भर्खरै :

चिनियाँ नेताहरूबारे महत्तोजीको महत्वपूर्ण पुस्तक

जमिला
सङ्घर्ष, आन्दोलन, विद्रोह र क्रान्तिको लामो इतिहास बोकेको चीनको गर्भबाट आजको समाजवादी चीनको जन्म भएको हो । त्यही बलियो जग र आधारशीलामा आजको चीन शक्तिशाली भई उभिएको हो । हिजो स्वतन्त्रता, युद्ध र मुक्तिको निम्ति असङ्ख्य चिनियाँहरूले रगत बगाए । साम्राज्यवादविरोधी र उपनिवेशवादविरोधी न्यायपूर्ण आन्दोलनमा थुप्रै–थुप्रै चिनियाँहरूले बलिदानी दिए । नयाँ क्रान्तिमार्फत चिनियाँ जनताले विश्वकै एउटा पुरानो सभ्यतालाई थप चम्किलो बनाए ।
हिजो दरिद्र र पिछडिएको चीनलाई आजको उचाइसम्म पु¥याउने ती थुप्रै सङ्घर्ष, आन्दोलन, विद्रोह र युद्धमा चिनियाँ अगुवा र नेताहरूले खेलेको उल्लेख्य भूमिकाले चीनलाई सही दिशा र गति प्रदान ग¥यो । इतिहास, उद्गमविन्दु र संस्कृति भुल्ने मानिस जराविहिन वृक्ष जतिकै हुन्छ । त्यसकारण वर्तमानमा पनि इतिहास ताजा रहनुपर्छ । इतिहासको गम्भीर अध्ययनमार्फत वर्तमान जगाउन सकिन्छ र भविष्यलाई मार्गनिर्देश गर्न सकिन्छ । आजभन्दा ७ वर्ष अगाडि अर्थात् २०६८ वैशाखमा प्रकाशित पुस्तक ‘चिनियाँ नेताहरूको संक्षिप्त परिचय’ ले चीनको इतिहासका केही कालखण्डलाई नयाँ पुस्तामाझ पु¥याएको छ । चिनियाँ नेताहरूको सङ्घर्षमय जीवन, योगदान, नेतृत्व कौशलबाट सिक्न यस पुस्तकले जरुर अभिपे्ररित गर्दछ ।
पुस्तकमा १९ जना चिनियाँ नेताहरूको सङ्क्षिप्त जीवनी समाविष्ट छ । तीमध्ये केही देश र जनताको निम्ति आजीवन सङ्घर्षको लामो हिँडाइमा नथाकिकन उद्देश्यसम्म पुग्न सफल रहे । केही बीच बाटोमै थाके, केहीले आन्दोलनलाई धोका दिए, जनतामाथि विश्वासघात गरे, केही अराजक र केही अवसरवादी ठहरिए, केहीलाई समयले असक्षम र असफल सावित ग¥यो । चिनियाँ क्रान्तिमा देखापरेका विभिन्न दृष्टिकोण र नीतिहरूको आधारमा ती नेताहरूको मूल्याङ्कन यस पुस्तकले गरेको छ ।
पुस्तकले चिनियाँ नेताहरूको मूल्याङ्कन र जीवन परिचयमात्र प्रस्तुत गरेको छैन बरू करिब सन् १८७६ देखि २००८ अर्थात् १३२ वर्षको अवधिमा चीनकोे सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक आरोह–अवरोहबारे महत्वपूर्ण शब्दचित्रसमेत पुस्तकमा छ । नेपालसँग जोडिएको देश चीनका नेताहरूको विषयमा लिखित यस पुस्तकले नेपालका नेताहरूको जीवन, कार्यशैली, दृष्टिकोण, विचारको विश्लेषणात्मक अध्ययन गर्न सहयोग पु¥याउँछ । त्यसकारण ती नेताहरूलाई नेपाली पाठकसँग यस पुस्तकमार्फत लेखक ‘महत्तो’ ले सात्क्षात्कार गराउनुभएको छ ।
लि ता चाओ (Lie Ta Chao) आफ्नो  समयका सबभन्दा ठूला आधुनिक बुद्धिजीवी थिए । माक्र्सवादलाई चिनियाँ माटोअनुसार चिनियाँ शैलीमा व्याख्या गर्ने अगुवा राजनीतिक विचारक थिए । उनी एक सच्चा क्रान्तिकारी र चिनियाँ माक्र्सवादी थिए । लि ता चाओका विचारहरूलाई नै अध्यक्ष माओ त्सेतुङ्गले व्यवहारमा लागू गर्नुभएको र अगाडि बढाउनुभएको इतिहासले बताउँछ । अध्यक्ष माओले लि ता चाओको विचारलाई समय सुहाउँदो परिमार्जन र कार्यान्वयन गर्नुभएको तथ्य पुस्तकले उजागर गर्दछ । लि ता चाओ अमेरिकी साम्राज्यवाद र जापानी उपनिवेशवादविरुद्ध एक सशक्त कलम थिए । उनी परिवर्तन र प्रगतिशील विचारप्रधान लेख रचनामार्फत देशभक्त मनहरूमा ऊर्जा सञ्चार गर्थे । उनले सन् १९१४ को विद्रोह असफल भएपछि युवाहरूमा आशा जगाउन दिएको अभिव्यक्ति पुस्तकमा समेएिटको छ – “सङ्घर्ष गरिरहन आफ्नो हृदयमा बसन्त ल्याउनुपर्छ, आफ्नो देश र जनतामा बसन्त ल्याउनुपर्छ । चीन धेरै समस्याहरूमा जेलिएको पुरानो देश भएपनि चीनमा नयाँ पालुवा लाग्नेछ ।”
नयाँ चीनको निर्माणसँगै साम्राज्यवाद र सामन्तवादको विरोधमा लड्न चाहने सबै वर्ग र व्यक्तिहरूलाई एकताबद्ध गर्न सक्ने एउटा राजनैतिक पार्टीको आवश्यकता र पार्टी स्कूल सञ्चालनबारे लि ता चाओ लगायतका नेताहरू चिन्तनशील रहेको जानकारी पुस्तकले दिन्छ ।
चाउ एन–लाई चीनको कम्युनिष्ट आन्दोलनका एक दृढ, शिष्ट एवं मिलनसार नेताका रूपमा पुस्तकमा चित्रण गरिएको छ । चीनमा जनगणतन्त्र स्थापनापछि जीवनको अन्तसम्म प्रधानमन्त्री पदमै रहेर सन्तुलित सेवा तथा समर्पणको राजनीति गर्ने, सबैले स्वीकार गरेका विशिष्ट कूटनीतिज्ञ तथा नेताका रूपमा उनलाई लिइन्छ । शान्त, तर्कपूर्ण र व्यावहारिक राजनेताका रूपमा उनी चीनमा मात्र होइन विदेशमा समेत परिचित र सम्मानित छन् । उनी सानैदेखि अध्ययनशील र मेहनती स्वभावका थिए । उनमा सन यात – सेनको प्रभाव थियो । देशभक्तिपूर्ण भावनासँगै उनी हुर्केका थिए । उनी एक असल एवं कुशल सङ्गठनकर्तासमेत थिए । पटक–पटक मृत्युको मुखबाट जोगिएर पनि देशको निम्ति, चिनियाँ जनताको निम्ति लडेका एक योद्धा थिए ।
२१ अप्रिल १९२७ को दिन च्याङ काइ–शेकले नानकिङ्मा अलग्ग सरकार गठन गरी इतिहासमा एक प्रस्ट प्रतिक्रान्तिको प्रदर्शन ग¥यो । साम्राज्यवादीहरूको सहयोगले च्याङ काइ–शेकले अचानक हजारौँ कम्युनिष्टहरूमाथि धावा बोले र हत्याकाण्ड मच्चाए । चाउ एनलाई पनि पक्राउ परे । उनको पनि हत्या हुने थियो । उनी भाग्न सफल भए । चाउलाई साँघाइ र नानचाङ विद्रोहमा वीरको रूपमा कोमिन्टर्नले लियो र उनलाई ‘२८ बोल्सेभिकहरू’ भित्र राखिएको प्रसङ्ग पुस्तकमा प्रस्तुत छ ।
सोभियत संशोधनवाद र अमेरिकी साम्राज्यवादविरोधी सङ्घर्ष एवम् साम्राज्यवादविरोधी आन्दोलनमा अध्यक्ष माओको नीतिलाई नै प्रधानमन्त्री चाउले अगाडि बढाएको थुप्रै उदाहरणमार्फत यस पुस्तकले छर्लङ्ग्याएको छ । पार्टी र सरकारमा प्रधानमन्त्री चाउ एन–लाईले सन्तुलन मिलाउँदै गए । आप्mनो जीवनको अन्त्यसम्म देशभित्र र बाहिरका मित्रहरूसँग सम्बन्ध सुधार गर्दै नयाँ पुस्तालाई अघि बढाए । जीवनको अन्त्यसम्म उनी अध्यक्ष माओका एक असल सहयोद्धा रहे ।
पुस्तकमा तङ स्याओपिङका विषयमा लेखिएको छ– “चिनियाँ कम्युनिष्ट आन्दोलनमा बरोबर विवादमा फसेका नेताहरूमध्ये तङ स्याओपिङ पनि हुन् । आजको चीनको आर्थिक प्रगतिबारे धेरैले उनकै नीतिलाई जस दिन्छन् भने पुराना क्रान्तिकारीहरू भने माओ त्सेतुङ्गकै पालाको जगमा मात्रै आजको आर्थिक प्रगति भएको बताउँछन् । तर सांस्कृतिक क्रान्तिको बेला उनलाई ‘पुँजीवादी बाटो लिने पार्टी अधिकारीहरूमध्ये एकजना’ भनी निन्दा गरिएको थियो ।”
नेता ह्वा कोफेङ जापानी आक्रमणको विरोधमा रक्षात्मक लडाइँ छेडेका एक अगुवा थिए । उनले च्याङ्काई शेकको नीतिविरुद्ध मात्र लडेनन् बरू च्याङ् काई–शेकको हातमा क्रान्तिकारी सेनालाई सुम्पेर देशलाई पुँजीवादी व्यवस्थातर्फ लाने नीतिको समेत कडा विरोध गरे । प्रतिक्रियावादीहरूसँग डटेर लडे । उनी चीनको क्रान्ति किसान क्रान्ति हो र चीनको मूख्य समस्या किसान समस्या हो भन्थे । त्यसकारण देशभरि कृषि सहकारी संस्था स्थापना गर्ने आन्दोलन हुनान प्रान्तबाट सुरु गरे । सन् १९६६ मा माओ त्सेतुङ्गको अगुवाइमा भएको सर्वहारा सांस्कृतिक क्रान्तिका उनी सहयोद्धा थिए । देशलाई आत्मनिर्भर बनाउन योजनाबद्ध समाजवादी आर्थिक विकासको पक्षमा उनी उभिए ।
पुस्तकले चेन तू–स्यू, चु चु पाई, श्याङ चुङ फा, वाङ मिङ, लि लि सान, पो कू, चाङ कूओ–ताओ, ल्यू शाओ–चि, हो लुङ, लिन पियाओ, चेन यि, फाङ चि–मिनलगायत चिनियाँ नेताहरूलाई पाठकसँग परिचित बनाएको छ । पाठकहरूले सम्पूर्ण नेताहरूका सकारात्मक पक्षको अनुकरण त गर्ने नै छन्, सँगसँगै कमजोरी र असफलताहरूबाट पनि सिक्ने अवसर प्राप्त गर्नेछन् ।
पुस्तकमा सांस्कृतिक क्रान्तिबारे धेरै ठाउँमा चर्चा गरिएको छ । राम्रो उद्देश्यका साथ अगाडि बढेको ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ सत्ता सङ्घर्ष, चरम गुटबन्दी, अराजकता, अन्यौल तथा अस्थिरतामा पुगेको र त्यसको एउटा कारण अध्यक्ष माओको कमजोर स्वास्थ्य स्थिति हो भनी पुस्तकमा उल्लेख छ ।
पुस्तकको अध्ययनपश्चात् पाठकले अध्यक्ष माओको भनाइलाई जरुर स्मरण गर्नेछन् – ‘‘सन् १९१७ मा सम्पन्न रुसी अक्टोबर समाजवादी क्रान्तिको तोपको आवाजले युगौं युगदेखि सुतिरहेका चिनियाँ जनतालाई बिउँझाइदियो ।’’ वास्तवमै १९१७ अघि र पछि रुसको बोल्सेभिक पार्टीको नेतृत्वमा भएको क्रान्तिले चीनको माटोमा माक्र्सवाद र लेनिनवाद पु¥याएको हो भन्ने ज्वलन्त प्रमाण यी इतिहासका जिउँदा नेताहरू नै हुन् ।
यस पुस्तकले चीनको सामन्तवादविरोधी आन्दोलनदेखि सांस्कृतिक क्रान्तिसम्म, रुसको अक्टोबर क्रान्तिदेखि रुसमा सामाजिक साम्राज्यवाद र पुँजीवादको उदयसम्म र ती घटनाप्रति चिनियाँ नेताहरूको दृष्टिकोणसमेत समेटेको छ ।
समग्रमा हिजोको चीनको परिवेश र क्रान्तिको नालीबेली प्रतिबिम्बित यस पुस्तक अत्यन्त सङ्ग्रहणीय एवं पठनीय छ । प्रत्येक नेताहरूबारे महत्तोजीको विश्लेषण निकै मर्मस्पर्शी तथा मननीय छ । चीनको झण्डासहितको गाता आकर्षक छ, मूल्य पाठकमैत्री र मुद्रण प्रशंसनीय छ । यस्तो ऐतिहासिक महत्वको पुस्तकका प्रकाशक वर्कर्स पब्लिकेसन्स्प्रति आभार । अन्तर्राष्ट्रिय तथा ऐतिहासिक महत्वको विषयमा थप पुस्तकहरूको अपेक्षासहित लेखक महत्तोजीप्रति साधुवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *