अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुरेश
सिद्धार्थ हाइवेको बुटवल भैरहवा खण्डसम्बन्धी दस वर्ष पुरानो अनुभव भएका महानुभावहरू ढुक्क नभए हुन्छ । यहाँ आउनुस् मात्र, तिर्मिराउनुहुन्छ ! छ लेन र चार लेन गरी यो सडक फैलिसकेको छ । सडकमाथि छानो हालेजस्ता पुराना बर, पिपल, स्वामी, गुल्मोहर र आँपका रुखहरू सबै उखेलिए । छन् त बस पुराना सम्झनाका तरेलीहरू ।
गर्मीयाम । सडक अलि सुनसान थियो । भर्खर ०४६ को आन्दोलनको पटाक्षेप भएको थियो । मानिसमा राजनीतिक छलफलको रमरम सेलाएको थिएन । शङ्करनगर चोकका गजधम्म उभिएका स्वामी र बरका रुखले प्रतिक्षालयमाथि छानो हालेर शितलता प्रदान गरिरहेका थिए । समाजका गन्यमान्य व्यक्तिहरू त्यहाँ दिनदिनैका घटनाबारे गफ्फिन आइपुगेका थिए । के कामले हो कुन्नी, प्रतिक्षालयको पेटीमा बसिरहेथे उही लाटो दुर्गा रसाइली ।
छलफल अन्तरिम सरकारप्रमुख कृष्णप्रसाद भट्टराईको भारत भ्रमण र नेपालप्रति भारतको रवैयातिर मोडियो । कसैले भन्यो, “ज्यात्तेरीका, भारतले दुइटा टिनका थोत्रा के द्या’थ्यो, भर्पाइ पनि उठाइहाल्यो !”
“हैन के भन्छ ?”
“मेचीमा भारतले गरेको सीमा अतिक्रमण भनेको ! प्रधानमन्त्री भारत गएर दुईटा चेतन नामका हेलिकोप्टर उपहार लिएर आए । उता मेचीमा सीमा लुछिहाले ।”
“उहिले गणेशमानले सही भनेका हुन् । गण्डक सम्झौताको विरोधमा उनी खुब कड्केका थिए नि !”
“दलालहरू !”
लेखपढ गर्न जान्नु देशभक्तिको कसी हुने गर्दैन । दुर्गा रसाइली कम पढेलेखेका भए पनि देशभक्तिमा उनी कुनै पढेलेखेका व्यक्तिभन्दा कम थिएनन् । त्यसमाथि भर्खर जनआन्दोलनका आमसभाहरूले उनको राजनीतिक चेतना एकाएक उकासिदिएको थियो । मेची अतिक्रमणको समाचारले उनको कन्सिरी तात्यो । उमेरले ४० नाघिसके पनि उनी बिथोलिए ।
किसान परिवारमा जन्मेका दुर्गा रसाइलीले पञ्चायत कालमा मावि तहको शिक्षा लिएका हुन् । पछि जागिरको सिलसिलामा भारतका पञ्जाब, दिल्ली र बम्बईमा काम गरेर आए । त्यहाँ उनले आफ्नो पसिनाको मोल खाएका थिए, भारतको नुन होइन । उनी समाजका विभिन्न घटनालार्ई भित्रभित्र केलाउँथे । तर बाहिरफेर त्यति नबोल्ने हुनाले उनलाई मानिसहरू आ–आफ्नै हिसाबले विशेषण दिन्थे । यसमा उनको केही भन्नु पनि त थिएनन् । एक प्रकारको अन्तर्मुखी जीवनमै खुसी थिए । अहोरात्र खेतीपातीमै खटिरहने पेशेवर किसानजस्तो ।
नेपालमा भारतको ज्यादती, सीमा अतिक्रमण र असमान सम्झौताको दारुण कहानीका साक्षी पनि हुन् दुर्गा रसाइली । यस्ता खबरहरूले उकुसमुकुस हुन्छ उनलाई । तर बाहिर कसलाई भन्ने ? विरोध कसरी जनाउने ? उनका कुरा सुन्ने कसले ? उनलाई गन्ने कसले ? मेचीको सीमामा भएको भारतीय अतिक्रमण र प्रधानमन्त्रीको निरीहपनाले पनि उनी धेरै दिनसम्म व्यथित भइरहे । कहाँ गएर के भन्ने ? कसलाई गाली गर्ने ? रातभर छटपटी भइरह्यो ।
केही दिनपछि भने उनको असन्तोषले एउटा आकार लिइसकेको थियो । रातमा निद्रा नलाग्दा उनी प्रायः आफूसँग सङ्गालेर राखेका किताबहरू हेर्ने गर्थे । दिल्लीमा साहूले दिएको बक्सिस्ले किनेको अक्सफोर्डको शब्दकोश पल्टाउने गर्थे । त्यो रात उनले एउटा कागजको चिर्कटो लिए र फाउण्टेन पेनको बाक्लो निमले आफ्नो गुम्फन कागजमा पोख्न थाले । जन्मियो यो कविता ः
०४६, ०४७ सालको थियो जब अन्तरिम सरकार
कृष्णप्रसाद भट्टराईज्यूको भयो नयाँ दिल्लीमा सवार
भित्रभित्र गोप्य सन्धि भइदियो, मीठा कुराका जालमा
मेची अञ्चलको एक टुक्रा गुमाए त्यहीं शासनकालमा
दुइवटा हेलिकोप्टर दियो सिमाना मिच्ने निहुँले
ठीक है, ठीक है ! भन्दै मञ्जुर गरे भट्टराईज्यूले
खुसी भई दियो दुइटा हेलिकोप्टर चेतन नामको
कृष्णप्रसाद भट्टराईज्यू, रहेछन् बिनाकामको
राष्ट्रियता सुम्पिएर आफ्नो स्वार्थ खिच्ने
अवसर पायो शत्रुले साँधसिमाना मिच्ने
१३ कि.मि. जमिन हडपियो टिनका थोत्राले साटी
देशलाई अब टाउको दुख्यो राष्ट्रियतामाथि
कानुन छैन, कारबाही छैन, देशद्रोहीलाई दण्ड छैन
देशभक्तले विरोध गर्छ, उसको सुनुवाइ हुँदैन
विरोध गर्दै जाने हो लड्न यसले सक्तैन
मुखले मागेर दिंदैन, त्यसैले त्यो आउँदैन
कविता लेखिसकेपछि उनी आरामले निदाउन सके । कविता कताकति निराशापूर्ण लाग्न सक्ला एक चोटिलो समीक्षकलाई । तर समाजले लर्तरो ठानेको एक सामान्य व्यक्तिको देशभक्तिपूर्ण आवाज । एक्लो किसानको आर्तनाद, एक सुस्केरा, विरोधकोे निम्छरो प्रयास ।
यो कविता उनले कसैलाई सुनाएनन् । किनभने उनी आफ्ना कवितालाई ‘शिशु कविता’ ठान्छन् अर्थात् बामे सर्दै गरेको कविका सिकारु प्रयास । नाम कमाउनभन्दा पनि जीवनमा केही अर्थपूर्ण काम गर्ने, सिक्ने प्यास । यदाकदा उनको घर पुग्ने आगन्तुकलाई उनी फुर्सदमा यी कविता देखाउँछन् । आँखा कमजोर भइसके, आफू पढ्दैनन्, पढ्न लगाउँछन् । सबैले देशभक्तिको भावना छ, राम्रो छ, प्रयास गर्दै जानुस् भन्छन् । धेरै नेताले पनि सह्रनी गर्छन् । तर उनका कविता कहिल्यै यी कापीबाट बाहिर गएनन् ।
तिनाउ नदी धेरै गहिरिइसकेको छ । सुनौलीबाट गोरखपुर जाने हाइवेका दुवै किनारमा तिनाउको गिट्टी बालुवा बिक्न थालेको धेरै भइसक्यो । यता सिद्धार्थ हाइवे छेउका रुखहरूको सुसेली मरिसकेको छ । उहिले प्रशस्त मानिस आरामले बस्न मिल्ने प्रतिक्षालय अहिले भारतीय ब्राण्डका विज्ञापन टाँस्ने ब्यानर बन्न पुगेका छन् । झमझम पानी परेको बेला ओत लाग्न पनि नमिल्ने, उभिने ठाउँमात्र बनेका छन् । मान्छेहरू आ–आफ्ना घरभित्र गुम्सिएका छन् । गफगाफ गर्ने ठाउँहरू महंगिएका छन् ।
साँझको बेला । दुर्गा रसाइलीको घरबाट यसो फेरो मारेर फर्कदै गर्दा म शङ्करनगरको त्यहीं चोक हेर्छु । कुनै बेला एक निमुखो देशभक्तलाई भित्रभित्रै भए पनि बोल्न घच्घच्याउने त्यो चोक ह्वाङ्ग फैलिएको छ । प्रतिक्षालयको स्थानमा बङ्गाली बाबुवाको फुल्की बेच्ने ठेला खडा छ । ठेला वरपर छ फुल्की निल्न आतुर केटाकेटीहरूको घुइँचो । सडकको त्यो कुनो थर्काउने गरी बजिरहेछ बुफर र आइरहेछ उदितनारायणको सुमधुर स्वर, “…….राजा हिन्दुस्तानी ।”
Leave a Reply