ्रमणले उनको गरिमालाई बढाएको होइन, घटाएको छ । जनताको विश्वासमा आँच आएको छ ।
सिद्धान्ततः कम्युनिष्ट नेताहरू भौतिकवादी हुन्छन् । संसार परिवर्तनशील छ । संसारमा भएका सारा चिजहरू जो देख्न र छुनसक्दैनन् तिनीहरूको अस्तित्व स्वीकार गर्नुहुँदैन भन्ने मान्यता भौतिकवादीको छ । यस अर्थमा वैज्ञानिक हिसाबले देवी देवताको अस्तित्व प्रमाणित भइनसकेकाले त्यसको अस्तित्व स्वीकार गर्नुहुन्न । यद्यपि गत वर्षझैं यस वर्षको कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी भक्तपुरको नवदुर्गा मन्दिरमा गई पूजाअर्चना गरिन् । राष्ट्रपति सार्वजनिक पद हो र यो सबै धर्मावलम्बीको साझा पद हो । यस्तो उच्च पदमा आसीन व्यक्ति संविधानको भावनाविपरीत हिंड्नु उचित होइन ।
उक्त मन्दिर दर्शनका क्रममा केही शुभचिन्तकहरूले भक्तपुर नगरपालिकाका प्रमुख उपप्रमुख र प्रदेश तथा सङ्घीय सांसदहरू उपस्थित नहुनुलाई सिद्धान्त र वैचारिक अडानका रुपमा बुझेका छन् । यस्तो काममा स्वार्थबाट प्रेरित लोभीपापीहरू सफल हुने गर्दैनन् । तर आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरूबाट पटक–पटक यस्ता संविधानविरोधी र सिद्धान्तविपरीतका कार्यहरू भइरहेका छन् । यसले दल र नेताहरूको वैचारिक स्खलनप्रति जनताले प्रश्न गर्ने अवसर मिलेको छ ।
आधा लाखलाई चियापान
२०३३ मा नेता वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि उनले दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा शुभकामना तथा चियापान गर्दै आइरहेका थिए । उनको यही शैलीलाई अनुशरण गर्दैछ यतिखेर नेपाल कम्युनिष्ट पार्टीले ।
नागरिकको विवाहमा जन्तीको सङ्ख्या र विवाहमा भोज आउने सङ्ख्या निर्धारण गर्नुपर्ने सूचना दिने सत्तासीन दलका नेताहरूले चाडको अवसरमा आधा लाख जनसङ्ख्यालाई चियापान कार्यक्रममा अतिथि बोलाउनु कतिको सान्दर्भिक छ ? सर्वहारा वर्गको पार्टी भनेहरूले आफ्नो विचारसँग सहमत हुने र नहुने जोसुकैलाई चियापानमा सरीक गराउने बजेट कसरी जुट्यो ? त्यसको उद्देश्य के हो ? जनताको प्रश्न छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *