भर्खरै :

सरकारको काम सङ्घीयताको भावनाविपरीत

काठमाडौं, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सरकार सङ्घीयताको भावनाअनुसार नहिंडेको बताउनुभएको छ । बुधबार माउन्टेन टेलिभिजनको ‘खरो प्रश्न’ कार्यक्रममा पत्रकार प्रकाश गिरीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्दै उहाँले प्रधानमन्त्री ओली प्रदेशसभामा गएर भाषण गर्न जानु सङ्घीयताको भावनाविपरीत भएको बताउनुभयो ।
उहाँले सबै विकास निर्माण काठमाडांै उपत्यकाभित्रै मात्र गरे देशमा सङ्घीयता लागू गर्नुको कुनै अर्थ नभएको भन्दै प्रदेश ३ को राजधानी भक्तपुरमा मात्र नभई काठमाडौं उपत्यकाभित्रै राख्न नहुने धारणा राख्नुभयो ।
काठमाडौं उपत्यकाको सानो भूभागभित्रै अन्तर्राष्ट्रिय रङ्गशाला, अन्तर्राष्ट्रिय सभाहललगायतका सबै ठूलठूला योजना बनाउने प्रस्ताव अव्यवहारिक र देशको सन्तुलित विकासको भावनाविपरीत भएको अध्यक्ष बिजुक्छेंले बताउनुभयो ।
एमाले र माओवादी केन्द्रबीचको एकताबारे सोधिएको प्रश्नको जवाफमा उहाँले ती दुवै पार्टी नामले कम्युनिष्ट भए पनि आचरणले कम्युनिष्ट नभएको बताउनुभयो । “कम्युनिष्ट पार्टीले उत्पादनका साधनको सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, शिक्षा अनिवार्य र निःशुल्क, स्वास्थ्य सेवा निःशुल्क आदि बन्दोबस्त गर्नुपर्ने थियो । तर केही पनि गरेको छैन । सरकार हुँदा नगरे कहिले गर्ने हो ?”, उहाँले भन्नुभयो ।
युरोपमा पनि नामका धेरै कम्युनिष्ट र समाजवादी पार्टी भएको तर तिनीहरू वास्तवमा कम्युनिष्ट वा समाजवादी पार्टी नभएको प्रसङ्गबारे चर्चा गर्दै उहाँले नेकपा नामले कम्युनिष्ट भए पनि पुँजीवादी पार्टी भएको बताउनुभयो ।
उहाँले अनिश्वरवादी सिद्धान्तका नेताहरूले पञ्चायतमा जस्तै टीका र पूजापाठमा लागेर आफूभित्र अझै सामन्तवादी ज्यूँदो रहेको देखाएको बताउनुभयो ।
“जसले धेरै पाप गरेका हुन्छन्, तिनीहरूले धर्मकर्म र पुण्यमा बढी विश्वास गर्ने गर्छन् । आज नेताहरूको व्यवहार हेर्दा यही भनाइ याद आउँछ ।”, अध्यक्ष बिजुक्छेंले भन्नुभयो । सरकार कुनै बहुमत प्राप्त एउटा राजनीतिक पार्टीको जस्तो नभई संयुक्त सरकारजस्तो भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री आफै लाचार छन् । आफूले भनेका काम नभएको भन्दै बोलिरहेका छन् ।”
उहाँले कानुनबमोजिम सम्पत्ति विवरण नबुझाउने मन्त्री र सरकारी पदाधिकारीलाई कारबाही गर्नुपर्ने विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *