भर्खरै :

गुरुहरूकै यस्तो चाला !

–सुरज सिंह
देशको सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरू विश्वविद्यालयबाट तलब–सुविधा लिएर निजी कलेजमा पढाउने र व्यक्तिगत काममा धाउने गरेको बताइएको छ । यो कसैको पूर्वाग्रही आरोप वा कल्पना होइन, बरु प्रधानमन्त्री मातहतको अनुसन्धान निकाय राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्ष हो ।
त्रिविका प्राध्यापकहरूले सातामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने नियम भए पनि ३–४ वटाभन्दा बढी कक्षा लिएको नपाइएको र कतिपय प्राध्यापक, उपप्राध्यपक र सह–प्राध्यापकहरू कुनै कक्षा नै नलिई तलब–सुविधा पचाइरहेको पाइएको छ । यसमा त्रिविका पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको पनि मौन समर्थन देखिएको बताइएको छ । प्राध्यापक र कर्मचारीहरूको यस्तो अनियमितता र लापरवाहीका कारण त्रिविको शिक्षाको स्तर दिनप्रतिदिन खस्कँदै गएको, नियमित कक्षा सञ्चालन गर्न चाहने सङ्काय र कलेजहरूले अस्थायी र करारमा उप–प्राध्यापकहरू नियुक्ति गर्नुपरेको र त्रिविलाई आर्थिक भार थपिंदै गएको पनि औंल्याइएको छ ।
त्यस्तै केन्द्रीय क्याम्पसलगायत त्रिवि अन्तर्गतका थुप्रै क्याम्पसमा विश्वविद्यालय आफैंले बनाएको शैक्षिक क्यालेण्डर लागू नभइरहेको र त्यही कारण परीक्षा र नतिजा प्रकाशन कार्यमा दिलासुस्ती भइरहेको र अरु पनि थुप्रै अनियमितता त्रिविमा व्याप्त रहेको बताइएको छ । विद्यार्थीहरूलाई नैतिक शिक्षा र ज्ञान बाँड्नुपर्ने प्राध्यापक –शिक्षकहरूकै यस्तो चाला भएपछि तिनीहरूबाट विद्यार्थीले के सिक्लान् ? के–कति आदर गर्लान् ? विश्वविद्यालयको गुणस्तर वृद्धि भई ख्याती बढेमा नै मात्र सम्पूर्ण प्राध्यापक, पदाधिकारी र कर्मचारीहरूको पनि इज्जत–प्रतिष्ठा वृद्धि हुने, समाजमा आदर–सत्कार मिल्ने कुरामा विवाद नहोला । प्राध्यापक, पदाधिकारी र कर्मचारीहरूमा यस्तै कामचोर प्रवृत्ति हावी भएमा न विश्वविद्यालय राम्रो बन्नेछ न त विद्यार्थीहरूकै भविष्य सुन्दर हुनेछ । कामचोरहरूप्रति जनमानसमा कुनै इज्जत–प्रतिष्ठा नरहने बरु वितृष्णा र अनादर बढ्दै जानेबारे सम्बन्धित सबै निकाय, पदाधिकारीहरू र स्वयं प्राध्यापकहरू सजग हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *