अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मरिया प्रिलेजात
नेभा नदीको किनारमा, फिनल्याण्ड खाडी पुग्न नदी एकाएक मोडिने ठाउँमा जमानामा तारपीनको फ्याक्ट्री हुनेगथ्र्यो । त्यहाँ ठूल्ठूला ड्रमका ‘स्मोला’ अर्थात् तारपीन तयार गरिन्थ्यो । पछि फ्याक्ट्रीको ठाउँमा एक मठ बनाइयो र पछि अभिजातवर्गीय विद्यालय खोलियो । तारपीन फ्याक्ट्रीको ठाउँमा बनेको हुनाले नै विद्यालयको नाम स्मोल्नी राखियो ।
१९१७ मा जारको सत्ता खोसिएपछि विद्यालय बन्द गरियो । स्मोल्नी मजदुर र सिपाहीं प्रतिनिधिहरूको पेत्रोग्राद सोभियतको कार्यालय बन्यो । सैनिक क्रान्तिकारी समितिको मुख्यालय पनि यहीं थियो ।
सैनिक क्रान्तिकारी समितिले सबै कारखानामा सम्पर्क राख्थ्यो र त्यहाँबाट लालसेनाका सदस्यहरू सङ्गठित गथ्र्याे । पेत्रोग्रादका २० हजार सैनिकहरू हतियारयुक्त थिए र क्रान्तिको सुरुवाती आह्वानको प्रतिक्षा गरिरहेका थिए । सैनिक क्रान्तिकारी समितिले बुर्जुवा सरकार र त्यसप्रति बफादार अफिसरविरुद्ध बाल्टिक युद्धपोतका जहाजीहरूलाई उत्प्रेरित गर्न बोल्शेभिक कमिसारहरू पठायो । जहाजीहरू सङ्घर्षको लागि तयार भए । सिपाहींहरूका धेरै दल बोल्शेभिक वा सैनिक क्रान्तिकारी समितिको पक्षमा आए ।
अस्थायी सरकार बोल्शेभिकहरूसँग डराउँथ्यो । उसले आदेश जारी ग¥यो – “मजदुरहरूलाई हतियार राख्न रोक लगाइन्छ । समितिका सबै सदस्य गिरफ्तार गरियोस् । लेनिनलाई पक्रिएर कालकोठरीमा बन्द गरियोस् ।”
निश्चय नै अस्थायी सरकार हातमा दही जमाएर बसेको थिएन । उसले बोल्शेभिक र मजदुरहरूविरुद्ध आफ्नो सारा शक्ति खर्चिरहेको थियो । क्रान्तिकारीहरूले बाहिरी दुनियाँसँग सम्पर्क गर्न नसकून् भनी फौजहरू पठाएर पेत्रोग्रादमा घेराबन्दी गर्ने प्रयास गरिरहेको थियो ।
“क्रान्तिलाई अझै पछि सार्नु ठीक हुनेछैन, निर्णायक घडी आएको छ ।” लेनिनले केन्द्रीय समितिका सदस्यहरूलाई लेखे ।
२४ अक्टोबरमा लेनिनले केन्द्रीय समितिको नाममा एउटा सन्देश फेरि पठाए । फोफानोवाले त्यसको उत्तर ल्याइन् । लेनिनलाई अहिल्यै गुप्तबासबाट निस्कने अनुमति दिइएको थिएन । यदि कुनै अफिसरले उनलाई देख्यो भने गोली चलाउन सक्थ्यो ।
भ्लादीमिर इल्यीचको नेतृत्वमा केन्द्रीय समितिले निर्णायक लडाइँको अन्तिम तयारी गरिरहेको थियो । तर क्रान्तिको सही समय अझै निक्र्योल गरिएको थिएन ।
भोलिपल्ट, २५ अक्टोबरमा स्मोल्नीमा सोभियतहरूको दोस्रो सम्मेलन हुँदै थियो । त्यसमा भाग लिन सबै प्रतिनिधि आएका थिए ।
“क्रान्ति आज नै, सोभियतहरूको सम्मेलन उद्घाटन हुनुभन्दा पहिले नै सुरु गर्न जरुरी छ,” भ्लादीमिर इल्यीचले सोचिरहेका थिए । “आज अस्थायी सरकारलाई अपदस्थ गरी भोलि सबै सत्ता सोभियतहरूलाई सुम्पिनुपर्छ ।”
तर समय पलपल बितिरहेथ्यो । उनले केन्द्रीय समितिलाई अर्को पत्र पनि पठाए । उनलाई आराम थिएन । सेर्दोभोल्स्काया सडकको यस सुकिलो–मुकिलो फ्ल्याटमा अझै बसिरहन मनै मान्दैनथ्यो । त्यहाँ उनी खुलेर हिंड्डुल गर्न पनि सक्थेनन् । कसैले हिंड्डुल गरेको देखे अथवा सुनेमा फोफानोवाकहाँ को छ ? भनी सोध्न सक्थे ।
साँझ फोफानोवा कामबाट फर्किन् । लेनिनले उनलाई आराम पनि गर्न नदिई भने ः “कृपया, अर्को एउटा पत्र पु¥याइदिनुस् न । अहिल्यै, यसै क्षण । नाई, नाई कोट नखोल्नुस्, म अहिल्यै………”
फटाफट कोठामा गई केन्द्रीय समितिका सदस्यहरूलाई सम्बोधन गरी लेख्न थाले – “साथीहरू ! म यी पङ्क्तिहरू २४ तारिखको साँझ लेखिरहेछु । स्थिति नाजुक छ । कुरा सिधा छ । अब क्रान्तिलाई पर धकेल्नु मृत्यु निम्त्याउनु हो । आज नै क्रान्ति सुरु गर्नू, अस्थायी सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिन अपरिहार्य छ । आज पनि हामीले फैसला गर्न सकेनौं भने इतिहासले यस भुलको लागि कहिल्यै माफ गर्नेछैन । भोलिसम्म ढिलो हुनसक्छ । अन्तिम र निर्णायक घडी आज हो ।”
“यस पत्रलाई तुरुन्तै पु¥याइदिनुहोला,” लेनिनले अधीर भई फोफानोवासँग अनुरोध गरे ।
फेरि उनी फ्ल्याटमा एक्लै भए । उनको व्याकुलताको सीमा थिएन । उनी बसे, मानौं केही सुनिरहेथे, कुनै चीजको प्रतिक्षा गरिरहेथे ।
केही समयपछि ढोकाको घण्टी बज्यो । एइनो राहिया भित्र पस्यो । “भ्लादीमिर इल्यीच, सहरमा के भइरहेको छ, सोच्न सक्नुहुन्छ !”
फेरि आफंै बताउन थाल्यो । वातावरणले गर्दा बाहिर निस्कन मुस्किल छ । नेभातिरबाट सिरेटो चलिरहेको छ । सडक कुहिरोले ढाकिएको छ । भिजेको बरफ झरिरहेको छ । बीचमा बेलाबेला वर्षाको रिमझिम पनि सुरु हुन्छ । तर मानिसहरू फेरि पनि ठाउँठाउँमा, पाटीहरूको छेउछाउ जम्मा भइरहेका छन् । सडकमा सिपाहीं र सशस्त्र मजदुरहरूले भरिएका ट्रक दौडिरहेका छन् । बेलाबेलामा कतैबाट गोली चलेको आवाज आउँछ । फेरि सबै शान्त हुन्छ । वातावरण अत्यधिक तनावपूर्ण बनेको छ । पुलहरूनजिकै आगो बलिरहेको छ । लालसेनाले पुलहरूमा सुरक्षा दिइरहेका छन् । तिनताक नेभाका सबै अस्थाई पुलहरू खोल्ने आदेश दिइएको थियो । युन्करहरूले पुलबाट यात्रीहरूलाई लेखेटर ट्राफिक रोक्ने कोसिस गरे । तैपनि उनीहरूले निकोलात्की पुलमात्र खोल्न सकेका थिए । यत्तिकैमा हाम्रा मानिस आए । उनीहरूले युन्करहरूलाई लखेटे ।
युन्करहरूले सबै पुल खोलिदिएको भए आपत पथ्र्यो । सबै इलाकाहरू एकअर्कोबाट बिच्छेद हुन्थे । तब युन्करहरूले एकएक गरेर सबै मजदुरलाई दबाइदिन्थे ।
लेनिनले चुपचाप राहियाका कुरा सुनिरहे । फेरि अचानक कुर्सीबाट उठे र चुपचाप आलमारीबाट आफ्नो नक्कली कपाल निकाले । “यो के गर्दै हुनुहुन्छ ?” राहियाको चिन्ता बढ्यो । पार्टीले उसलाई, एइनो राहियालाई लेनिनको सुरक्षाको जिम्मा सुम्पिएको थियो ।
“भ्लादीमिर इल्यीच, हजुर कहाँ ?”
“मलाई अहिल्यै, यसै क्षण स्मोल्नी जानु छ ।” लेनिनले दृढतासाथ जवाफ दिए ।
“युन्करले हजुरलाई हानी पु¥याउनेछन् ।” लेनिनले कुनै जवाफ दिएनन् ।
उनी चुपचाप ऐनासामु उभिई नक्कली कपाल लगाउन थाले । फेरि पुरानो कोट र ओभरकोट पनि लगाए ।
उनीसँग बहस गर्नु बेकार छ भन्ने राहियाले बुझ्यो । यसर्थ आफू पनि हिंड्ने तयारी गर्न थाल्यो । फेरि लेनिनले गालामा पट्टि बाँध्ने गरी दाँत दुख्ने बहाना बनाउने निक्र्योल गरियो । यति गरेपछि उनलाई कसैले पनि चिन्न सक्दैनथे । उनीहरू घरबाट निस्के । लेनिन स्मोल्नी गइरहेका थिए ।
(यो प्रसङ्ग ‘लेनिन कथा’ नामक पुस्तकबाट अनुवाद गरिएको हो । अनुवादक ः माधव अधिकारी)
Leave a Reply