अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
युसुप दुवाल
डुब्नै लागेको घाम थियो
साँझको झिसमिसेमा
मसालको चिराग बालेर
सु–प्रभातीय झुल्को आशामा
वन पाखा छिरेको
आज जस्तै लाग्छ ।
शिरमा कात्रो बाँधेर
त्यो रक्तिम रात जङ्गलमा
सङ्ग्रामको निम्तो लिएर
छातीमा गोली थापेर
निशानी छाती ताकेर
सर्वहारा धर्ती टेकाउने
मिट्टीको कसम खाएको
उन्मुक्तवादको उज्यालो ताप्न
बन्दुक, गोली र बारुद बोकेर
घर छाडेर हिंडेको साहसिक यात्रा
हिजो जस्तै लाग्छ ।
हिंड्दा हिंड्दै लड्खडाएका
लड्दा लड्दै थकित मुद्रामा
क्रान्तिकारी योद्धाहरू
कति वन जङ्गलमा हराए
कति सहरको सडक छेउ
कति मधुशालाको प्यालामा रमाए
कोही पलायन छन् त
कोही मुग्लान पसे उहिल्यै
म जस्तै थुप्रै नाथे जवानीहरू
बारुदको धुवाँमा उडेर
विभत्स दोबाटोमा पछारिए
खोलाको किनारमा बास छ
त्यो भूकम्पीय जीर्ण छ !
आज उजाद छन् नेपाली परेड भूमिहरू ।
नपत्याए हेर न
ए ! युद्धका सरदार
निशानी अझै बाँकी छ !
भन्न तिमी कहाँ छौ ?
युद्धकलाका छट्टु स्याल
ताजमहलभित्र अन्तरध्यान लिएर
गुरुद्वारमा बरदान मागेर
लाजिम्पातको सुनाखरी ओछ्यानमा सुतेर
तारे होटलको चौरासी ब्यञ्जन खाएर
रगतको होली खेलेर रोमाञ्चित मन
अझै नअघाएका मूलपात्र
सिंहदरवारको चौघेरामा विलाए ।
बल्खु दरवार छिरेर अन्तर्भूत भए ।
आजकल लाजिम्पाटमा मसान जागेको छ ।
त्यसैले अब,
देशले एउटा नेतृत्व खोजिरहेछ
अत्तो न पत्तो नेता भन्न लायकै नभएका
तातेपाते राष्ट्रघाती स्वभावका
विध्वँशकारी पाखण्डीहरूको
कुकृत्य पर्दाफास गर्नुपर्छ
युद्धको हिसाब काठमाडांैबाट खोज्नुपर्छ
हिमाल–पहाड–तराईसँग जोड्नुपर्छ
आज फेरि एउटा
युद्धको उद्घोष गर्नु छ
अन्तिम युद्ध अझै बाँकी छ ।
आज नयाँ सम्भ्रान्त तिमी जो छौ
तिमीले घोकाएको तिमीसँग माग्दा
श्री ६ शमशेर महाराजको अवतार लियांै
विरुप्त नपुंसकता प्रकट ग¥यौ
घामको प्रचण्ड क्रोध तापमान
शिखण्डीमा स्खलित अवतरण भयो
छेपारोसरि रङ्ग बदलियो ।
ए ! युद्धका सरदार
भन्न तिमी कहाँ छौ ?
दिनगन्ती गन्दै गर
अन्तिम युद्ध अझै बाँकी छ ।
अझै कति जन्माउन बाँकी छ
सर्वहाराको टेको लगाएर
घरपालुवा बफादारहरू
नयाँ युगका नयाँ राजाहरू
श्री ७ श्री ८ श्री ९ श्री १० क्रमशः
चपरासी समरजङ्गहरू
श्रीपेचका सिङ्गमरमर ठड्याउँदै
यज्ञ, कुञ्ज, महल, भवन शाश्वत मन्दिर रे !
सेवा हजुर कुन मन्दिरमा भक्ति चढाउँ
जजमान पनि जोख्ना जोख्दै छन्
कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा धाउने हो
महाकवि देवकोटा पनि अलपत्र छन्
तेत्तीस कोटी देउटा जो विराजमान यहाँ ।
ए ! युद्धका सरदार
यो तिम्रो युगको परिवर्तनका लागि
पल्तनबाजी खेलेको हिजो
निशानी अझै बाँकी छ
अब फेरि एउटा
युद्धको उद्घोष गर्नु छ
दिन गन्ती गन्दै गर
अन्तिम युद्ध अझै बाँकी छ ।
Leave a Reply