भर्खरै :

बीउले बजार नपाउँदा लेकबेंसीका किसान चिन्तित

शुरबहादुर सिंह
सुर्खेत, २७ कार्तिक  । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेंसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् ।
उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू आर्थिक वर्षमा बजार नपाउँदा लेकबेंसीका किसान चिन्तामा परेका हुन् । उनीहरूले उत्पादन गरेको १० मेट्रिक टन बीउ थन्किएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर रानाले जानकारी दिनुभयो । थन्किएको १० मेट्रिक टन बीउमा गहुँ र मकैको परिमाण बढी रहेको छ ।
“विगतमा सुर्खेतसहित दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, तनहुँसम्म समृद्धि कृषि सहकारीमार्फत यहाँका किसानद्वारा उत्पादित बीउ बिक्री वितरण हुन्थ्यो”, अध्यक्ष रानाले भन्नुभयो । यहाँको मौलिकतामा बीउ उत्पादन गरी गुणस्तर कायम गरिंदा पनि विचौलियाका कारण कर्णाली प्रदेशका किसानले सीमापारिको बीउ किन्नु परेको गुनासो छ ।
उहाँले थप्नुभयो, “सहकारीमा १०० किसानको बीउ सङ्कलन गरिएको र अझै ३०० किसानको घरमा बीउ छ । ठूलो श्रम र लगानीबाट उत्पादन गरेको बीउ घरमै थन्किदा उनीहरू मर्कामा छन्”, अहिले उक्त सहकारीको गोदाममा चार टन स्वर्गद्वारी, तीन टन धौलागिरि र तीन टन डब्लु के १२०४ जातको गहुँ स्टक रहेको छ ।
तराईमा उत्पादित बीउ किसानबाट प्रतिकेजी रु. २५–३० परे पनि उपभोक्तासम्म आइपुग्दा रु. ६५–८० सम्म पर्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । लेकबेंसी नगरपालिकाका किसान तथा समृद्धि सहकारीले उत्पादन, सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, गरेको बीउ पनि प्रतिकेजी रु. ७०–८० पर्छ ।
बीउमा आत्मनिर्भर बनाइने
लेकबेंसी नगरपालिका सुर्खेतमा अवस्थित समृद्धि सहकारी संस्थाले बीउमा सुर्खेत जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।
सहकारीले यसअघि पनि विशेषगरी धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउ उत्पादन गरी कर्णाली प्रदेशलगायत बाहिर जिल्लामा पनि पठाएको थियो । तर, यो वर्षमा उत्पादित बीउ खपत हुन नसकेको जनाएको छ । काम गरिरहेको संरचना ध्वस्त हुँदा यो समस्या आएको बताइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *