भर्खरै :

परनिर्भर चाडबाड

तिहार सुरू भयो । फूलै फुलको यो चाडमा सर्वाधिक फूलको प्रयोग हुने गर्दछ । तिहार बत्तीको चाड भएकोले जताततै झिलिमिली पारिन्छ । सप्तरङ्गी टीका लगाउन सात थरीको टीका जोरजुलुम गरिन्छ । तर हामीले हर्षोल्लासका साथ तिहार मनाइरहँदा विचार गरौं–हामीले प्रयोग गर्ने कति सामान स्वदेशी हुन् र कति विदेशबाट आयात गर्छौँ ? हाम्रो संस्कृतिमा कति विदेशबाट आयात गर्नुपर्ने सामान भित्रिसकेको छ र कति स्वदेशकै सामानलाई हामीले निरन्तरता दिएका छौँ ? फूलका व्यापारीहरूको सङ्गठनका अनुसार तिहारको माग पूर्ति गर्न छिमेकी देश भारतबाट मात्र ३० लाख बराबरको सयपत्री फूलको माला ल्याइसकेको छ । काठमाडांै उपत्यकाभित्रको माग पूरा गर्नमात्र यति रकम बराबरको सयपत्री माला ल्याइएको हो । देशभरका अरू सहरहरूको यसमा कुनै हिसाबकिताब छैन । चाडका अरू आवश्यकता पनि देशभित्रबाट भन्दा बाहिरबाटै आउने गर्दछन् । तिहारमा अत्यधिक किनिने साडीलगायतका कपडामात्र होइन, झिलिमिली बत्ती बाल्न माटोका पाला, बिजुली बत्तीले बल्ने झिलिमिली बत्ती, प्लास्टिकका सृङ्गारका सामानजस्ता सामग्री पनि हामी विदेशबाट झिकाउने गर्दछौँ । चाडबाडमा हाम्रो देशको पराधीनता अझ प्रस्ट रुपमा सतहमा आउने गर्दछ । हामीले हाम्रो संस्कृति मनाउन वा जोगाउन प्रयोग गर्ने धेरैभन्दा धेरै सामग्री हाम्रै माटो र बस्तीमा बनेका छैनन् । अधिकांश सामान विदेशी माटो र विदेशी हातबाट बन्ने गरेका छन् ।
दसैंका लागि राङ्गामात्र ९२ अर्ब रुपैंया बराबरको आयात भएको थियो । बलि दिइने अरू जीवजन्तु पनि अधिकांश विदेशबाट ल्याइने गरेका छन् । जाडो महिनामा काठमाण्डांै उपत्यकाका नेवार समुदायले क्वाती खाने चाड मनाउँछन् । तर क्वातीमा मिसाइने नौ थरी गेडागुडीमध्ये अधिकांश विदेशबाटै झिकाइने रहेछ । विदेशी भूमिसँग सम्बन्ध नभएको समयमा कसरी ती सबै चाडबाडका आवश्यकता पूर्ति गरिन्थ्यो होला ? स्वाभाविक रुपमा ती सबैको उत्पादन नेपाली माटोमै हुन्थ्यो । हिजो प्रविधि र कृषि उत्पादन बढाउने मल र बीउ नहुँदा यही उत्पादन हुने वस्तुबाट हामी चाडबाड मनाउने गथ्र्यौं, तर आज विदेशी सामान नआए हामीले चाडबाड नै मनाउन नसक्ने भएका छौँ । हामीले प्रगति ग¥यौँ वा दुर्गति भोग्दैछौँ ?
सरकारले समृद्धि र विकासबारे निकै हल्ला गर्ने गरेको छ । आयातभन्दा निर्यात बढाउन सके नै कुनै देश विकास हुने गर्दछ । कम्तीमा आफूलाई आवश्यक पर्ने वस्तु देशभित्रै उत्पादन गर्न सके, आयात कम गर्न सके देशको विकास हुने हो । तर आज देशको आयात दर दिन दुई गुणा रात चौगुणाको दरले बढिरहेको अवस्थामा कसरी देशको आर्थिक विकासलाई गतिशील मान्न सकिन्छ ? धेरै पुँजी लगानी गर्नुपर्ने बृहत् योजनाको कुरा होइन, सयपत्री फूल, झिलिमिली बत्ती, प्लास्टिकका सृङ्गार सामानजस्ता वस्तु नै पनि हामीले उत्पादन गर्न सक्दैनौं, विदेशमा पैसाको खोला बगाउँछौँ भने कसरी देशको आर्थिक विकास र समृद्धि सम्भव छ ?
नेपालका युवाहरू दिनहुँ हजारौंको सङ्ख्यामा विदेशिरहने अनि नेपालमा चाडबाड मनाउनसमेत विदेशी सामानको भरपर्नुपर्ने अवस्था विडम्बनापूर्ण नै हो । परनिर्भरताको यो अवस्थाको निम्ति सरकार नै जवाफदेही हो । सरकारले विकासको भजनमात्र गाएर बस्नुको कुनै तुक छैन । साना साना कुराबाटै देशलाई आत्मनिर्भर बनाउन सक्नु नै देश विकासको मार्ग हो । तर आज सरकारले ठूलठूला विकास निर्माणको सपना देखाउने क्रममा स–साना पूरा गर्न सकिने पाटालाई भने उपेक्षा गरिरहेका छौँ अथवा थोरै थोरै बजेटको काममा धेरै कमिसन नआउने भएकोले बेवास्ता गरिरहेका छौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *