भर्खरै :

कार्तिक नाच सुरु

काठमाडौं, २६ कार्तिक । ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कार्तिक नाच आजदेखि सुरु भएको छ ।
नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको (सेव लायेगु) देखाइँदै छ । बाथ प्याखँ (बाठोको नाच) शिक्षामूलक हुने कार्तिक नाच प्रबन्ध समितिले बतायो ।
प्रत्येक दिन साँझ कार्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर धेरै जनाको सहभागिता हुन्छ ।” यो वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि रु. दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । समितिले भने यति रकम पर्याप्त नभएको बताउँदै आएको छ । यो वर्ष सात वर्षपछि ल्यब लायेगु र खुसी छिकेगु देखाइने भएको छ ।
विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका हुन् । कृष्णभक्त राजा भएकाले उहाँले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको सुरु गरेका थिए ।
यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ । कलाकारलाई दैविक शक्ति प्राप्ति हुने सहभागी कलाकार बताउँछन् । यो नाचको अवधि घट्ने बढ्ने भइरहेको छ ।
विसं २००७ मा यो नाच सञ्चालन नै हुन सकेन । केही वर्ष पहिलेसम्म आठदेखि १० दिन हुनेमा चार वर्ष पहिलेदेखि १२ दिनसम्म चलिरहेको छ । दसैं तिहार सकिएर र धान थन्क्याएर पाटनवासी फुर्सदमा हुने समय पारेर नाच सञ्चालन हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *