भर्खरै :

सिस्नुपानीको खबरदारी

– दानबहादुर कपाली
सिस्नुपानी घोचपेच गर्ने पुरानो संस्था हो । सरकार, दल र नेताहरूका कमी कमजोरी आंैल्याएर व्यङ्ग्य गर्नु सिस्नुपानीको उद्देश्य हो । व्यङ्ग्य गरेर सरकार, दल र नेताहरूको ध्यानाकर्षण गर्ने सिस्नुपानीले देउसी कार्यक्रममार्फत आफूलाई चिनाएको छ । यो वर्षको देउसी कार्यक्रममा पनि सिस्नुपानी देखियो । सिस्नुपानीका पदाधिकारी तथा सदस्यहरूले सत्तारुढ र प्रतिपक्ष दलका नेताहरूसामु घोचपेच गर्दै देउसी गीत गाए । गीत सत्तारुढ दलप्रति केन्द्रित थियो । तथापि प्रतिपक्ष दलको धर्म निर्वाह गर्न र सर्वसाधारण जनता सचेत हुन पनि खबरदारी गरिएको छ ।
विदेशी शक्तिराष्ट्रसामु नझुक्न, भारतीय एकाधिकार पुँजीमा नफस्न, कुनै शक्ति या व्यक्तिको दबाबमा कुनै भ्रष्टाचारी, कालाबजारीमाथि कारबाही रोक्न नहुने सिस्नुपानीको विचार रहेको छ । सानालाई ऐन ठूलालाई चैन भनेझैं स–साना अभियुक्त या दोषीमाथि कारबाही गरेको देखाएर सान देखाउने, नाक फुलाउने सत्तारुढ नेताहरूमाथि व्यङ्ग्य गरिएको छ । ठूलो माछालाई समातेरै छाड्ने सरकारको दाबी गफझैं भइरहेको छ । अपराधी पत्ता लगाएर कारबाही गर्न अघि सर्नुपर्ने सरकार कुरोमै सीमित हुँदा वर्तमान सरकारप्रति जनताको विरोध बढ्दै गएको देखिन्छ ।
निर्वाचित सांसदलाई राजीनामा गराएर आफू निर्वाचित हुने नेकपाका नेता वामदेवको पदमुखी खोटो विचारको पनि नाङ्गेझार पारिएको छ । सरकार दलगत र व्यक्तिगत स्वार्थमा नफसी देश र जनताप्रति समर्पित भएर अघि बढेमा देशको विकास गर्न सकिने सिस्नुपानीको चाहना ठिक्कै हो । दुईतिहाइ बहुमत प्राप्त वर्तमान सरकारको उचाइ धरहराभन्दा बढी भएको हुँदा सरकारले चाहेमा बहुमत जनताको सेवा गर्न नसक्ने होइन । तर अहिलेसम्म त्यस्तो कुनै लक्षण देखिएको छैन । त्यस कार्यमा कसले छेक्यो र कसको अवरोधमा गर्नुैपर्ने काम किन गर्न सकिरहेको छैन भन्ने प्रश्न सिस्नुपानीको हो ।
जनताका आवाज र समस्या उजागर गर्दै गीतमार्फत चोटिलो प्रहार गर्ने सिस्नुपानी देउसी कार्यक्रममा मात्र समिति नहोस् भन्ने सचेत जनताको अनुरोध छ । माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलजस्ता नेताहरू सम्मिलित सो देउसी कार्यक्रममा सिस्नुपानीका कलाकारहरूमात्र होइनन् केपी ओली, पुष्पकमल दाहाल शेरबहादुर देउवा बनेका कलाकारहरूको संवाद पनि रोचक देखिन्छ । राजनीतिमा मात्र छल होइन तासमा समेत छल गर्न जानेका सत्तारुढ नेताहरूप्रति ती कलाकारहरूले सत्ताको फोहर खेलमा नफस्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *