भर्खरै :

अक्टोबर क्रान्ति र यसको महत्व (नेपालको परिप्रेक्ष्यमा)

का. रोहित
(सन् १९१७ को नोभेम्बर महिनामा रुसमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको ७० औं वार्षिकोत्सव कार्यक्रमका सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का.रोहितले विसं २०४४ साल मंसिरमा लेख्नुभएको यो लेख आज पनि अध्ययनका लागि सान्दर्भिक भएकोले अक्टोबर समाजवादी क्रान्तिको १०१ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको छ–सं)
आज हामी रुसी अक्टोबर समाजवादी क्रान्तिको ७० औं वार्षिकोत्सव समारोह मनाउँदै छौँ । नेपालका विभिन्न राजनैतिक समूह र संस्थाहरूले पनि यस दिवसलाई मनाउँदै छन् । क्रान्तिको परिस्थिति र अनुभवबारे अक्टोबर क्रान्तिका दिशा निर्देशक लेनिनले यसरी व्यक्त गर्नुभएको छ– “शासित वर्ग पहिलेको अवस्थामा बस्न नचाहेको र शासक वर्गले पहिले जस्तो शासन गर्नै नसक्ने अवस्थामा क्रान्ति हुन्छ ।”
रुसी समाजवादी क्रान्तिको निम्ति कस्ता भौतिक परिस्थितिहरू तयार भएका थिए भन्ने केलाउनु उपयुक्त हुन्छ ।
१) क्रान्तिभन्दा पहिले रुसको ६५ प्रतिशत जनता गरिबीको रेखामुनि थियो ।
२) ३० हजार जमिन्दारहरूको हातमा १ करोड किसानहरूको जत्तिकै जग्गा थियो ।
३) १ करोड ४० लाख मानिसहरूलाई कामबाट निकाली सेनामा भर्ना गराइएको थियो ।
४) खेतीपातीमा लगाइने गाई गोरु पनि सेनाको रसद पानी वा खुराकमा लगाइएको थियो । त्यसले खेतीको काममा ठूलो बाधा प¥यो । किसानहरूलाई सा¥है दुःख भयो ।
५) उद्योगधन्दाहरू बन्द हुँदै थिए र मजदुरहरू कामबाट निकालिदै थिए ।
६) यातायातको बन्दोबस्त गर्न सरकार असफल हुँदै थियो ।
७) जनतालाई समयमा खाद्य सामग्री पु¥याउन सरकार असफल भयो । देशभरि भोकमरी छायो ।
सन् १९१७ को जनवरी महिनादेखि नै मजदुर र किसानहरूको विरोध र असन्तोष बढ्दै गयो । आफ्नो कष्टपूर्ण जीवनबाट मुक्ति पाउन आठ घण्टाको कामको दिन र अन्य सुविधाहरूको निम्ति मजदुरले हडताल र प्रदर्शनहरू सुरु गरे । तथ्यले स्थितिलाई अझ प्रस्ट पार्छ ।
१) १९१७ फेब्रुअरीसम्म ८० प्रतिशत मजदुरहरू सङ्गठित भइसकेका थिए र २ लाख मजदुरहरूले हडताल र प्रदर्शनहरूमा भाग लिए ।
२) गाउँ–गाउँमा किसान विद्रोहहरू चर्कँदै गए । गाउँका किसानहरूले सामन्त र जमिनदारहरूको घरघरमा धावा बोल्दै, भकारी फोर्दै र बाँडचुँड गरे । दरबारहरूमा आगो लगाउँथे र जग्गामाथि कब्जा गर्न थाले ।
३) २७ फ्रेबुअरीसम्ममा ६० हजार सिपाहीहरू सरकारको विरोधमा जनतासँग मिल्न गए । सरकारका पदाधिकारीहरू पक्राउ परे, मन्त्री र जर्नेलहरू पक्रिए । जेल फोडिए र क्रान्तिकारीहरू छुटे ।
यसरी जार सरकार उल्टियो र करेन्स्कीको पुँजीवादी सरकार आयो । त्यस सरकारले पनि मजदुर र किसानको मागहरूलाई पूरा गर्न सकेन । युद्धलाई रोकेर शान्ति कायम गर्न पनि सकेन । यसको ठीक उल्टो पुँजीवादी सरकारले पनि मजदुरहरूको हडताल र प्रदर्शनमा गोली चलाएर मजदुरहरूलाई मार्न सुरु ग¥यो ।
जमिनदारहरूको जग्गा कब्जा गर्ने किसानहरूमाथि गोली चलाउने धम्कीमात्रै दिएन, ४ सत्न्दा बढी किसान र मजदुरलाई गोली हानेर मा¥यो । प्रतिक्रियावादी दमनले सङ्घर्ष थामिएन बरु झन चर्कियो । तथ्यले त्यसलाई प्रस्ट गर्छ ।
१) १९१७ अप्रिलमा किसान विद्रोहहरूको सङ्ख्या २०५ पुग्यो । एक महिनापछि अर्थात् मेमा किसान विद्रोहको सङ्ख्या ५५८ पुग्यो । जुन महिना अर्थात् एक महिनापछि नै विद्रोहको सङ्ख्या ११२२ पुग्यो । गाउँहरू किसानहरूको हातमा गए ।
२) अक्टोबरसम्ममा ८ सय कलकारखानाहरू बन्द भए । १ लाख ७० हजार मजदुरहरू बेकार भए । कारखानाहरूको बन्दोबस्त गर्न मजदुर समितिहरू बन्न थाले ।
३) प्रतिक्रियावादी दमनको विरोध गर्न र आफ्नो शासन आफैंले चलाउन ६२ सहरमा २ लाख लालरक्षकहरू अथवा स्वयंसेवकहरू सङ्गठित भए ।
यसप्रकार पुँजीवादी सरकारले पनि जनताको काम–मामको बन्दोबस्त गर्न सकेन, यातायात र मल कारखाना या अर्थतन्त्रलाई सम्हाल्न सकेन । गाउँ र सहरका जनता सरकारको ऐन–कानुन र शासनमा बस्न चाहेनन् र सरकार शासन चलाउन असमर्थ भयो । यसरी १९१७ मा रुसको अक्टोबर समाजवादी क्रान्ति भएको थियो ।
अक्टोबर क्रान्तिको अनुभवबाट लेनिनले भन्नुभएको थियो– “क्रान्तिको निम्ति अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति आवश्यक छ, छिमेकी देशहरूको परिस्थिति क्रान्तिको अनुकूल हुनु झन आवश्यक छ ।”
अक्टोबर क्रान्तिको बेला पुँजीवादी देशहरू आपसमा पहिलो विश्वयुद्धमा फसेका थिए । बेलायत, फ्रान्स र रुस एकातिर थियो भने जर्मनी, अष्ट्रिया, हङ्गेरी र इटली अर्कोतिर थियो । रुस आफै आफ्नो छिमेकी जर्मनीसँग युद्धमा फसेको थियो ।
१९१७ को फेब्रुअरीमा रुसकै शोषक वर्गमा ठूलो फाटो आयो र फेबु्रअरी क्रान्ति भयो । अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरू आफै प्रतिक्रियावादी युद्धमा फसेको हुनाले रुसको अक्टोबर क्रान्तिलाई दबाउन र हस्तक्षेप गर्न तत्काल एक हुनसकेनन् ।
पुँजीवादी देशका मजदुर वर्गले रुसको मजदुर क्रान्तिको पक्षमा एकता प्रदर्शन गरे । जर्मनी र फ्रान्सका सेनाले विद्रोह गरे । युरोपका विभिन्न भागका मजदुरहरू र जनताले ठूल–ठूला राजनैतिक हडतालहरू गरेर “युद्धको विरोध” मा आ–आफ्ना सरकारलाई आप्mनै देशको विद्रोह र सङ्घर्षमा फसाएर रुसी क्रान्तिलाई सहयोग पु¥याए ।
त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको “अक्टोबर क्रान्तिको ७० औं दिवस र नेपालको जनवादी आन्दोलन” को विचार गोस्टीमा केही वक्ताहरूले, ‘निरन्तर क्रान्ति’ ‘समाजवाद’, ‘नेपालको जनवादी आन्दोलन’ बारे अनेक खोटपूर्ण विचारहरू प्रकट गरे ।
अक्टोबर क्रान्तिपछि रुसी कम्युनिष्ट आन्दोलनमा “एउटै देशमा क्रान्ति सफल हुनसक्छ” र ‘विश्व क्रान्ति’ वा ‘निरन्तर क्रान्ति’ को सैद्धान्तिक सङ्घर्ष सुरु भएको थियो । लेनिन, स्तालिन र अन्य बोल्शेविकहरू “एउटै देशमा पनि समाजवाद कायम हुनसक्छ” भन्ने पक्षमा थिए र त्रोत्स्की र अन्य अराजकतावादीहरू “विश्व क्रान्ति” बिना एउटा देशमा मात्र समाजवाद सफल नहुने हुँदा लाल सेनाले सम्पूर्ण युरोपमा धावा बोल्नुपर्छ भन्ने पक्षमा थिए ।
भर्खर जन्म भएको समाजवादी रुसको नयाँ लालसेनाले सङ्ख्या र अनुभवमा अगाडि रहेको युरोपका पुँजीवादी देशहरूमाथि हमला गरेको भए लालसेना सङ्कटमा पर्ने थियो र समाजवाद पनि हार्ने सम्भावना थियो ।
रुसी कम्युनिष्ट आन्दोलनमा त्यसबेला ‘विश्व क्रान्ति’ र ‘निरन्तर क्रान्ति’ भन्ने क्रोत्स्कीहरूको त्यो अराजकतावादी सिद्धान्तले हार खाएको थियो । यसप्रकार नेपाली वक्ताले अक्टोबर क्रान्तिको सन्दर्भमा गरिएको ‘निरन्तर क्रान्ति’ त्रोत्स्कीवाद र अराजकतावादी थियो ।
अर्को वक्ताले समाजवादलाई प्रतिव्यक्ति ४ दाना स्याउ, बच्चाहरूलाई नर्सरी, अवकाश प्राप्त ज्यामीहरूको निम्ति आवास, रोगीहरूको निम्ति निःशुल्क उपचार, छात्र–छात्राहरूको निम्ति निःशुल्क शिक्षाको बन्दोबस्त भएको समाजको रुपमा चित्रण गरे । छोटोमा समाजवादलाई भौतिक सुविधाको मापदण्डले मात्रै नापे ।
तर समाजवादको अर्थ काम, माम, कपडाको बन्दोबस्त र भौतिक सुविधामात्रै होइन । न त प्रतिव्यक्ति ४ दाना स्याउ नै समाजवाद हो । प्रतिव्यक्ति आम्दानी बढी हुनु र अनेकौं भौतिक सुविधा पाउने समाज नै न्यायपूर्ण र समाजवादी समाज हुने गर्दैन । भौतिक सुविधा र प्रतिव्यक्ति आम्दानीको दृष्टिकोणले समाजवादी देशहरूभन्दा संरा अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनीमात्रै होइन कुवेतसमेत अगाडि छ । नर्सरी, उपचार र जीवन बीमाको बन्दोबस्तको सुरु पुँजीवादी देशले नै गरेको हो ।
सर्वहारा वर्गको हुकुम, उत्पादनका साधनहरूमा समाजको स्वामित्व, योग्यताअनुसारको काम र कामअनुसार ज्याला, व्यक्त्वि विकासमा समान अवसर र मानिसबाट मानिसलाई गरिने शोषणबाट मुक्त हुुनु नै समाजवाद हो । राजा लक्जेम्वर्गको भनाइमा समाजवादको अर्थ दाल, भात, डुकुको समस्यामात्र होइन बरु एक महान र गौरवपूर्ण विश्वव्यापी सांस्कृतिक आन्दोलनको सिद्धान्त पनि हो ।
अन्य एक वक्ताले बडो खर्रो भाषामा भने “नेपाल कम्युनिष्ट आन्दोलनको ३ दशक बितिसक्दा पनि पुराना नेताहरूले क्रान्ति गरेनन् र सैद्धान्तिक विवादमात्रै खडा गरी कम्युनिष्ट एकता नगरी जनता र क्रान्तिलाई धोखा दिए ।”
त्यस आरोपबाट तलका कुराहरूको पुष्टि हुन्छ –
१) कुनै पनि देशमा मजदुर आन्दोलनको ३ दशकभित्र क्रान्ति भइसक्छ वा क्रान्ति गरिसकेको हुन्छ ।
२) क्रान्ति नेताहरूको इच्छामा हुन्छ ।
३) एकता गर्नृुपर्दछ, सैद्धान्तिक सङ्घर्ष होइन ।
४) नेताहरू व्यक्तिगत कारणले वा नेतृत्वको भोक, लोभ र अहङ्कारले एकता नगरेका हुन्  ।
५) पुराना नेताहरू योग्य र इमानदार छैनन्, नेपालको कम्युनिष्ट आन्दोलनमा तिनीहरूको कुनै योगदान छैन, तिनीहरू गद्दार हुन् ।
माथिका ठम्याइहरू पूर्णरुपले माक्र्सवाद विरोधी छन् र त्यसको खण्डन यसरी हुन्छ –
१) कुनै पनि देशमा कम्युनिष्ट आन्दोलनको ३ दशकभित्रै क्रान्ति गरी देखाउनुपर्छ, नत्र पार्टी नेताहरू अयोग्य, असफल र गद्दार हुने मापदण्ड बनाउनु सरासर कम्युनिष्ट आन्दोलनको इतिहास र अनुभवलाई नै आँखा चिम्लेर अस्वीकार गर्नुहुनेछ ।
बेलायत मजदुर आन्दोलनको जन्मथलो हो । १५० वर्षभन्दा पहिले त्यहाँ मजदुर वर्गको मेसिनविरोधी लडाइँ र आन्दोलन भएको थियो । १३०÷३५ वर्ष पहिले संसारमा सबभन्दा पहिले बढी मजदुरहरू आन्दोलित भएको, मजदुरहरूको मागपत्रको आन्दोलन बेलायत मै भएको थियो । १८४७ मा कम्युनिष्ट लीगको केन्द्र बेलायतमै थियो र कम्युनिष्ट घोषणापत्रलाई पनि विधिवत बेलायतको महासम्मेलनमै स्वीकार गरिएको थियो । बेलायतमै सबभन्दा पहिले सर्वहारा क्रान्ति हुन्छ भनेर माक्र्सले भविष्यवाणी गर्नुभएको थियो ।
तर आजसम्म बेलायतमा सर्वहारा क्रान्ति भएको छैन र समाजवाद स्थापना भएको छैन । यसको अर्थ के बेलायतका सबै मजदुर र कम्युनिष्ट नेताहरू अयोग्य, बेइमान् र गद्दार हुन् ? माक्र्स र एङ्गेल्सले आफ्नो जीवनको ठूलो भाग बेलायतमै बिताउनुभएको थियो । के उहाँहरू पनि गद्दार हुनुभयो ?
फ्रान्स समाजवादको जन्मथलो मानिन्छ । लियोनमा मजदुरहरूले १८३१ र ३४ मा सशस्त्र विद्रोह गरेर मजदुर वर्ग एक राजनैतिक शक्ति हो भन्ने देखाइदिएका थिए । १८७१ मा पेरिसमा मजदुरहरूले संसारमा पहिलोचोटि कामदार वर्ग राज्यसत्तामा पुग्नसक्छन् भन्ने देखाइदिएका थिए ।
तर मजदुर र कम्युनिष्ट आन्दोलनको एक डेढ सय वर्ष बितिसक्दा पनि फ्रान्समा समाजवादी क्रान्ति भएको छैन । के त्यसो भए फ्रान्सका सबै मजदुर र कम्युनिष्ट नेताहरू र कम्युनार्डहरू पनि अयोग्य, बेइमान र गद्दार हुन् ?
पश्चिम जर्मनी माक्र्स र एङ्गेल्सको जन्मथलो हो । तर जर्मनीमा आजसम्म क्रान्ति गर्न सकिएको छैन । तब के माक्र्स, एङ्गेल्स, लिब्ख्नेत, रोजा लम्जेक्वर्ग आदि अयोग्य, बेइमान र धोखेवाज भए ?
त्यस्तै माक्र्सले मजदुर सङ्गठन गर्नुभएको बेल्जियम (बु्रसेल्स), फासीवादको विरोधमा जीवनमरणको सङ्घर्ष गर्ने कम्युनिष्टहरूको देश इटाली, लाखौं कम्युनिष्टहरूले बलिदान गर्ने इण्डोनेसिया, बर्मा, फिलिपाइन्स, मलेसिया, थाइलैण्ड, तेलंगाना र नक्सलवाडी आन्दोलन समेत गर्ने भारतमा पनि क्रान्ति भएको छैन । त के ती देशका सबै मजदुर र कम्युनिष्ट नेताहरूलाई पनि त्यही प्रश्न चिह्न लगाउने हो ?
कम्युनिष्ट आन्दोलनको ३ दशक भित्र क्रान्ति हुन्छ वा हुनुपर्दछ भन्ने ठम्याइ स्वयं रुसमा पनि लागू भएको छैन । १८६१ तिरै रुसमा क्रान्तिकारी सङ्गठनहरू खुल्न थालेका थिए । पहिलो अन्तर्राष्ट्रियमा अर्थात् १८७० तिरै रुसमा पहिलो अन्तर्राष्ट्रियमा सामेल भइसकेका थिए । अर्थात् १८७० देखि नै रुसमा कम्युनिष्ट आन्दोलनको सूत्रपात भइसकेको थियो । यसप्रकार रुसमा क्रान्तिकारी र कम्युनिष्ट आन्दोलनको ४०–५० वर्षपछि मात्रै सर्वहारा क्रान्ति भएको देखिन्छ ।
२) नेताहरूले चाहेमा वा नेताहरूको इच्छामा क्रान्ति हुन्छ भन्ने ठम्याइ पनि पूर्णरुपले खोटपूर्ण छ । माक्र्सवाद दर्शन हो । भौतिक नियम मानिसको इच्छाभन्दा परको कुरा हो । सामाजिक नियम पनि भौतिक नियमजस्तै मानिसको इच्छाअनुसार चल्दैन । तर भौतिक नियम पत्ता लगाएपछि मानिसले त्यस नियमलाई आफ्नो अनुकूल सेवामा लगाउन सक्छ । त्यस्तै समाज विकासका चरणहरूलाई पनि लामो अध्ययन र सङ्घर्षहरूपछि मात्रै समाजलाई आफ्नो अनुकुल फेर्न सक्छ ।
यसकारण नेताहरूको इच्छा वा चाहनाले मात्रै न समाजको नियमलाई बदल्न सक्छ न त क्रान्ति नै गर्नसक्नेछ । यो माक्र्सवादभन्दा फरक कुरा हो ।
समाजलाई फेर्ने क्रममा व्यक्तिको भूमिका सा¥है सीमित हुन्छ । व्यक्ति नियमको विरोधमा जान खोजे असफल हुन्छ । नेताहरूले जनता वा समाजका इच्छालाई अगुवाइमात्रै गर्छन्, अर्को भाषामा नेताहरू स्वयं क्रान्ति होइन वा क्रान्तिका स्रष्टा होइनन्, बरु क्रान्ति र जनताका अगुवामात्रै हुन् ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *